एनपिएलको तेस्रो संस्करण आजदेखि

काठमाडौं । बडादशैँको रौनक सेलाउन नपाउँदै तिहारको उल्लास सुरु हुँदै छ । परिवारसँग भेटघाट, घुमफिर र मनोरञ्जनमा रमाउने यही चाडपर्वको मौसममा नेपाली क्रिकेटले पनि आफ्नो महाउत्सव सुरु गर्दै छ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आज (सोमबार)देखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ । घरेलु क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताले यसपटक चाडपर्वको माहोललाई क्रिकेटको रोमाञ्चसँग जोड्नेछ । आठ फ्रेन्चाइज टोली, नेपाली क्रिकेटका स्थापित खेलाडी, विश्व क्रिकेटमा नाम कमाएका विदेशी स्टार र मैदानमा प्रविधिको नयाँ प्रयोग । तेस्रो संस्करणमा एनपिएलले दर्शकलाई आकर्षित गर्ने आधार थपेको छ । प्रतियोगिताको पहिलो खेलमै अघिल्लो संस्करणको फाइनलमा भिडेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै छन् । यसले प्रतियोगिताको सुरुवातमै उपाधि भिडन्तको झल्को दिनेछ । यसअघिका दुई संस्करणले एनपिएलप्रति दर्शकको आकर्षण बढाएका थिए । पहिलो संस्करणले फ्रेन्चाइज क्रिकेटको सम्भावना देखायो । दोस्रो संस्करणले दर्शकको उत्साह र पूर्वाधारको महत्त्व स्थापित गर्यो । अब तेस्रो संस्करणले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउने अपेक्षा गरिएको छ । यसपटकको विशेषता विदेशी स्टारको उपस्थिति मात्र होइन, प्रतियोगितालाई आइसिसीको आधिकारिक मान्यता, निर्णय पुनरावलोकन प्रविधि (डिआरएस) र खेलको बढ्दो व्यावसायिक महत्त्व पनि हो । दशैँ र तिहारबीच आयोजना हुन लागेको प्रतियोगिताले दर्शकको बिदा र फुर्सदलाई क्रिकेटसँग जोड्ने अवसर पाएको छ । परिवारसँग बसेर खेल हेर्ने, साथीभाइसँग मैदान पुग्ने र आफ्नो सहरको टोलीलाई समर्थन गर्ने माहोल बन्नसक्छ । तर, चाडपर्वको समय भएकै कारण दर्शक स्वतः बढ्छन् भन्ने निश्चित छैन । त्यसका लागि खेलको गुणस्तर, टिकटको सहजता, मैदानको व्यवस्थापन र प्रतिस्पर्धाको रोमाञ्चले महत्त्वपूर्ण भूमिका खेल्नेछन् । विदेशी स्टारको आकर्षण, कसले को-को भित्र्याए ?यसपटक एनपिएलको अर्को प्रमुख आकर्षण विदेशी खेलाडी हुन् । अस्ट्रेलियाका पूर्वविस्फोटक ओपनर डेभिड वार्नरदेखि वेस्ट इन्डिजका आक्रामक अलराउन्डर आन्द्रे रसेल र दक्षिण अफ्रिकाका ब्याटर डेभिड मिलरसम्मका खेलाडीले प्रतियोगिताको आकर्षण बढाएका छन् । वार्नरले काठमान्डु गोर्खाजबाट खेल्नुहुने छ । अस्ट्रेलियाले सन् २०१५ र २०२३ मा एकदिवसीय विश्वकप तथा सन् २०२१ मा टी-२० विश्वकप जित्दा उहाँ टोलीका महत्त्वपूर्ण सदस्य हुनुहुनुथ्यो । रसेल विराटनगर किङ्समा हुनुहुन्छ । टी-२० क्रिकेटमा आक्रामक ब्याटिङ र प्रभावकारी बलिङका लागि चिनिने रसेलको उपस्थितिले विराटनगरको शक्ति बढाउने अपेक्षा छ । दक्षिण अफ्रिकाका मिलर कर्णाली याक्समा अनुबन्ध हुनुभएको छ । पाकिस्तानका साहिबजादा फरहान र हुसैन तलात पनि कर्णालीबाट खेल्नुहुने छ । फरहानको आक्रामक ब्याटिङ र मिलरको मध्यक्रममा खेल बदल्न सक्ने क्षमताले कर्णालीलाई बलियो बनाउनेछ । सुदूरपश्चिमले वेस्ट इन्डिजका शेरफन रदरफोर्ड, न्युजिल्यान्डका स्कट कुग्लेइन, इंग्ल्यान्डका सेफ जैब र स्कटल्यान्डका ब्रान्डन म्याकमलेनलाई अनुबन्ध गरेको छ । लगातार दुई फाइनल खेलेर पनि उपाधि जित्न नसकेको टोली यसपटक विदेशी खेलाडीको अनुभव उपयोग गर्दै च्याम्पियन बन्न चाहन्छ । विराटनगरले श्रीलंकाका चारिथ असलन्का र एन्जेलो म्याथ्युजलाई पनि भित्र्याएको छ । जनकपुर बोल्ट्समा इंग्ल्यान्डका मोइन अली र न्युजिल्यान्डका जिम्मी निसमसहित पाकिस्तानका इफ्तिखार अहमद हुनुहुन्छ । लुम्बिनीले श्रीलंकाका निरोशन डिकवेला र अस्ट्रेलियाका डी’आर्सी सर्टलाई निरन्तरता दिँदै बंगलादेशका सामिम हुसैनलाई थपेको छ । पोखरा एभेन्जर्समा बंगलादेशका पूर्वविश्व नम्बर एक अलराउन्डर शकिब अल हसन र मेहदी हसन हुनुहुन्छ । चितवन राइनोजमा जिम्बावेका सिकन्दर राजा र इंग्ल्यान्डका रबि बोपारा हुनुहुन्छ । विदेशी खेलाडीको सूचीमा पाकिस्तान, श्रीलंका, बंगलादेश, अमेरिका, नामिबिया, स्कटल्यान्ड र अन्य क्रिकेट राष्ट्रका खेलाडी पनि छन् । यसपटक नयाँ के छ ?