गोदावरी । गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसीसी) पदाधिकारीहरूको नेतृत्व तथा संस्थागत क्षमता अभिवृद्धिका लागि आयोजित तीनदिने रणनीतिक कार्यशाला सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), गैरआवासीय नेपाली संघ र स्विस सरकारको सहकार्यमा सञ्चालित MiRiDeW परियोजनाको दोस्रो चरणअन्तर्गत अक्टोबर २८ देखि ३० सम्म गोदावरीमा कार्यशाला आयोजना गरिएको थियो । कार्यशालामा खाडी सहयोग परिषद् (जीसीसी) अन्तर्गतका बहराइन, कुवेत, साउदी अरब, संयुक्त अरब इमिरेट्स, ओमान र कतारसहित मलेसियाका एनआरएनए राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी सहभागी भएका थिए । कार्यशालाको समापन कार्यक्रममा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा भर्चुअल माध्यमबाट सहभागी भएका थिए । कार्यक्रममा उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव डा. चिरञ्जीवी खड्का, सहकोषाध्यक्ष गंगा खतिवडा, उपमहासचिवद्वय दिनेश घिमिरे र वेद बस्नेतलगायत अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीको उपस्थिति थियो । त्यस्तै, एनसीसी अमेरिकाका अध्यक्ष विकास उप्रेती, दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाध्याय, विभिन्न देशका एनसीसी अध्यक्ष तथा पदाधिकारी, आईएलओका राष्ट्रिय संयोजक रोनी धौभाडेल र सचिवालयका प्रतिनिधिहरू सहभागी भएका थिए । समापन समारोहमा तीनदिने कार्यशालामा सहभागी एनसीसी पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यशालामा संस्थागत नेतृत्व, व्यवस्थापन, प्रतिवेदन लेखन, आर्थिक पारदर्शिता तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या, उद्धार र सहयोगका विषयमा प्रशिक्षण तथा छलफल गरिएको थियो । कार्यशालाले विभिन्न देशमा रहेका एनसीसीहरूको संस्थागत कार्यक्षमता अभिवृद्धि गर्नुका साथै पदाधिकारीबीच अनुभव आदानप्रदान, आपसी समन्वय र सहकार्य विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
एनआरएनए पदाधिकारीको क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

Read Complete Original Article
Published originally on नेपालन्युज






