Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

एमालेको राष्ट्रिय भेलामा महासचिव पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमालेको राष्ट्रिय भेलामा महासचिव पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको सङ्गठनात्मक जीवनका प्रमुख १४ समस्या औंल्याएका छन् । आजदेखि काठमाडौँमा शुरु भएको राष्ट्रिय भेलामा प्रतिवेदन प्रस्तुत गर्दै महासचिव पोखरेलले अहिले पार्टीमा देखिएका समस्या औल्याएका हुन् । उनले पार्टीको सङ्गठनात्मक संरचना व्यापक र अनुभवी कार्यकर्ताको पङ्क्ति ठूलो भए पनि जनताको दैनिक जीवनसँग पार्टीको सम्बन्ध धेरै ठाउँमा कमजोर बनेको उल्लेख गरेका छन् । महासचिव पोखरेलले पार्टीले भविष्यका ठोस अवसर र युवाका तत्कालीन समस्यासँग जोडेर संवाद गर्न नसकेको कमजोरी औल्याएका छन् । एमालेका १४ समस्या: १. जनतासँगको सम्बन्ध पार्टीको सङ्गठनात्मक संरचना व्यापक र अनुभवी कार्यकर्ताको पङ्क्ति ठूलो भए पनि जनताको दैनिक जीवनसँग पार्टीको सम्बन्ध धेरै ठाउँमा कमजोर बनेको छ। किसान, मजदुर, साना व्यवसायी, शिक्षक, स्वास्थ्यकर्मी, महिला, युवा, विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, भूमिहीन तथा सुकुम्बासीका दैनिक समस्या र सरोकारमा पार्टीको नियमित उपस्थिति प्रभावकारी हुनसकेको छैन । पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधि जनताको घर, खेत, कारखाना, विद्यालय, अस्पताल, बजार, सहकारी तथा डिजिटल संसारसँग निरन्तर जोडिनुपर्छ। जनसम्पर्कलाई निर्वाचनकेन्द्रित काममा सीमित नगरी नियमित सङ्गठनात्मक कार्यका रुपमा स्थापित गर्नुपर्छ । २. युवा पुस्तासँग संवाद र आवद्धता नयाँ पुस्ताको रोजगारी, उद्यम, गुणस्तरीय शिक्षा, वैदेशिक पलायन, डिजिटल अवसर, मानसिक स्वास्थ्य, राजनीतिक सहभागिता तथा भविष्यप्रतिको चिन्तालाई पार्टीले उनीहरुकै भाषा र माध्यमबाट पर्याप्त रुपमा सम्बोधन गर्न सकिएको छैन। पार्टीले इतिहासका उपलब्धी र सङ्घर्षका अनुभव प्रस्तुत गरे पनि भविष्यका ठोस अवसर र युवाका तत्कालीन समस्यासँग जोडेर संवाद गर्न कमी भएको छ । युवालाई केवल परिचालनको साधनका रुपमा नभई नीति निर्माण, संगठन निर्माण र नेतृत्व विकासको साझेदारका रुपमा लिनुपर्छ। युवाकेन्द्रित अभियान, डिजिटल संवाद, नेतृत्व विकास तालिम तथा जिम्मेवारीको सुनिश्चित व्यवस्था गर्नुपर्छ। यसका लागि सबै तहका कमिटी र पार्टीसम्वद्ध जनसंगठनहरुले विशेष योजना बनाउनु पर्छ । ३. सुचना–सञ्चार र डिजिटल उपस्थिति पार्टीका विचार, नीति, उपलब्धी र तथ्यमा आधारित उत्तर समयमै, सरल भाषामा र प्रभावकारी माध्यमबाट जनतासम्म पुग्न सकेका छैनन्। गलत सूचना, एकतर्फी प्रचार र भावनात्मक भाष्यको सामना गर्न पार्टीको सञ्चार संयन्त्र पर्याप्त रुपमा सक्रिय र सक्षम हुनसकेका छैनन् ।