काठमाडौं। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो दोस्रो जित दर्ता गरेको छ। सोमबार भएको खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको हो। चितवनले दिएको १ सय ३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमका लागि ब्राण्डोन म्याक मुलेनले सर्वाधिक ४३ रन बनाए। उनले २१ बलमा ६ चौका र २ छक्का प्रहार गरे। त्यसैगरी, इशान पाण्डेले २५, आरिफ शेखले २० र सेरफाने रदरफोर्डले २१ रनको योगदान दिए। चितवनका बलर रन्जित कुमारले ३ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो। चितवनका लागि रवि वोपाराले सर्वाधिक ४९ रन बनाए। सुदूरपश्चिमका बलर स्कट कुग्लेजिनले २ विकेट लिए भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरि र अनिल खरेलले समान १-१ विकेट हात पारे। चार खेल खेलेको सुदूरपश्चिमको यो दोस्रो जित हो। यसअघि सुदूरपश्चिम लुम्बिनी लायन्ससँग पराजित भएको थियो, पोखरा एभेन्जर्सलाई हराएको थियो र विराटनगर किंग्ससँग पराजित भएको थियो। यता, चितवनको यो पहिलो हार हो। एनपीएल अन्तर्गत मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन्।
एनपीएलमा सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित

Read Complete Original Article
Published originally on नेपालन्युज






