काठमाडौं । सुदूरपश्चिम रोयल्सको शानदार जितसंगै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन सम्पन्न भएको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चौका र छक्काको वर्षा गराउँदै सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै एनपीएलको तेस्रो सिजनको च्याम्पियन बन्न सफल भएको हो । लुम्बिनीले दिएको १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १३ दशमलव ३ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्न सफल भयो । सुदूरपश्चिमलाई उपाधि दिलाउन स्कटल्यान्डका ओपनर जर्ज मुन्सीको महत्वपूर्ण भूमिका रह्यो । मुन्सीले अविजित १२५ रनको विस्फोटक इनिङ्स खेले । उनले मात्र ५४ बलमा ८ चौका र १२ छक्का प्रहार गर्दै १२५ रनको योगदान दिए । उनको ब्याटिङले लुम्बिनीका बलरलाई सुरुदेखि नै दबाबमा राखेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको तेस्रो संस्करणको एनपीएल अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन भएको थियो । प्रतियोगितामा आठ फ्रेन्चाइज टिमले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। यस संस्करणमा विजेता टिमले एक करोड ५० लाख रुपैयाँ, उपविजेताले ६० लाख रुपैयाँ, तेस्रो हुने टिमले ४० लाख रुपैयाँ र चौथो हुने टिमले ३० लाख रुपैयाँ पुरस्कार पाउने व्यवस्था गरिएको थियो। प्रतियोगिताको कुल पुरस्कार रकम तीन करोड रुपैयाँ रहेको थियो। तेस्रो प्रयासमा च्याम्पियन बन्यो सुदूरपश्चिम एनपीएल सिजन–३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै पहिलोपटक एनपीएल च्याम्पियन बन्न सफल भएको हो । लगातार तीन संस्करणको फाइनलमा पुग्ने एकमात्र टोली बनेको सुदूरपश्चिमले यसपटक उपाधि जितेर दुई संस्करणको पीडालाई बिर्साएको छ। पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएको सुदूरपश्चिम तेस्रो प्रयासमा उपाधि जित्न सफल भयो। फाइनलमा पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै विकेट नगुमाई १३ ओभर ३ बलमा नै पूरा गर्यो। सुदूरपश्चिमले ३९ बल बाँकी रहँदै लक्ष्य पूरा गरेको हो । सुदूरपश्चिमको जितमा स्कटल्यान्डका ओपनर जर्ज मुन्सीले अविश्वसनीय प्रदर्शन गरेका थिए । उनले ५४ बलमा अविजित १२५ रन बनाए। मुन्सीले आफ्नो इनिङ्समा ८ चौका र १२ छक्का प्रहार गरे। उनले ४९ बलमा शतक पूरा गरेका थिए। एनपीएलको फाइनलमा शतक प्रहार गर्ने मुन्सी पहिलो खेलाडी पनि बनेका छन्। त्यस्तै, विकेटकिपर ब्याटर विनोद भण्डारीले २७ बलमा अविजित ३० रन बनाए। मुन्सी र भण्डारीबीचको साझेदारीले लुम्बिनीको बलिङ आक्रमणलाई कमजोर बनायो। सुदूरपश्चिमले सुरुवातदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै लक्ष्यलाई सहज बनाएको थियो। मुन्सीको शतकले सुदूरपश्चिमलाई पहिलो एनपीएल उपाधि दिलाउन निर्णायक भूमिका खेलेको थियो। कुन खेलाडीले कुन उपाधिमा के पुरस्कार पाए एनपीएल सिजन–३ मा व्यक्तिगत पुरस्कारका