डिजिटल मञ्चलाई पूरक साधन होइन, जनसम्पर्क र राजनीतिक संवादको प्रमुख माध्यमका रुपमा विकास गर्नुपर्छ। सामाजिक सञ्जाल, डिजिटल सामग्री, तथ्य–जाँच, प्रवक्ता प्रणाली तथा स्थानीयस्तरको सञ्चार संयन्त्रलाई व्यवस्थित गर्नुपर्छ । ४. कमिटी प्रणाली, कार्यविभाजन र तहगत जिम्मेवारी सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको सिद्धान्त प्रभावकारी रुपमा लागू हुन सकेको छैन। कामका अनेक क्षेत्र छन् तिनको पहिचान गरी कार्य विन्यास हुने गरेको छैन। पार्टी काम कमिटीका निश्चित व्यक्ति र पदाधिकारीमा सीमित बन्दै गएको छ। सामान्य समस्या वा विवादसमेत सिधै केन्द्रीय तहमा लैजाने प्रवृत्ति बढेको छ। तल्लो तहका कमिटीले आफ्ना अधिकार र जिम्मेवारीअनुसार काम गर्न नसक्ने तथा माथिल्लो तहले तल्लो कमिटीको कार्यक्षेत्रमा अनावश्यक हस्तक्षेप गर्ने अवस्था देखिएको छ । केन्द्रदेखि वडा र टोल तहसम्म कमिटीको अधिकार, कार्यक्षेत्र र जिम्मेवारी स्पष्ट गर्नुपर्छ। सम्बन्धित तहले समाधान गर्नसक्ने विषय त्यहीँ समाधान गर्ने, विधानले अनिवार्य ठानेको आवश्यक विषयमात्र माथिल्लो तहमा पठाउने तथा हरेक तहलाई उत्तरदायी बनाउने प्रणाली स्थापित गर्नुपर्छ । ५. कमिटीको आकार, सक्रियता र कार्यसम्पादन धेरै कमिटी अत्यधिक ठूला, भद्दा र औपचारिक बनेका छन्। बैठक सिर्जनात्मक बहस, कार्ययोजना र जिम्मेवारी बाँडफाँटको थलो बन्नेभन्दा औपचारिक अनुमोदनमा सीमित हुने अवस्था देखिएको छ। कतिपय कमिटी नाम मात्रका रहेका छन्। कमिटी भएका पदाधिकारी र सदस्यको नियमित सक्रियता पनि देखिदैन। कतिपयमा पद जोगाउनका लागि मात्र बैठक उपस्थित हुने प्रवृत्ति देखिन्छ । कमिटीलाई चुस्त, कार्यमुखी र परिणाममुखी बनाउनुपर्छ। प्रत्येक सदस्यको स्पष्ट जिम्मेवारी, कार्ययोजना, समयसीमा र कार्यसम्पादन मूल्याङ्कनको व्यवस्था हुनुपर्छ। निष्क्रिय कमिटीलाई सक्रिय बनाउने, आवश्यकताअनुसार पुनर्गठन गर्ने तथा नियमित बैठक, प्रतिवेदन र अनुगमनको व्यवस्था गर्नुपर्छ। पार्टी विधानले कमिटीको अधिकतम् सिमा निर्धारण गरेको छ। अब अधिवेशन गर्दा सकेसम्म संख्या घटाउने कुरामा विशेष ध्यान दिनुपर्छ । ६. कार्यकर्ता मूल्याङ्कन, अवसर वितरण र असन्तोष व्यवस्थापन कार्यकर्ताको मूल्याङ्कन वैज्ञानिक, वस्तुनिष्ठ र कार्यसम्पादनमा आधारित हुनसकेको छैन। सङ्गठनात्मक र वैचारिक काममा खटिनेभन्दा अवसरका लागि नेतृत्वको वरिपरी घुम्ने प्रवृत्तिले प्राथमिकता पाएको अनुभूति कार्यकर्तापङ्क्तिमा देखिन्छ। जिम्मेवारी, पदोन्नति, अवसर तथा उम्मेदवार छनोटका विषयमा असन्तोष उत्पन्न हुँदा त्यसलाई समयमै सुन्ने र समाधान