एन्फा अध्यक्ष नेम्बाङसहित चार जनालाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन

ललितपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को बहुमत कार्यसमितिको बैठकले अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित चार जनालाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बसेको बैठकले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा मुद्दा परेका अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बैठकले पछिल्लो समय एन्फासँग सम्बन्धित विभिन्न विषय सार्वजनिक भएपछि त्यसबारे सम्बन्धित पदाधिकारीबाटै आधिकारिक जानकारी लिन पत्राचार गर्ने निर्णय गरेको सहायक महासचिव बद्री भट्टराईले जानकारी दिनुभयो । उनीहरूलाई घटनाको वास्तविकता, प्रहरी अनुसन्धान र पक्राउ पर्नुको कारणसहित आफ्नो धारणा स्पष्ट पार्न तीन दिनको समय दिइएको छ । ‘खास यो घटना कसरी घट्यो, किन यी विषयमा प्रश्न उठ्यो, केही पनि नगरेको भए प्रहरीले कसरी पक्राउ गर्यो ? केही हो भने त्यसको स्पष्ट जानकारी सम्बन्धित व्यक्तिहरूबाट लिन उहाँहरूलाई पत्राचार गर्ने निर्णय भयो,’ भट्टराईले भन्नुभयो । बैठकमा एन्फा कार्यसमितिका २० मध्ये १२ जना सहभागी थिए । बैठकले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र नेपाल सरकारसँग समन्वय गर्न उपाध्यक्ष दीपक खतिवडाको नेतृत्वमा पाँच सदस्यीय समन्वय समिति पनि गठन गरेको छ । समितिमा उपाध्यक्षद्वय दीर्घबहादुर केसी र विराटजंग शाही तथा सदस्यहरू टिकाराम लामा र मनिष जोशी हुनुहुन्छ । समितिले फिफा, एसियाली फुटबल महासंघ (एएफसी) र नेपाल सरकारबाट एन्फालाई प्राप्त भएका पत्राचार तथा निर्देशनहरूको अध्ययन गरी आवश्यक समन्वय गर्नेछ । एन्फा, फिफा, एएफसी र नेपाल सरकारबीच भौतिक बैठक गराउने प्रक्रिया अघि बढाउने निर्णयसमेत बैठकले गरेको छ । समन्वय समिति गठनबारे जानकारी दिँदै पाण्डेले तीनै पक्षबीच नेपालमै बैठक गराउने आवश्यक प्रक्रिया पूरा भएपछि मात्रै निर्वाचनसम्बन्धी विषयमा निर्णय लिइने बताउनुभयो । ‘फिफा, एएफसी र नेपाल सरकारबीच एन्फाको समन्वयमा फिजिकल बैठक बस्नका लागि के-कति प्रक्रिया पूरा गर्नुपर्छ, ती प्रक्रिया पूरा गराएपछि निर्वाचनको सन्दर्भमा जाने निर्णय भयो,’ उहाँले भन्नुभयो । बैठकले एन्फाको प्रशासनिक काम सञ्चालन तथा पत्राचारका लागि सहायक महासचिव बद्री भट्टराईलाई निमित्त महासचिवको जिम्मेवारी दिने निर्णय गरेको छ । त्यस्तै, फिफा यू-१५ विश्वकप तथा फेस्टिभलमा नेपालको प्रतिनिधित्व गरिरहेका खेलाडीलाई प्रोत्साहन गर्न सरकारसँग पत्राचार गर्ने निर्णय पनि भएको छ । लामो समयदेखि पारिश्रमिक नपाएका खेलाडी, कर्मचारी तथा प्रशिक्षकको पारिश्रमिक भुक्तानीका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णयसमेत बैठकले गरेको भट्टराईले बताउनुभयो । एन्फा विधानको धारा ३१ (२) मा कार्यसमितिका एक तिहाइ वा सोभन्दा बढी सदस्यले लिखित माग गरेमा अनिवार्यरूपमा कार्यसमिति बैठक बोलाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बहुमत सदस्यले बैठकको माग गरे पनि अध्यक्षले बैठक नबोलाएपछि वरिष्ठ उपाध्यक्ष खड्काको नेतृत्वमा बैठक बसेको हो । खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा मुद्दा परेका अध्यक्ष नेम्बाङ र महासचिव राई जनही पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । त्यस्तै, कोषाध्यक्ष जोशी १५ लाख र लेखापाल पाण्डे १२ लाख रुपैयाँ धरौटीमा छुटेका हुन् । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले २४ जुनदेखि एन्फालाई निलम्बन गरेको छ । फिफाको निलम्बन, पदाधिकारीमाथि लागेको आरोप र आन्तरिक विवादका कारण एन्फाको प्रशासनिक तथा निर्वाचन प्रक्रिया थप अन्योलमा परेको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

विकासमा नीतिगत स्थायित्व
पछिल्ला समयमा नेपालमा भएका बाढी तथा सोबाट सृजित पहिरो तथा अन्य धेरै खालका विपत्ले ठुलो क्षति पुराएका छन् । भदौमा आएको रसुवा बाढी होस् या असोजमा भएको अविरल वर्षाको कारण कालीगण्डकी न... ...

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
नेपाली ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, सानो (टनेल) गोलभेडा ६० रुपैयाँमा कारोबार भइरहेको छ । ...

वर्षा र पहिरोले विभिन्न जिल्लाका सडक अवरूद्ध, कहाँ-कहाँ भयो यातायात प्रभावित ?
लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडक अवरुद्ध भएका छन्। प्रहरीका अनुसार आइतबार बिहान ७ बजेसम्म ललितपुर, खोटाङ, काभ्रे, गोरखा, मुस्ताङ, पाल्पा र सुर्खेतका विभिन्न सडकखण्ड प्रभावित भएका छन्। ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँडुर र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, ललितपुर महानगरपालिका–२ बल्खुको सुन्दरीघाटस्थित बागमती करिडोर पनि अविरल वर्षाका कारण पूर्ण रूपमा ...

बाढीपहिरोले पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध
काठमाडौं। अविरल वर्षाका कारण आएको बाढी र पहिरोले आइतबार पनि देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। प्रहरीका अनुसार पाँचवटा सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन् भने चारवटा सडकमा एकतर्फी मात्र सवारी साधन सञ्चालनमा छन्। शुक्रबार र शनिबारदेखि परेको वर्षाले सडक सञ्जालमा ठूलो असर पुर्याएको छ। राजधानी काठमाडौँ जोड्ने प्रमुख सडकहरू बीपी राजमार्ग र कान्ति लोकपथ शनिबार बिहानैदेखि अवरुद्ध छन्। जिल्ला ...