लागि पनि खेलाडीबीच प्रतिस्पर्धा निकै रोचक देखियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली तथा विदेशी खेलाडीले विभिन्न आकर्षक पुरस्कार प्राप्त गरेका छन्। रिजन ढकाल बने सर्वाधिक विकेट लिने बलर चितवन राइनोजका तीव्र गतिका बलर रिजन ढकाल यस संस्करणका सर्वाधिक विकेट लिने बलर बने । उनले प्रतियोगितामा १७ विकेट लिएका हुन् । सर्वाधिक चर्चित नेपाली खेलाडी बनेका रिजनले १७ विकेट लिँदै सर्वाधिक विकेट लिने बलरको उपाधि प्राप्त गर्दै उत्कृष्ट नेपाली खेलाडीको पुरस्कारसमेत जितेका छन् । रिजनले उत्कृष्ट नेपाली खेलाडीको पुरस्कारस्वरूप ओमोडा जेइकोको कार प्राप्त गरेका छन्। सर्वाधिक विकेट लिने बलरको पुरस्कारस्वरूप उनले बजाज पल्सर मोटरसाइकल र दुई लाख नगद उपहार पनि प्राप्त गरेका छन् । उनको प्रदर्शनले चितवन राइनोजलाई प्लेअफसम्म पुर्याउन महत्त्वपूर्ण योगदान गरेको थियो। एनपीएलको पहिलो संस्करणमा चितवन राइनोजले अक्सनमार्फत उनलाई १० लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । एनपीएल प्रतियोगिता तेस्रो संस्करणमा खेलेका ८ वटै खेलमा जम्मा २७ ओभर बलिङ गरेका उनले कुल १७ विकेट लिएका हुन् । उनले काठमाडौँ गोर्खाजविरुद्ध १६ रन खर्चेर ४ विकेट, लिग चरणमा पोखरा एभेन्जर्सविरुद्ध २४ रन खर्चेर ४ विकेट, विराटनगर किंग्सविरुद्ध ३ विकेट, काठमाडौंविरुद्ध २ विकेट, कर्णाली याक्स, जनकपुर र सुदूरपश्चिम रोयल्सविरुद्ध समान १–१ विकेट लिएका थिए । दीपेन्द्रसिंह ऐरी बने प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताका उत्कृष्ट खेलाडी अर्थात् प्लेयर अफ द टुर्नामेन्ट घोषित भए। उनले प्रतियोगिताभर २१७ रन बनाउनुका साथै सात विकेटसमेत लिएका थिए। उनकै अलराउन्ड प्रदर्शनका कारण सुदूरपश्चिमलाई उपाधि जित्न मद्दत गरेको थियो भन्दा फरक नपर्ला । दीपेन्द्रले प्लेयर अफ द टुर्नामेन्ट पुरस्कारस्वरूप पाँच लाख रुपैयाँ प्राप्त गरेका छन्। कप्तानका रूपमा टोलीलाई लगातार तेस्रो फाइनलमा पुर्याउँदै यसपटक उपाधि जिताउन सफल हुनु उनको नेतृत्वको महत्त्वपूर्ण उपलब्धि बन्यो । लोकेश बम (नेपाली ब्याटरमध्ये सर्वाधिक रन) विराटनगर किङ्सका लोकेश बम प्रतियोगितामा सर्वाधिक रन बनाउने नेपाली ब्याटर बने। उनले सात खेलमा २४२ रन बनाएर सर्वाधिक रन बनाउने नेपाली ब्याटर बनेका हुन् । नेपाली ब्याटरमध्ये सर्वाधिक रन बनाएका लोकेशले पुरस्कारस्वरूप बजाज पल्सर मोटरसाइकल प्राप्त गरे । सर्वाधिक रन बनाएका युवराज साम्रा पोखरा एभेन्जर्सका युवराज सिंह साम्राले प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको उपाधि प्राप्त गरेका छन्। उनले प्रतियोगितामा २९४ रन बनाएका हुन्। उनको प्रदर्शनका आधारमा उनले प्लाटिनम क्याप पनि प्राप्त गरेका थिए। साम्राले एक शतक र दुई अर्धशतकसहित सर्वाधिक २९ चौका र १६ छक्का प्रहार गरे। कमिल मिसरा (रेड बुल एनर्जेटिक प्लेयर) चितवन राइनोजका