गर्ने प्रणाली पनि कमजोर छ । कार्यकर्ताको मूल्याङ्कन निष्ठा, जनसम्पर्क, वैचारिक क्षमता, सङ्गठनात्मक सक्रियता, कार्यसम्पादन, अनुशासन र नैतिक आचरणका आधारमा गर्नुपर्छ। अवसर वितरणमा पारदर्शी मापदण्ड लागू गर्नुपर्छ। असन्तोषलाई बाहिर विस्फोट हुन नदिई संवाद, बहस र विधिसम्मत निर्णयमार्फत् पार्टीभित्रै समाधान गर्ने संस्कृति विकास गर्नुपर्छ । ७. पार्टी सदस्यता व्यवस्थापन र कार्यकर्ता निर्माण पार्टी सदस्य संख्या बढाउने नाममा गुणस्तरहीन सदस्यता वितरण गर्ने प्रवृत्तिले संगठनको वास्तविक शक्ति कमजोर बनाएको छ। कागजी सदस्यको संख्या बढे पनि नियमित सम्पर्कमा रहने, प्रशिक्षण लिने, पार्टी काममा सक्रिय हुने र जनतासँग जोडिने सदस्यको संख्या अपेक्षाअनुरुप बढ्नसकेको छैन। पछिल्लो समयमा सदस्यता नवीकरण गर्न नचाहने प्रवृत्ति पनि बढ्दो छ । सदस्यता वितरण, नवीकरण र अभिलेख व्यवस्थापनलाई गुणस्तरमा आधारित बनाउनुपर्छ। सदस्यको उमेर, कार्यक्षेत्र, वैचारिक प्रशिक्षण, सङ्गठनात्मक सक्रियता र जिम्मेवारीका आधारमा वर्गीकरण गरी अभिलेखलाई पूर्णरुपमा डिजिटल बनाउनुपर्छ। सदस्यतालाई प्रशिक्षण, जनसम्पर्क र नियमित सङ्गठनात्मक कामसँग जोड्नुपर्छ। आफ्नो तहको पार्टी सदस्यको अभिलेख सम्बन्धित तहको कमिटीमा समेत राख्ने व्यवस्था मिलाउनु पर्दछ । ८. नेतृत्व विकास, पुस्तान्तरण र बहुपदीय संरचनाको अभ्यास पार्टी जीवनको लोकतान्त्रिकरणका माध्यमबाट पार्टीले बहुपदीय संरचनामा जाने निर्णय गरेको थियो। नेतृत्व विकास, हस्तान्तरण र पुस्तान्तरणको सहज प्रणाली विकास गर्न खोजेको थियो। तर व्यवहारमा नेतृत्व विकास र हस्तान्तरण विषय योजनाबद्ध प्रणाली पर्याप्त रुपमा स्थापित हुन सकेको छैन। पछिल्लो समयमा पुरानो र नयाँ पुस्ताबीच विश्वास, समझदारी र सहकार्य कमजोर हुँदा त्यसको असर पार्टी निर्माणमा समेत परेको छ। बहुपदीय संरचना विकास भए पनि सबै पदाधिकारीको कार्यविभाजन स्पष्ट नहुँदा कतिपय जिम्मेवारी सीमित व्यक्तिमा केन्द्रित हुने र कतिपय पदाधिकारी जिम्मेवारीविहीन हुने अवस्था देखिएको छ । पार्टीमा सम्भावनायुक्त कार्यकर्ताको पहिचान, प्रशिक्षण, जिम्मेवारी, मूल्याङ्कन र पदोन्नतिको व्यवस्थित प्रणाली निर्माण गर्नुपर्छ। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा, सीप तथा प्रविधि–ज्ञानलाई जोडेर नेतृत्व विकास गर्नुपर्छ। सबै पदाधिकारीको स्पष्ट कार्यविभाजन गरी सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको प्रणाली स्थापित गर्नुपर्छ। ९. आन्तरिक लोकतन्त्र, आलोचना–आत्मालोचना र पार्टी अनुशासन कमिटीभित्र खुला छलफल, स्वस्थ बहस, आलोचना र आत्मालोचनाको संस्कृति कमजोर भएको छ। सुझाव वा आलोचनालाई व्यक्तिगत