काठमाडौं । माछापुच्छ्रे क्यापिटलले व्यवस्थापन गरिरहेको ‘एमबिएल इक्विटी फन्ड’ ले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म रु. ४ करोड १७ लाख ७० हजार खुद नाफा कमाएको विवरण सार्वजनिक गरेको छ । कात्तिकसम्मको वित्तीय विवरणमा ठुलो नाफा देखिए पनि फन्डको वास्तविक नगद आम्दानीले योजनाको सामान्य खर्चसमेत धान्न नसकेको देखिएको छ । फन्डको नाफामा देखिएको अधिकांश हिस्सा सेयरको बजार मूल्य बढेर आएको ‘कागजी नाफा’ हो । वित्तीय विवरण अनुसार असोजदेखि कात्तिकको एक महिनामा फन्डको जम्मा खर्च २९.६१ प्रतिशत (रु. १८ लाख ५७ हजार) ले बढेको छ ।असोज मसान्तसम्म रु. ६२ लाख ७४ हजार रहेको जम्मा खर्च कात्तिक मसान्तमा आइपुग्दा रु. ८१ लाख ३१ हजार पुगेको हो । खर्चको तुलनामा वास्तविक नगद आम्दानी भने निकै कमजोर रहेको वित्तीय विवरणमा छ । कात्तिक मसान्तसम्म फन्डले सेयर बिक्री तथा लाभांशबाट जम्मा रु. ६४ लाख ९८ हजार मात्र वास्तविक आम्दानी गरेको छ । फन्डको वास्तविक आम्दानीभन्दा खर्च रु. १६ लाख ३३ हजारले बढी छ । कात्तिक महिनामा मात्र जम्मा रु. २ लाख ४३ हजार वास्तविक आम्दानी हुँदा योजना व्यवस्थापक र डिपोजिटरी शुल्क लगायतमा रु. १८ लाख ५७ हजार खर्च थपिएको हो । १२ वर्षे अवधिको यो फन्ड सुरु भएको करिब २० महिना (२०८१ चैतदेखि २०८३ कात्तिकसम्म) बितिसक्दा पनि प्रति इकाई मूल्य (न्याभ) रु. १०.३९ मा मात्र पुगेको छ । रु. १० बाट सुरु भएको यस योजनाले झन्डै दुई वर्षमा लगानीकर्तालाई जम्मा ३.९ प्रतिशत मात्र प्रतिफल दिन सकेको छ, जुन बैंकको साधारण बचत खाताको ब्याजभन्दा पनि कम हो । असोजमा रु. १०.३१ रहेको प्रति इकाई मूल्य कात्तिकमा जम्मा ८ पैसाले मात्र बढेको छ । सेयर बजारमा लगानी गरेर लगानीकर्तालाई राम्रो नाफा दिनुपर्ने फन्डले ठुलो रकम बैंक खातामै थुपारेर राखेको छ । कात्तिक मसान्तसम्म फन्डको रु. १३ करोड ७५ लाख ६४ हजार बैंक मौज्दातमा निष्क्रिय बसेको छ । असोजको तुलनामा कात्तिकमा बैंक मौज्दात रु. ५४ लाख ८० हजारले घटेको छ, जुन रकम नयाँ सेयर किन्नुको साटो कोष व्यवस्थापकको शुल्क तिर्न प्रयोग भएको देखिन्छ ।
‘एमबिएल इक्विटी फन्ड’को ‘कागजी नाफा’ ४ करोड नाघ्यो, वास्तविक आम्दानीले खर्चसमेत धानेन

Read Complete Original Article
Published originally on टक्सार