श्रीलंकाली ब्याटर कमिल मिसरा रेड बुल एनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भए। उनले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका हुन्। त्यस्तै, फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका जर्ज मुन्सी म्यान अफ द म्याच घोषित भए। लुम्बिनी लायन्सले प्रतियोगितामा खेल भावना र अनुशासनका आधारमा स्पिरिट अफ क्रिकेट पुरस्कार प्राप्त गर्यो। लुम्बिनी लायन्स : लिग चरणको शीर्ष टोली, फाइनलमा निराश लुम्बिनी लायन्सले प्रतियोगिताको लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गरेको थियो। सात खेलमा पाँच जित, एक हार र एक खेल वर्षाका कारण नतिजाविहीन भएपछि लुम्बिनीले ११ अंक प्राप्त गरेको थियो। लिग चरणमा बलियो प्रदर्शन गरेको लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। यस जितले लुम्बिनीलाई लगातार दोस्रो पटक एनपीएल फाइनलमा पुर्याएको थियो। तर फाइनलमा लुम्बिनीले आफ्नो लिग चरणको प्रदर्शन दोहोर्याउन सकेन। सुदूरपश्चिमको आक्रामक ब्याटिङका सामु लुम्बिनीको बलिङ कमजोर देखियो। १५५ रन बनाए पनि त्यसलाई जोगाउन नसक्दा लुम्बिनीले उपाधि रक्षा गर्ने सुनौलो अवसर गुमायो। सुदूरपश्चिम रोयल्स : लगातार तीन पटक फाइनलमा, पहिलो उपाधि यस संस्करणको च्याम्पियन टोली बनेको सुदूरपश्चिम रोयल्स लिग चरणमा सात खेलमध्ये पाँच जित र दुई हारसहित १० अंक प्राप्त गरेर दोस्रो स्थानमा रह्यो। पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्नुपरेको थियो। दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै फाइनलमा पुगेको सुदूरपश्चिमले फाइनलमा लुम्बिनीलाई १० विकेटले पराजित गरेको हो। यसअघि दुई संस्करणको फाइनलमा पुगे पनि उपाधि जित्न नसकेको सुदूरपश्चिमले तेस्रो संस्करणमा सफलता हात पार्यो। यस संस्करणमा सुदूरपश्चिमको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरेका थिए। प्लेअफमा पुगेर बाहिरिएको काठमाडौं गोर्खाज काठमाडौं गोर्खाजले लिग चरणमा सात खेलमध्ये चार जित र तीन हारसहित आठ अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको थियो। काठमाडौंले लिग चरणमा प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्दै प्लेअफमा स्थान बनाएको थियो। तर एलिमिनेटरमा चितवन राइनोजसँग पराजित भएपछि काठमाडौंको उपाधि यात्रा समाप्त भयो र मैदानबाट बाहिरिनु पर्यो। एलिमिनेटरमा काठमाडौंले २० ओभरमा नौ विकेट गुमाउँदै १४३ रन बनाएको थियो। चितवनले २० ओभरमा चार विकेट गुमाउँदै २०४ रन बनाएपछि काठमाडौं ६१ रनले पराजित भएको थियो। काठमाडौंको यस संस्करणको यात्रा लिग चरणमा राम्रो प्रदर्शनबाट सुरु भए पनि प्लेअफमा अपेक्षित सफलता हासिल गर्न सकेन। चौथो स्थानबाट बाहिरिएको चितवन राइनोज चितवन राइनोजले लिग चरणमा सात खेलमध्ये तीन जित, तीन हार र एक खेल वर्षाका कारण नतिजाविहीन हुँदा सात अंक प्राप्त गर्दै चौथो स्थान हासिल गरेको