काठमाडौं । बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि चितवनले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित हात पार्दै तेस्रो स्थानमा उक्लेको छ । चितवन राइनोजले दिएको १५२ रनको लक्ष्ण पछ्याएको पोखरा १९ ओभरमा सबै विकेट गुमाएर १२१ रनमा अलआउट भयो । चार खेलमा चितवनको यो दोस्रो जित हो र पाँच अंकसहित तेस्रो स्थानमा उक्लेको हो । पोखराको भने यो लगातार चौथो हार हो र अंकविहिन हुँदै पूछारमा छ । पोखराका लागि अर्जुन कुमालले ४४ बल खेल्दै तीन चौका एक छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाउनुभयो । युवराज सम्राले १९ र किरण ठगुन्ना र अर्जुन घर्तीले समान १२ रन जोड्नुभयो । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । पोखराका लागि कुशल भुर्तेलसँगै क्यानडाका खेलाडी युवराज सम्राले ओपनिङ गर्नुभएको थियो । तर, भुर्तेल पहिलो ओभरको तेस्रो बलमै चार रनको व्यक्तिगत स्कोरमा आउट हुनुभयो । त्यसपछि सम्रा र अर्जुन कुमालले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गर्नुभयो । तर, सम्रा १४ बलमा १९ रन बनाएर आउट भएपछि पोखराले नियमित अन्तरमा विकेट गुमायो । अर्जुन कुमालले एक छेउबाट इनिङ्स सम्हालेपनि अर्को छेउमा गतिलो साथ पाउनुभएन । सदिरा समराविक्रमा चार र महेदी हसन सात रनमा आउट भएपछि पोखराले ७८ रनमा चार विकेट गुमाएको थियो । किरण ठगुन्नाले अर्जुन कुमाललाई साथ दिने प्रयास गरेपनि उहाँ १३ बलमा १३ रन बनाएर आउट हुनुभयो । पोखराको नयाँ कप्तान बनेका चमिका करुणारत्ने विकेटकिपर अर्जुन घर्ती भन्दा अघि सातौं नम्बरमा ब्याटिङमा आउनुभएको थियो । तर उहाँ दुई रनमै आउट हुनुभयो । सुदिप अर्याल, विपिन खत्री र सागर ढकालले खाता खोल्न सक्नुभएन । बलिङमा चितवनका लागि रिजन ढकालले चार ओभरमा २४ रन खर्चेर सर्वाधिक चार विकेट लिनुभयो । यस्तै कमल सिंह ऐरीले दुई ओभरमा एक मेडन राख्दै सात रन मात्र खर्चेर तीन विकेट लिनुभयो । डान मोस्ले, मौसम ढकाल र कुशल मल्लले एक-एक विकेट लिनुभयो ।त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो । चितवनका लागि कप्तान सिकन्दर राजाले सर्वाधिक ३७ रन बनाउँदा रवि बोपाराले ३५, अर्जुन साउदले ३१ र डाविड मालानले २८ रन जोड्नुभयो । पोखरा वरुद्ध ओपनिङ गर्नुभएका अर्जुन साउदले डाविड मालिनसँग पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाउनुभएको थियो । तर। दुवै ब्याटर लगातार आउट हुनुभयो । विकेटकिपर अर्जुनले २७ बल खेल्दै दुई चौका र एक छक्का मदतमा ३१ रन बनाउनुभयो । मालानले २८ बल खेल्दै तीन चौका मद्दतमा २८ रन बनाउनुभयो । त्यसपछि रवि बोपाराले एक छेउ सम्हालेपनि डान मोस्ले दुई र यस सिजन पहिलो खेल खेलिरहेका मार्की कुशल मल्ल ११ रनमा आउट हुनुभयो । ८६-४ को अवस्थामा बोपाराले कप्तान सिकन्दर राजासँग पाँचौ विकेटका लागि ६० रनको साझेदारी गर्दै इनिङ्स अघि बढनउनुभएको थियो । तर अन्तिम ओभरमा पोखराका कप्तान चमिका