आक्षेपका रुपमा लिने प्रवृत्ति बढेको छ। यसले कार्यकर्तालाई कमिटीभित्र बोल्न असहज बनाएको छ र असन्तुष्टि सामाजिक सञ्जाल वा अनौपचारिक वृत्तमा अभिव्यक्त हुने गरेको छ । महाधिवेशन वा अधिवेशनमा प्रतिस्पर्धालाई स्वीकार गर्ने तर परिणामलाई सहज रुपमा नस्वीकार्ने प्रवृत्तिले गुटबन्दी र अन्तरविरोध बढाएको छ। आन्तरिक लोकतन्त्र, पार्टी अनुशासन र सामूहिक निर्णयको कार्यान्वयनलाई एकअर्काका पूरकका रुपमा स्थापित गर्नुपर्छ। आलोचना र आत्मालोचनालाई दण्डको भयबाट मुक्त गर्दै सुधारको माध्यम बनाउनुपर्छ । १०. अनुशासनहीनता, गुटबन्दी र अन्तर्घात अनुशासन उल्लङ्घन, स्थायी गुटबन्दी, असहयोग तथा निर्वाचनमा अन्तर्घातका घटना संगठनका लागि गम्भीर चुनौती हुन्। यस्ता विषयमा समयमै निष्पक्ष कारबाही नहुँदा अराजकता बढ्छ र पार्टीको सामूहिक निर्णयको अवमूल्यन हुन्छ । अनुशासन उल्लङ्घन तथा अन्तर्घातका घटनाको प्रमाणका आधारमा छानविन गरी समयमै कारबाही गर्नुपर्छ। कारबाही प्रतिशोधका लागि होइन, पार्टीको मर्यादा, अनुशासन र सामूहिक निर्णयको रक्षा गर्न हुनुपर्छ। साथै, असन्तुष्टि र अन्तरविरोधलाई संवाद तथा विधिसम्मत प्रक्रियाबाट समाधान गर्ने प्रणाली बलियो बनाउनुपर्छ । ११. उम्मेदवार छनोट र जनप्रतिनिधिको उत्तरदायित्व उम्मेदवार छनोटमा स्थानीय कमिटीको सिफारिस, जनसम्पर्क, सामाजिक प्रतिष्ठा, इमानदारी, कार्यक्षमता तथा जनविश्वासलाई पर्याप्त महत्व नदिइएको गुनासो छ। अन्तिम समयमा उम्मेदवार परिवर्तन गर्ने, पहुँच वा अन्य प्रभावका आधारमा निर्णय हुने तथा निर्णयप्रति स्थानीय संगठनको अपनत्व कमजोर हुने समस्या देखिएको छ । उम्मेदवार छनोटमा सम्बन्धित भूगोलको कार्यकर्ता र स्थानीय कमिटीको सिफारिसलाई प्रमुख आधार बनाउनुपर्छ। उम्मेदवारको जनसम्पर्क, सार्वजनिक छवि, कार्यसम्पादन, वैचारिक प्रतिबद्धता र नैतिक आचरणको स्पष्ट मापदण्ड बनाउनुपर्छ। आवश्यकताअनुसार स्थानीय तहमा आन्तरिक निर्वाचन वा परामर्शबाट लोकप्रिय र सक्षम उम्मेदवार चयन गर्ने विधि विकास गर्नुपर्छ । जनप्रतिनिधिले पार्टीको नीति, निर्णय र निर्वाचन घोषणापत्रअनुरुप काम गरे–नगरेको नियमित समीक्षा हुनुपर्छ। जनप्रतिनिधिलाई जनताप्रति, पार्टीप्रति र आफ्नो निर्वाचन क्षेत्रप्रति उत्तरदायी बनाउने संयन्त्र निर्माण गर्नु आवश्यक छ । १२. जनसंगठनको स्वायत्तता र प्रभावकारी परिचालन पार्टीसम्बद्ध जनसंगठनले सम्बन्धित वर्ग, समुदाय र पेशागत क्षेत्रका वास्तविक मुद्दामा अपेक्षित रुपमा नेतृत्व गर्नसकेका छैनन्। पार्टीप्रतिको अत्यधिक निर्भरता, नियमित काममा पनि निर्देशनको प्रतीक्षा तथा अनावश्यक हस्तक्षेपले जनसंगठनको स्वायत्तता र सिर्जनशीलता कमजोर भएको छ । जनसंगठनलाई पार्टीको