थियो। चितवनले प्लेअफमा स्थान बनाउन संघर्षपूर्ण प्रदर्शन गरेको थियो। एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवन दोस्रो क्वालिफायरमा पुगेको थियो। तर दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग तीन विकेटले पराजित भएपछि चितवनको फाइनल यात्रा टुङ्गियो। चितवन राइनोज उपाधि जित्न नसके पनि व्यक्तिगत पुरस्कारमा भने अब्बल सावित भयो। रिजन ढकालले उत्कृष्ट नेपाली खेलाडी र सर्वाधिक विकेट लिने बलरको पुरस्कार प्राप्त गर्दै कार, मोटरसाइकल र नगद पुरस्कार जिते। कमिल मिसराले पनि व्यक्तिगत पुरस्कार प्राप्त गरेका छन्। विराटनगर किङ्सको तीन जित, चार हार विराटनगर किङ्सले लिग चरणमा सात खेलमध्ये तीन जित र चार हार बेहोरेको थियो। टोलीले छ अंक प्राप्त गर्दै पाँचौँ स्थानमा सीमित भयो। विराटनगरले केही खेलमा प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि लगातार सफलता हासिल गर्न सकेन। टोली प्लेअफमा पुग्न नसके पनि लोकेश बमको ब्याटिङ प्रदर्शनले प्रतियोगितामा चर्चा पायो। नेपाली ब्याटरमध्ये सर्वाधिक रन बनाउने खेलाडी बनेका लोकेशले सात खेलमा २४२ रन बनाउँदै मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन्। प्लेअफबाट बाहिरिएको कर्णाली याक्स कर्णाली याक्सले सात खेलमध्ये तीन जित र चार हारसहित छ अंक प्राप्त गर्दै छैटौँ स्थानमा सीमित हुँदै प्रतियोगिताबाट बाहिरियो। टोलीले सुरुवाती खेलमा अपेक्षित प्रदर्शन गर्न नसके पनि प्रतियोगिताको अन्तिम चरणमा सुधार देखाएको थियो। कर्णालीले चितवन राइनोजलाई २४ रनले पराजित गरेको थियो। प्रतियोगितामा केही खेलमा बलियो प्रदर्शन गरे पनि प्लेअफ पुग्न आवश्यक निरन्तरता भने हासिल गर्न सकेन। पोखरा एभेन्जर्स : स्कोरमा अगाडी, नतिजा निराशाजनक पोखरा एभेन्जर्सले सात खेलमध्ये दुई जित र पाँच हार बेहोर्दै चार अंक मात्र प्राप्त गरी टोली सातौँ स्थानमा रह्यो। पोखराले प्रतियोगितामा केही प्रभावशाली प्रदर्शन पनि गरेको थियो। काठमाडौं गोर्खाजविरुद्धको अन्तिम लिग खेलमा पोखराले २० ओभरमा तीन विकेट गुमाउँदै २२४ रन बनाएको थियो। जुन एनपीएलकै सर्वाधिक रन थियो। उक्त खेलमा पोखराले काठमाडौंलाई ५५ रनले पराजित गरेको थियो। तर प्रतियोगिताभर राम्रो खेल्न नसक्दा पोखराको प्लेअफ यात्रा अगाडि बढ्न सकेन। जनकपुर बोल्ट्स आठौँ स्थान जनकपुर बोल्ट्सले सात खेलमध्ये दुई खेल मात्र जित्यो भने पाँच हार बेहोर्दै चार अंक प्राप्त गरेको थियो। टोली आठौँ स्थानमा रह्यो। जनकपुरले प्रतियोगितामा अपेक्षित प्रदर्शन गर्न नसके पनि युवा बलर राहुल यादवको प्रदर्शन चर्चित बन्यो। राहुलले सात खेलमा १२ विकेट लिँदै इमर्जिङ प्लेयरको पुरस्कार प्राप्त गरे। जनकपुरको समग्र प्रदर्शन कमजोर रहे पनि युवा खेलाडीको प्रदर्शनले आगामी प्रतियोगिताका लागि आशा भने जगाएको छ। एनपीएलको कमाइ एनपीएल सिजन–३ क्रिकेट प्रतियोगितामा मात्रै सीमित नभई आयआर्जनको