करुणारत्नेले दुवै खेलाडीलाई आउट गर्नुभयो । अन्तिम ओभरमा आउट हुनुअघि बोपाराले २८ बल खेल्दै तीन चौका र एक छक्का मद्दतमा ३५ रन बनाउनुभयो । यस्तै आक्रमक ब्याटिङ गर्नुभएका कप्तान राजाले १६ बल खेल्दै दुई चौका र चार छक्का मद्दतमा सर्वाकि ३७ रन बनाउनुभयो । कमल सिंह ऐरी दुई रनमा अविजित रहनुभयो । यस खेलमा पोखराको कप्तानी गरेका श्रीलंकन बलर चमिका करुणारत्ने, बिपिन खत्री र कुशल भुर्तेलले दुई-दुई विकेट लिनुभयो । पोखराले लगातार तीन हारपछि कप्तान परिवर्तन गर्दै कुशल भुर्तेलको स्थानमा करुणारत्नेलाई कप्तानको जिम्मेवारी दिएको हो । दोस्रो स्थानमा उक्लियो सुदूरपश्चिमयसअघि शुक्रबार भएको पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो स्थानमा उक्लेको छ । सुदूरपश्चिमले कर्णालीलाई ३९ रनले हराएसँगै सुदूरपश्चिम दोस्रो स्थानमा उक्लेको हो । सुदूरपश्चिमले तीन खेलमा जित र दुई खेलमा हार भोग्दै तालिकामा ६ अंक जोडेको हो । समान दुई खेलमा जित र हार भोगेको कर्णाली भने चार अंकमा तालिकाको पाँचौं स्थानमा झरेको छ । सुदूरपश्चिमले दिएको १७७ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १३७ रनमात्र बनाउन सक्यो । कर्णालीका लागि डेविड मिलरले ९३ रनको योगदान दिए पनि टोलीको हार टार्न सक्नुभएन । उहाँले ५४ बलमा पाँच चौका र सात छक्का हान्नुभएको थियो । दिपक डुम्रेले १८ रन जोड्नुभयो । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । सुदूरपश्चिमका लागि स्कट कुग्लेजिनले दुई विकेट लिनुभयो । हेमन्त धामी, अनिल खरेल, दीपेन्द्रसिंह ऐरी, थारिन्दु रत्नायके र अविनाश बोहोराले समान एक विकेट लिनुभयो । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रनको योगफल तयार पारेको थियो । ओपनर सैफ जैव र विनोद भण्डारीले ७.३ ओभरमा ६८ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई उत्कृष्ट सुरुवात दिलाउनुभएको थियो । २२ बलमा दुई चौका र दुई छक्का सहयोगमा २७ रन बनाएका ओपनर भण्डारी रनआउट हुनुभएको थियो । अर्का ओपनर सैफ जैव २४ बलमा चार चौका र एक छक्का सहयोगमा ३५ रन बनाउँदा सूर्य तामाङको बलमा बोल्ड आउट हुनुभयो । ब्रान्डोन म्याकमुलेन २४ रन बनाउँदा नन्दन यादवको बलमा क्याच आउट हुनुभयो । कप्तान दीपेन्द्रसिंह ऐरी १० रन बनाउँदा मार्क वाटको बलमा विकेटकिपरको हातबाट आउट हुनुभयो । १३ बलमा तीन छक्का सहयोगमा २३ रन बनाउनुभएका इशान पाण्डे मार्क वाटकै बलमा क्याच आउट हुनुभएको थियो । आरिफ शेख ११ रन बनाउँदा क्याच आउट हुनुभयो भने थारिन्दु रत्नायके २२ र स्कट कुग्लेजिन १३ रनमा अविजित रहनुभयो । कर्णालीका लागि मार्क वाटले दुई विकेट लिनुभयो । उहाँले आफ्नो स्पेलमा २७ रन खर्चनुभयो । नन्दन यादव, हुसैन तलात र सूर्य तामाङले समान एक विकेट लिनुभयो भने इशान पाण्डे विकेटविहीन रहनुभयो ।
एनपिएल : पोखराको लगातार चौथो हार, चितवनको दोस्रो जित

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






