भारतको दक्षिणी तटीय क्षेत्रमा एक साताभित्र दोस्रो चक्रवातले प्रभाव पारेको छ । ‘मुरासु’ नामक चक्रवात मंगलबार बिहान भारतको दक्षिणी तटीय क्षेत्रमा प्रवेश गरेको हो । स्थानीय विपद् व्यवस्थापन विभागका एक अधिकारीका अनुसार चक्रवातका कारण प्रतिघण्टा १२० किलोमिटरसम्मको गतिमा हावा चलेको थियो । यसको सबैभन्दा बढी प्रभाव आन्ध्र प्रदेश राज्यमा परेको छ । यसअघि आएको ‘अर्नब’ नामक चक्रवातका कारण आन्ध्र प्रदेश र ओडिशामा १० जनाभन्दा बढीको मृत्यु भएको थियो । एक साताभित्रै अर्को चक्रवात आएपछि भारतको तटीय क्षेत्रमा विपद्को जोखिम बढेको छ । मुरासु चक्रवातसँगै तीव्र हावा र भारी वर्षा हुँदा आन्ध्र प्रदेशका विभिन्न जिल्लाहरू प्रभावित भएका छन् । हजारौँ मानिस प्रभावित भएका छन् भने स्थानीय प्रशासनले सर्वसाधारणलाई घरभित्रै सुरक्षित रहन निर्देशन दिएको छ । चक्रवातका कारण ठूलो संख्यामा रूखहरू ढले पनि हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रभावित क्षेत्रमा विद्युत आपूर्ति भने सामान्य रहेको बताइएको छ । खराब मौसमका कारण आन्ध्र प्रदेश र छिमेकी राज्य तमिलनाडुका विभिन्न विमानस्थलबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय उडानसहित २० भन्दा बढी उडान रद्ध तथा केहीको मार्ग परिवर्तन गरिएको छ ।
एक साताभित्र भारतको तटीय क्षेत्रमा दोस्रो चक्रवात, हालसम्म मानवीय क्षति छैन

Read Complete Original Article
Published originally on टक्सार






