काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा बिहीबार दुईवटा खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। दोस्रो खेलमा काठमाण्डु गोर्खाज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ। पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल बेलुका ५ बजे सुरु हुनेछ। लुम्बिनी लायन्स तीन खेलबाट पाँच अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा छ। टोलीले दुई जित र एक बराबरीको नतिजा निकालेको छ। पछिल्लो खेलमा पोखरा एभेन्जर्सलाई आठ विकेटले हराउँदै लुम्बिनीले आफ्नो लय कायम राखेको छ। अर्कोतर्फ, चार खेलमा दुई जित र दुई हार व्यहोरेको जनकपुर चार अंकसहित चौथो स्थानमा छ। अघिल्लो खेलमा विराटनगरसँग दुई रनले पराजित भएको जनकपुर पुनः लयमा फर्कने लक्ष्यमा छ। एनपीएलका अघिल्ला दुई संस्करणमा यी दुई टोलीबीच भएका दुई भेटमा दुवैले एक-एक खेल जितेका छन्। दोस्रो खेलमा प्रतिस्पर्धा गर्ने काठमाण्डु गोर्खाज दुई खेलमा एक जित र एक हारसहित सातौँ स्थानमा छ। टोलीले आफ्नो पछिल्लो खेलमा कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो। विराटनगर किङ्ग्स भने चार खेलमा दुई जित र दुई हारसहित अंकतालिकाको दोस्रो स्थानमा छ। पछिल्ला दुई खेलमा लगातार जित निकालेको विराटनगर उच्च मनोबलमा छ। विराटनगरले मंगलबार जनकपुरलाई दुई रनले पराजित गरेको थियो। काठमाण्डु र विराटनगरबीच यसअघि भएका दुई खेलमा पनि दुवै टोलीले एक-एक जित हात पारेका छन्। पहिलो संस्करणमा काठमाण्डुले एक विकेटको जित निकालेको थियो भने दोस्रो संस्करणमा विराटनगरले पाँच विकेटले बाजी मारेको थियो। बिहीबारको खेलमा जित निकाल्ने टोलीले हेड-टु-हेडमा अग्रता बनाउनेछ।
एनपीएलमा आज दुई खेल हुँदै

Read Complete Original Article
Published originally on नेपालन्युज





