काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज (बिहीबार) दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन् । आज दिउँसो साढे १२ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । प्रतियोगितामा पाँच खेल खेलेको विराटनगरले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको छ । चार अंकसहित विराटनगर अंक तालिकाको छैटौं स्थानमा छ । यता पोखरा एभेन्जर्सको प्रदर्शन भने कमजोर देखिएको छ । पाँच खेलमध्ये एक खेलमा मात्र जित निकालेको पोखराले चार खेलमा हार बेहोरेको छ । दुई अंकसहित पोखरा अंक तालिकाको पुछारमा छ । त्यसैले आजको खेल पोखराका लागि अंक तालिकामा सुधार गर्ने अवसर हुनेछ । यसैगरी आजको दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लाइन्सबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो साढे ४ बजे सुरु हुने खेलमा कर्णाली र लुम्बिनी जितको खोजीमा मैदान उत्रनेछन् । पाँच खेल खेलेको कर्णाली याक्सले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको छ । चार अंकसहित कर्णाली अंक तालिकाको सातौं स्थानमा छ । अर्कोतर्फ लुम्बिनी लाइन्सले पाँच खेलबाट तीन जित, एक हार र वर्षाका कारण रद्द भएको एक खेलबाट अंक बाँड्दै सात अंक जोडेको छ । लुम्बिनी अंक तालिकाको तेस्रो स्थानमा छ । आजका दुवै खेल अंक तालिकामा आफ्नो स्थिति सुधार गर्न चाहने टोलीका लागि महत्त्वपूर्ण हुनेछन् । विशेषगरी पुछारमा रहेको पोखरा र सातौं स्थानमा रहेको कर्णालीका लागि जितले प्रतियोगितामा अघि बढ्ने सम्भावना बलियो बनाउन सक्छ ।
एनपीएलमा आज विराटनगर-पोखरा र कर्णाली-लुम्बिनी आमनेसामने हुँदै

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






