एमएटीसीएच ऐन कानुन बनेमा त्यसले डच प्रविधि कम्पनी एएसएमएल र अन्य युरोपेली कम्पनीलाई असर पार्ने गरी चीनतर्फको निर्यातमा प्रस्तावित प्रतिबन्ध लागू नगर्न नेदरल्यान्ड्सले अमेरिकालाई आग्रह गर्ने भएको छ। नेदरल्यान्ड्सका व्यापारमन्त्रीले बिहीबार यस्तो बताएका हुन्। “हामीलाई जे गर्न भनिन्छ, त्यही मात्र गर्ने छैनौँ। यदि यो ऐन पारित भयो भने अमेरिकी प्रशासनलाई हाम्रो सन्देश यसलाई कार्यान्वयन नगर्नु भन्ने हुनेछ,” व्यापारमन्त्री स्योर्ड स्योर्ड्स्माले संसद्मा भएको छलफलका क्रममा भने। अमेरिकी कंग्रेसले आफ्नो वार्षिक रक्षा खर्चसम्बन्धी विधेयकको हिस्साका रूपमा आगामी महिना हार्डवेयर प्रविधि नियन्त्रणको बहुपक्षीय समन्वयसम्बन्धी एमएटीसीएच ऐन (मल्टिल्याटरल अलाइनमेन्ट अफ टेक्नोलोजी कन्ट्रोल्स अन हार्डवेयर) पारित गर्ने वा नगर्ने विषयमा छलफल गरिरहेको छ। यो विधेयकलाई दुवै प्रमुख राजनीतिक दलका सांसदको समर्थन छ। यो कानुन पारित भए नेदरल्यान्ड्स र जापानसहितका अमेरिकी साझेदार राष्ट्रले कडा निर्यात नियन्त्रण लागू गर्नुपर्नेछ। त्यसो नगरे उनीहरूले आफ्ना उपकरणमाथि अमेरिकाले एकपक्षीय प्रतिबन्ध लगाउन सक्नेछन्। यसमा एएसएमएलका इमर्सन डीप अल्ट्राभायोलेट (डीयूभी) लिथोग्राफी उपकरणसमेत पर्नेछन्। रोयटर्सका अनुसार चीनले आफ्नै चिप उत्पादन गर्ने क्षमता विकास गर्ने गति सुस्त पार्ने उद्देश्यले अमेरिकाको नेतृत्वमा लागू गरिएका निर्यात नियन्त्रणमा नेदरल्यान्ड्स यसअघि सहभागी हुँदै आएको थियो। ती प्रतिबन्धले एएसएमएलको निर्यात व्यवसायमा पनि असर पारेका थिए। तर, सार्वभौमिकताको विषय उठाउँदै नेदरल्यान्ड्सले एमएटीसीएच ऐनको विरोध गर्दै आएको छ। स्योर्ड्स्माका अनुसार प्रस्तावित कानुनले युरोपको सबैभन्दा बढी बजार मूल्य भएको सूचीकृत कम्पनी एएसएमएललाई मात्र नभई अन्य युरोपेली देशका प्रविधि क्षेत्रलाई पनि असर पार्नेछ। यो कानुन पारित हुन नदिन आफूले युरोपेली आयोग, जर्मनी र फ्रान्ससँग मिलेर काम गरिरहेको उनले बताए। यसका साथै नेदरल्यान्ड्स र युरोपेली संघले यसको प्रभाव सीमित गर्न द्विपक्षीय तथा युरोपेली स्तरका उपाय खोज्नेछन्। त्यसमा प्रस्तावित कानुनको प्रतिकार गर्न आवश्यक कदम चाल्ने विषय पनि समावेश हुने उनले बताए। स्योर्ड्स्माको यो भनाइ डच विदेशमन्त्री टम बेरेन्डसेनले बुधबार बेइजिङ भ्रमण गरेपछि आएको हो। उक्त भ्रमणका क्रममा चीन र नेदरल्यान्ड्सले निर्यात नियन्त्रणका विषयमा द्विपक्षीय वार्ता जारी राख्न प्रतिबद्धता जनाएका थिए। चीनले यसअघि एमएटीसीएच ऐनको आलोचना गर्दै त्यसको जवाफमा प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएको थियो। एएसएमएलले चिप उत्पादनका लागि आवश्यक उपकरण बनाउँछ। कम्पनीले यस वर्ष आफ्नो कुल बिक्रीको करिब २० प्रतिशत हिस्सा चीनबाट आउने अपेक्षा गरेको छ। कम्पनीले बिहीबार यस विषयमा टिप्पणी गर्न अस्वीकार गर्यो। तर, प्रमुख कार्यकारी अधिकृत क्रिस्टोफ फुकेले गत साता प्रस्तावित अमेरिकी प्रतिबन्धले चीनलाई प्रतिस्पर्धी प्रविधि विकास गर्ने काम अझ तीव्र बनाउन प्रेरित गर्ने सम्भावना रहेको बताएका थिए। ग्लोबल ट्रेड पोलिसी अब्जर्भेटरीको चीन कार्यक्रमकी निर्देशक सान्ने भान डर लुग्टले बिहीबार एमएटीसीएच ऐन पारित भए युरोपेली संघले आफ्नो ‘ब्लकिङ स्ट्याट्युट’ प्रयोग गर्ने विषयमा विचार गर्नुपर्ने बताइन्। यो व्यवस्थाले युरोपेली कम्पनीलाई केही विदेशी नियम पालना गर्नबाट रोक्छ। तर, यस्तो कदम चालेमा वासिङ्टनबाट प्रतिकार हुन सक्ने जोखिमका लागि युरोप तयार हुनुपर्ने उनले बताइन्। “एमएटीसीएच ऐनलाई पूर्ण रूपमा बेवास्ता गर्नु युरोप अमेरिकासँग ठूलो स्तरको व्यापारिक द्वन्द्वमा जान तयार भएमा मात्र व्यावहारिक हुन्छ,” भान डर लुग्टले भनिन्। The post एमएटीसीएच ऐन लागू भए त्यसलाई कार्यान्वयन नगर्न अमेरिकालाई आग्रह गर्ने नेदरल्यान्ड्सको तयारी appeared first on Technology Khabar.
एमएटीसीएच ऐन लागू भए त्यसलाई कार्यान्वयन नगर्न अमेरिकालाई आग्रह गर्ने नेदरल्यान्ड्सको तयारी

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