हिसाबले पनि विशेष रूपमा हेरिएको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले यस संस्करणबाट एक अर्ब ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरेको थियो। प्रतियोगितामा प्रसारण अधिकार, टिकट बिक्री, प्रायोजन, फ्रेन्चाइज टिमको खर्च, खेलाडीको पारिश्रमिक, होटल, यातायात, रेस्टुरेन्ट, व्यापार तथा समर्थक सामग्री बिक्रीजस्ता विभिन्न गतिविधिबाट आर्थिक कारोबार हुने अपेक्षा क्यानले गरेको थियो । यस संस्करणमा प्रसारण तथा टिकटिङ अधिकार बिक्रीबाट मात्रै क्यानले ३३ करोड ५३ लाख रुपैयाँ प्राप्त गरेको रिपोर्ट सार्वजनिक भएको छ। नेटटीभीले विश्वव्यापी डिजिटल प्रसारण अधिकार १८ करोड चार लाख रुपैयाँमा खरिद गरेको थियो भने हिमालय टेलिभिजनले नेपालभित्रको टेलिभिजन प्रसारण अधिकार १४ करोड ६४ लाख रुपैयाँमा लिएको थियो। इसेवाले ८५ लाख रुपैयाँमा टिकटिङ अधिकार प्राप्त गरेको थियो। आठवटै टोलीको होटल खर्च जोड्दा करिब ६ करोड ४० लाखदेखि १२ करोड रुपैयाँसम्म पुग्न सक्ने अनुमान गरिएको थियो। त्यस्तै, खेल हेर्न आउने दर्शक, समर्थक, खेलाडीका परिवार तथा अन्य क्रिकेटप्रेमीका कारण रेस्टुरेन्ट, यातायात तथा अन्य व्यवसायमा पनि गतिविधि बढेको थियो। प्रतियोगिताका दौरान टिमका जर्सी, टोपी, हुडी तथा अन्य समर्थक सामग्रीको बिक्री पनि बढेको थियो। एनपीएलले क्रिकेटसँगै विभिन्न व्यवसायलाई जोड्दै नेपाली खेलकुदको व्यावसायिक सम्भावना विस्तार गरेको देखिन्छ। यद्यपि कमाइको तथ्यांक भने सार्वजनिक भइसकेको छैन । नेपाली क्रिकेटको व्यावसायिक विस्तारको आधार बन्दै एनपीएल एनपीएल सिजन–३ को समापनसँगै नेपाली क्रिकेटले अर्को महत्त्वपूर्ण अध्याय पनि पूरा गरेको छ। प्रतियोगितामा आठ टोलीको प्रतिस्पर्धा, विदेशी खेलाडीको सहभागिता, नेपाली खेलाडीको प्रदर्शन, व्यक्तिगत पुरस्कार, दर्शकको आकर्षण र आर्थिक कारोबारले एनपीएललाई नेपाली क्रिकेटको प्रमुख व्यावसायिक प्रतियोगिताका रूपमा स्थापित गर्ने बलियो आधार तयार भएको छ । सुदूरपश्चिम रोयल्सको पहिलो उपाधि, लुम्बिनी लायन्सको फाइनलसम्मको यात्रा, चितवन राइनोजका खेलाडीको व्यक्तिगत सफलता, राहुल यादवजस्ता युवा खेलाडीको प्रदर्शन तथा जर्ज मुन्सीको फाइनल शतक एनपीएल सिजनका प्रमुख उपलब्धि बनेका छन्। एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटमा खेलाडीको प्रतिभा प्रदर्शन गर्ने अवसर मात्रै सिर्जना गरेको छैन, खेलकुदलाई व्यवसाय, पर्यटन, प्रायोजन, प्रसारण र मनोरञ्जनसँग जोड्ने सम्भावना समेत देखाएको छ। The post एनपीएल सिजन–३ सम्पन्न : सुदूरपश्चिम बन्यो एनपीएल च्याम्पियन, चितवनका खेलाडी उत्कृष्ट साबित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
एनपीएल सिजन–३ सम्पन्न : सुदूरपश्चिम बन्यो एनपीएल च्याम्पियन, चितवनका खेलाडी उत्कृष्ट साबित

Read Complete Original Article
Published originally on कर्पोरट खबर