तेस्रो संस्करणमा तीनवटा परिवर्तन विशेष महत्त्वका छन् । पहिलो, आइसिसीको आधिकारिक मान्यता । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले एनपिएलका सबै खेललाई लिस्ट ए टी-२० को मान्यता दिएको छ । यससँगै प्रतियोगितामा बनेका रन र लिएका विकेट सम्बन्धित खेलाडीको आधिकारिक टी-२० अभिलेखमा समावेश हुनेछन् । यसले नेपाली खेलाडीको प्रदर्शनलाई अन्तर्राष्ट्रिय स्तरमा अभिलेखित गर्नेछ र प्रतियोगिताको विश्वसनीयता बढाउनेछ । आइसिसीको मान्यतासँगै फ्रेन्चाइज टोलीले बढीमा आठ विदेशी खेलाडी राख्न पाउनेछन् । तर, एउटा खेलमा चार विदेशी खेलाडी मात्र खेलाउन पाइने व्यवस्था छ । यसले विदेशी स्टार भित्र्याउने अवसर बढाए पनि नेपाली खेलाडीको सहभागितालाई विस्थापित नगर्ने सन्तुलन कायम राख्नेछ । दोस्रो, पहिलोपटक डिआरएस प्रविधि । यस संस्करणका सबै खेलमा डिसिजन रिभ्यु सिस्टम (डिआरएस) लागू हुनेछ । अम्पायरको निर्णयमा चित्त नबुझे खेलाडीले पुनरावलोकन माग गर्न सक्नेछन् । एलबिडब्लु, ब्याट र बलको सम्पर्क तथा अन्य विवादित निर्णयको समीक्षा गर्न यो प्रविधि उपयोगी हुनेछ । यसले गलत निर्णयको सम्भावना घटाउन सक्छ । तेस्रो, खेल समयको परिवर्तन । डिआरएस लागू भएसँगै क्यानले खेल तालिकाको समय पनि संशोधन गरेको छ । दैनिक दुई खेल हुने दिन पहिलो खेल मध्याह्न १२ः३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ । एक खेल मात्रै हुने दिन खेल साँझ ५ बजेबाट सुरु हुनेछ । एनपिएलको आकर्षण मैदानमा हुने चौका, छक्का र विकेटमा सीमित छैन । यसले नेपाली क्रिकेटको व्यावसायिक भविष्यसँग जोडिएका प्रश्नको जवाफ पनि दिनुपर्ने छ । विदेशी खेलाडीको सहभागिताले दर्शक र प्रायोजक आकर्षित गर्नसक्छ । तर, त्यसबाट प्राप्त हुने लाभ नेपाली खेलाडीको क्षमता विकास, घरेलु प्रतियोगिताको स्तर वृद्धि र क्रिकेटको दिगो संरचना निर्माणमा प्रयोग हुनसके मात्र यसको दीर्घकालीन अर्थ रहन्छ । उद्घाटनमै फाइनलको ‘रिम्याच’तेस्रो संस्करणको पहिलो खेलमै साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दै छन् । दुई टोलीबीचको खेल आज अपराह्न ५ बजे सुरु हुनेछ । यसपटक उपाधि रक्षा गर्ने लक्ष्यसहित लुम्बिनी मैदानमा उत्रँदा लगातार दुई संस्करण फाइनलमा पराजित भएको सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा हुनेछ । गत संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई हराएर उपाधि जितेको थियो । यसपटक उद्घाटन खेलमै दुवै टोलीबीचको प्रतिस्पर्धाले पुरानो हिसाब बराबर गर्ने अवसर र उपाधि दाबेदारीको संकेत दिनेछ । आठ टोली सहभागी प्रतियोगिता राउन्ड रोबिन प्रणालीमा हुनेछ । प्रत्येक टोलीले अर्को टोलीसँग एक-एक खेल खेलेपछि अंक तालिकाका शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । पहिलो क्वालिफायर मंसिर १ गते, इलिमिनेटर मंसिर २ गते र दोस्रो क्वालिफायर मंसिर ३ गते हुनेछ । फाइनल मंसिर ५ गते खेलाइनेछ । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्ससहित आठ टोली पनि उपाधि दौडमा छन् । यसपटक पनि विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमान्डु गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चि रोयल्स गरी आठ टोली सहभागी हुँदै छन् । सुरक्षाका लागि दैनिक हजार बढी प्रहरी परिचालनप्रहरीले एनपिएलका लागि विभिन्न भागमा वर्गीकरण गरेर सुरक्षा तय गरेको छ । खेलाडीको सुरक्षादेखि, उनीहरू बस्ने आठवटा होटलको सुरक्षा, होटलबाट स्टेडियम जाँदा–आउँदाको सुरक्षा, ट्राफिक व्यवस्थापन, खेल भएको बेला स्टेडियम तथा दर्शकको सुरक्षा गरी वर्गीकरण गरेर सुरक्षा प्रदान गरिने प्रहरीले जनाएको छ । खेलको उद्घाटन र समापनमा भिआइपी, भिभिआइपी सवारी हुने भएकाले उनीहरूको सुरक्षा पनि विशेष ख्याल गर्नेगरी व्यवस्था मिलाइएको छ । यी सबै सुरक्षाका लागि दैनिक एक हजार प्रहरी परिचालन हुने प्रहरीको भनाइ छ । यसमा सादा पोसाकका प्रहरी पनि समेटिनेछन् । त्यस्तै, सिसिटिभी र ड्रोनमार्फत निगरानी गर्ने र डग स्नीफिङसमेत गरिने प्रहरीले बताएको छ । नेपाल प्रहरीबाहेक बाह्य सुरक्षामा सशस्त्र प्रहरी पनि खटिने बताइएको छ । डेढ अर्ब कारोबार हुने अनुमान, विजेताले डेढ करोड पाउनेएनपिल विजेताले डेढ करोड पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार पत्रकार सम्मेलन गरी विजेताले डेढ करोड पुरस्कार पाउने घोषणा गरेको हो । उपविजेताले ८० लाख प्राप्त गर्नेछ । तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख पुरस्कार पाउने क्यानले जनाएको छ । चौथो स्थान हासिल गर्ने टोलीलाई पनि पुरस्कार दिइनेछ । उसले ३० लाख प्राप्त गर्नेछ । एनपिएलमा डेढ अर्ब कारोबार कारोबार हुने क्यानको अनुमान छ । लिगको कारोबार १५० करोड रुपैयाँसम्म हुने क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले बताउनुभयो । खड्काका अनुसार स्पोन्सर, टिकट आदिबाट २० करोड रुपैयाँको संघलाई आम्दानी हुनेछ । संघले यस वर्ष ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार गर्ने तथा सोही बराबरको रकम टिमका ओनरले पनि गर्ने हुनाले झण्डै १५० करोड रुपैयाँको कारोबार हुने उहाँले बताउनुभयो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दुर्लभ एक सिंगे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
चितवन । दुर्लभ एक सिंगे गैँडाका लागि प्रख्यात जिल्लामा गठन भएको क्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ । क्लबले आफ्नो क्लबका ‘टिसर्ट’ लगायतका सामग्री बिक्रीको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने भएको हो । क्लबमार्फत चितवन र यहाँको गैँडालाई विश्वमा चिनाउँदै आएको ‘चितवन राइनोज’ तेस्रो वर्ष नेपाल प्रिमियम लिग (एनपिएल) मा सहभागी हुँदैछ । चितवन राइनोज स्पोर्टस ...

अमेरिकी निर्वाचन : देखिएला ‘ब्लु वेभ’ ?
अहिलेको मध्यावधि निर्वाचन ट्रम्प र रिपब्लिकन पार्टीका लागि सहज छैन । तर, डेमोक््रयाटिक पार्टीको पक्षमा उच्च लहर छ भन्ने आधार पनि कमै छन् । ...

कोशी प्रदेशको कृषि, रोजगारी र पर्यटन क्षेत्र झनै कमजोर !
विराटनगर । कोशी प्रदेश सरकारले पर्यटन वर्ष मनाउँदै आएको छ । उत्पादनमा वृद्धि, रोजगारी सिर्जनाको कुरा पनि सरकारले गरिरहेकै छ । यद्यपि नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले केही दिन अगाडि... ...

एक्समा लाइक बटन थिचेर एक डलर पठाउन सकिने सुविधाको घोषणा
काठमाडौं । एलन मस्कले सामाजिक सञ्जाल एक्समा लाइक बटन केही समय थिचेर पोस्टका क्रियटरलाई एक डलर पठाउन सकिने सुविधा ल्याउने बताएका छन् । प्रस्तावित सुविधामार्फत प्रयोगकर्ताले आफूलाई मन परेको सामग्रीका सर्जकलाई सहजै आर्थिक सहयोग गर्न सक्नेछन् । मस्कका अनुसार लाइक बटन लामो समयसम्म थिच्दा एक्स मनीमार्फत एक डलर पठाउने विकल्प सक्रिय हुनेछ । यसबाट प्रयोगकर्ताले अर्को भुक्तानी प्रणाली प्रयोग नगरी एक्सभित्रै सामग्री ...


