वासिङ्टन, २५ कात्तिक (रासस/एएफपी) । एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ र चीनका लागि जासुसी गरेको आशङ्का गरिएकी एक महिलाबीचको सम्बन्ध सार्वजनिक भएपछि अमेरिकामा चीनप्रति कडा नीति अपनाउनुपर्ने बहस चर्किएको छ। यस घटनाले चीनमा अत्याधुनिक प्रविधि निर्यात गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले दिएको अनुमतिमाथि समेत प्रश्न उठाएको छ। हुआङले सिङ्गापुरस्थित मेगास्पिडकी पूर्वकार्यकारी एलिस हुआङसँग आफ्नो सम्बन्ध रहेको स्वीकार गरेका छन्। अमेरिकी गुप्तचर अधिकारीहरूले एलिस चिनियाँ गुप्तचर निकायका लागि काम गरिरहेको आशङ्का गरेका छन्। यद्यपि, राष्ट्रपति ट्रम्पले जेन्सेन हुआङलाई सम्मानित व्यक्ति भन्दै ती महिला जासुस हुन् भन्ने उनलाई जानकारी नभएको बताएका छन्। चीनमा अत्याधुनिक एआई चिप निर्यात गर्नुपर्ने पक्षमा पैरवी गर्दै आएका जेन्सेन हुआङको प्रयासपछि ट्रम्पले गत वर्ष एनभिडियाको एच–२०० चिप चीनमा बिक्री गर्न अनुमति दिएका थिए। उक्त निर्णयको विरोध गर्दै आएका अमेरिकी सांसदहरूले पछिल्लो घटनालाई चीनतर्फको प्रविधि निर्यात नियन्त्रण थप कडा बनाउने अवसरका रूपमा लिएका छन्। रिपब्लिकन सांसदहरूले नोभेम्बर १८ मा हुआङसँग बन्द कोठामा छलफल गर्ने तयारी गरेका छन्। छलफलमा उनीसँगको सम्बन्ध र एनभिडियाको सुरक्षा व्यवस्थाबारे प्रश्न उठाइने बताइएको छ। यस प्रकरणले चीनमा अत्याधुनिक चिप निर्यातको अनुमति समीक्षा गर्न वा रोक लगाउन अमेरिकी कङ्ग्रेसलाई अधिकार दिने द्विदलीय विधेयक अघि बढ्ने सम्भावना पनि बढाएको विश्लेषकहरूको भनाइ छ। तर, निर्यात नियन्त्रण कडा बनाउँदा ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको व्यापार युद्धविराम प्रभावित हुन सक्ने चिन्ता पनि छ। चीनले अमेरिकी आपूर्ति शृङ्खलामा प्रतिकारात्मक कदम चाल्न सक्ने जोखिमसमेत औँल्याइएको छ। यसैबीच, अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले जासुसीको आरोपबारे अनुसन्धान गरिरहेको छ। अमेरिकी न्याय मन्त्रालयले एनभिडियाका चिप चीनमा तस्करी गरिएको थियो वा थिएन भन्ने विषयमा पनि छानबिन गरिरहेको छ। मेगास्पिडले भने चिप तस्करीको आरोप अस्वीकार गरेको छ भने चीनले जासुसीसम्बन्धी दाबी खारेज गरेको छ। विश्लेषकहरूका अनुसार जेन्सेन हुआङमाथि कुनै गलत काम गरेको पुष्टि भएमा वा उनी कम्पनीबाट बाहिरिनुपर्ने अवस्था आएमा अमेरिकी एआई उद्योगमा असर पर्न सक्छ। तर, यस घटनाको सबैभन्दा ठूलो प्रभाव अमेरिकी कङ्ग्रेस र प्रशासनभित्र एनभिडियाको प्रभाव घट्न सक्ने सम्भावनाका रूपमा हेरिएको छ।
एनभिडिया सीईओको विवादले अमेरिकामा चीनप्रति कडा नीति अपनाउन दबाब

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