नीतिगत नेतृत्वअन्तर्गत आवश्यक सङ्गठनात्मक स्वायत्तता दिनुपर्छ। किसान, मजदुर, महिला, युवा, विद्यार्थी, दलित, भूमिहीन–सुकुम्बासी तथा सीमान्तकृत समुदायका मुद्दामा जनसंगठनलाई सक्रिय र विश्वसनीय नेतृत्वका रुपमा स्थापित गर्नुपर्छ। जनसंगठनको मूल्याङ्कन सम्बन्धित वर्ग, समुदाय वा पेशागत क्षेत्रमा गरेको कामका आधारमा गर्नुपर्छ। नीतिगत नेतृत्व र सङ्गठनात्मक स्वायत्तताको नीतिलाई प्रभावकारी बनाउनु पर्छ । १३. शासन, सेवा प्रवाह र नैतिक विश्वास सरकारमा हुँदा ठूला नीति, पूर्वाधार र दीर्घकालीन कार्यक्रम मात्र पर्याप्त हुँदैनन्। जनताले दैनिक जीवनमा सेवा, सम्मान, सहजता र परिणामको अनुभूति गर्न पाउनु पर्छ। अस्पताल, मालपोत, प्रहरी, विद्यालय, किसान सहायता, रोजगारी तथा कर प्रशासनमा जनताले पाउने व्यवहारले सरकार र पार्टीप्रतिको धारणा निर्माण गर्छ । आरोप वा शङ्काको सामना केवल प्रतिवादबाट मात्र सम्भव हुँदैन। पारदर्शी प्रक्रिया, सार्वजनिक उत्तर, निष्पक्ष छानवीन र समयमै तथ्यपूर्ण जानकारी आवश्यक हुन्छ। जनप्रतिनिधि र जिम्मेवार नेता–कार्यकर्ताको आर्थिक तथा नैतिक आचरणलाई पारदर्शी र उत्तरदायी बनाउनुपर्छ। राम्रो काम गरेर मात्र हुँदैन रहेछ, राम्रो देखिन पनि सक्नु पर्छ । १४. वैचारिक काम र नयाँ प्रश्नको सामना पार्टीको विचार बलियो भए पनि त्यसलाई नयाँ समयको भाषा र जनजीवनका प्रश्नसँग जोडेर प्रस्तुत गर्ने काम पर्याप्त हुनसकेको छैन। कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन, वैदेशिक श्रम, सहरी गरिबी, गिग अर्थतन्त्र, शिक्षा, मानसिक स्वास्थ्य, महिला सुरक्षा, लैङ्गिक समानता र युवा उद्यमजस्ता विषयमा पार्टीको ध्यान आवश्यक मात्रामा जानसकेको छैन। नयाँ समस्यामा आधारित प्रश्नको उत्तर नयाँ नै हुन्छ। बदलिएको समय र सन्दर्भअनुरुप पार्टीका नेता र कार्यकर्ताले आफूलाई पार्टी नीतिअनुरुप अद्यावधिक गरिरहनु पर्छ। कतिपयमा समयसँग जोडिने नाममा वैचारिक आधारबाट विचलित हुने समस्या समेत देखिन्छ। यस्ता कुराप्रति सचेत हुनु आवश्यक छ । पार्टीको वैचारिक प्रशिक्षणलाई नियमित, तहगत र जीवन्त बनाउनुपर्छ। पार्टीका दस्तावेज, नीति र कार्यक्रमलाई सरल, समकालीन तथा जनताले बुझ्ने भाषामा प्रस्तुत गर्नुपर्छ। विचारलाई जनताको दैनिक जीवन, उत्पादन, रोजगारी, सुशासन र सामाजिक न्यायसँग जोडेर व्यवहारमा उतार्नुपर्छ । The post एमालेको राष्ट्रिय भेलामा महासचिव पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनमा के छ ? (पूर्णपाठ) appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा उपाध्यक्ष पौडेलद्वारा पार्टीले गरेका महत्त्वपूर्ण कार्यहरूको सूची पेस (पूर्णपाठ)
Latest NewsJust now

एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा उपाध्यक्ष पौडेलद्वारा पार्टीले गरेका महत्त्वपूर्ण कार्यहरूको सूची पेस (पूर्णपाठ)

काठमाडौँ । नेकपा (एमाले) को राजधानीमा सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीका उपाध्यक्ष विष्णु पौडेलले विगतमा एमाले नेतृत्वको सरकारले देश र जनताको पक्षमा गरेका महत्त्वपूर्ण कार्यहरूको फेहरिस्त पेस गरेका छन्। ‘नेकपा... ...

रातोपाटी
वैदेशिक रोजगारीको नाममा १ लाख ५० हजार महिलाहरू बेचबिखन र हिंसाको शिकार
Latest NewsJust now

वैदेशिक रोजगारीको नाममा १ लाख ५० हजार महिलाहरू बेचबिखन र हिंसाको शिकार

काठमाडाैँ । विज्ञहरूले वैदेशिक रोजगारीको नाममा महिलाहरु मानव बेचबिखन तथा विभिन्न प्रकारका हिंसाको सिकार भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न नीतिगत सुधारको आवश्यकता औँल्याएका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको छलफलमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । पछिल्लो समय मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको उल्लेख गर्दै उनीहरूले ...

टक्सार
के फेरि सहकार्य गर्दैछन् सन्तोष र प्रदीप ?
Latest NewsJust now

के फेरि सहकार्य गर्दैछन् सन्तोष र प्रदीप ?

काठमाडौँ । अभिनेता प्रदीप खड्का निर्देशक तथा निर्माता सन्तोष सेनको फिल्म ‘प्रेम गीत’बाट दर्शकमा चिनिएका हुन् । यो फिल्मले उनलाई फिल्म क्षेत्रमा चिनाएन मात्र स्थापित नै गरायो । त्यसपछि खड्का... ...

रातोपाटी
एआई र डिजिटल अर्थतन्त्रमा अन्तर्राष्ट्रिय सहकार्य बढाउन सीको आग्रह
Latest NewsJust now

एआई र डिजिटल अर्थतन्त्रमा अन्तर्राष्ट्रिय सहकार्य बढाउन सीको आग्रह

• चिनियाँ राष्ट्रपति सी जिनपिङले एआई, डिजिटल अर्थतन्त्र र स्वतन्त्र व्यापारमा अन्तर्राष्ट्रिय सहकार्यको विस्तारको आह्वान गरेका छन्। • उनले व्यापार र लगानीका अवरोध हटाउनुपर्नेमा जोड दिँदै चीनले विदेशी लगानीका लागि बजार पहुँच विस्तार गर्ने बताए। • अमेरिका र चीनबीच व्यापार तनाव बढिरहेको समयमा सीको यो आग्रह आएको हो, जबकि एनभिडियाको आम्दानी र जासुसी विवादले पनि ध्यान खिचेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play