Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/एआई चिपको अभाव अझ बढ्ने सामसङको अनुमान, सेयरधनीलाई प्रतिफल दिने योजनाबारे पछि निर्णयगर्ने

एआई चिपको अभाव अझ बढ्ने सामसङको अनुमान, सेयरधनीलाई प्रतिफल दिने योजनाबारे पछि निर्णयगर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआई चिपको अभाव अझ बढ्ने सामसङको अनुमान, सेयरधनीलाई प्रतिफल दिने योजनाबारे पछि  निर्णयगर्ने

सामसङ इलेक्ट्रोनिक्सले बिहीबार त्रैमासिक चिप नाफा १५ गुणाले बढेको जनाएको छ। कृत्रिम बुद्धिमतासम्बन्धी प्रविधिको तीव्र विकासले कम्पनीलाई फाइदा पुगे पनि सेयरधनीलाई प्रतिफल दिने नयाँ योजनाको घोषणा नगरेको र प्रतिस्पर्धी एसके हाइनिक्सको तुलनामा कम आशावादी व्यावसायिक दृष्टिकोण प्रस्तुत गरेपछि कम्पनीको सेयर मूल्य घटेको छ। बुधबार एसके हाइनिक्सले अपेक्षाभन्दा राम्रो आम्दानी विवरण सार्वजनिक गर्दै यस वर्ष सेयरधनीलाई करिब ७५ अर्ब अमेरिकी डलर फिर्ता गर्ने योजना सार्वजनिक गरेपछि सामसङका सेयरधनीको अपेक्षा बढेको थियो। बीएनके इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजका विश्लेषक ली मिन हीले भने, “एसके हाइनिक्सले हिजो अपेक्षा गरिएभन्दा धेरै राम्रो प्रदर्शन गर्‍यो। उसले बजारको अपेक्षालाई समेत पार गर्‍यो। तर सामसङ इलेक्ट्रोनिक्सले यसअघि दिएको व्यावसायिक मार्गदर्शनमा खासै परिवर्तन गरेको छैन।” रोयटर्सका अनुसार एसके हाइनिक्सले बुधबार आफ्नो डाइनामिक र्‍यान्डम एक्सेस मेमोरी (डीआरएएम) र हाई ब्यान्डविथ मेमोरी (एचबीएम) चिप सन् २०२९ सम्मका लागि बिक्री भइसकेको जनाएको थियो। कम्पनीका अनुसार चिपको अभाव सन् २०३० सम्म कायम रहनेछ। यसले कृत्रिम बुद्धिमतामा आधारित चिपबाट हुने आम्दानीको वृद्धि सुस्त हुन सक्ने बजारको चिन्ता कम गर्न मद्दत गरेको छ। सामसङले अर्को वर्षका लागि आफ्नो एचबीएम चिपको आपूर्ति पनि बिक्री भइसकेको जनाएको छ। कम्पनीका अनुसार एआई डाटा सेन्टरमा प्रयोग हुने यी महत्त्वपूर्ण चिपका प्रमुख ग्राहकले थप आपूर्ति मागिरहेका छन्। यद्यपि, चिपको माग र आपूर्तिबीचको अन्तर कति समयसम्म कायम रहने भन्ने विषयमा सामसङले एसके हाइनिक्सको तुलनामा कम आशावादी धारणा प्रस्तुत गरेको छ। सामसङले एक विज्ञप्तिमा भनेको छ, “एआईको इकोसिस्टम विस्तार हुँदै जाँदा सन् २०२७ मा एआई पूर्वाधारमा हुने पुँजीगत खर्च ऐतिहासिक स्तरमा पुग्ने अपेक्षा गरिएको छ। एआईका कारण बढ्ने माग सन् २०२६ को तुलनामा उद्योगको आपूर्तिभन्दा निकै बढी हुनेछ।” सामसङका अनुसार चिप बजारमा सन् २०२८ सम्म आपूर्तिको अभाव कायम रहने अपेक्षा गरिएको छ। चिप उत्पादनका लागि नयाँ कारखाना निर्माण गर्न समय लाग्ने भएकाले पुँजीगत खर्च तीव्र रूपमा बढे पनि तत्काल आपूर्ति बढाउन कठिन हुने कम्पनीले जनाएको छ। सामसङको चिप विभागमा यस वर्ष पुँजीगत खर्च ६२ प्रतिशतले बढेर ७६.८ ट्रिलियन वन पुगेको छ। अर्को वर्ष पनि खर्च उल्लेख्य रूपमा बढाउने कम्पनीको योजना छ। सामसङले जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा १०७.४ ट्रिलियन वन (८० अर्ब अमेरिकी डलर) सञ्चालन नाफा कमाएको जनाएको छ। यो कम्पनीको अनुमानअनुरूप हो। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको सञ्चालन नाफा १२.२ ट्रिलियन वन थियो। कम्पनीको सेमिकन्डक्टर व्यवसायको सञ्चालन नाफा बढेर १०६.५ ट्रिलियन वन पुगेको छ। यो समूहको कुल नाफाको लगभग बराबर हो। तर एलएसईजीका अनुसार यो विश्लेषकहरूले अनुमान गरेको १०७.३ ट्रिलियन वनभन्दा केही कम हो। बिहीबार कारोबार सुरु हुँदा सामसङको सेयर मूल्य बढेको थियो। तर पछि घट्दै बिहानको कारोबारमा ६.२ प्रतिशतसम्म गिरावट आयो। यसैबीच, एसके हाइनिक्सको सेयर मूल्य ०.७ प्रतिशत बढ्यो। मर्निङस्टारका विश्लेषक जिङ जी यूले भने, “मेमोरी चिपको अभाव कति समयसम्म कायम रहने भन्ने विषयमा सामसङले दिएको दृष्टिकोण एसके हाइनिक्सले हिजो प्रस्तुत गरेको धारणाभन्दा केही कम आशावादी देखिएकाले कम्पनीको सेयर मूल्य घटेको हुन सक्छ।” एआईको तीव्र विकासले सामसङको तेस्रो त्रैमासिक नाफा झन्डै नौ गुणा बढ्यो सामसङले यसअघि यस वर्ष सेयरधनीलाई दिने कुल प्रतिफल ९० ट्रिलियनदेखि ११० ट्रिलियन वनसम्म हुने जनाएको थियो। यसमा तेस्रो त्रैमासिकको ३० ट्रिलियन वन लाभांशसमेत समावेश छ। बिहीबार कम्पनीले सेयरधनीलाई प्रतिफल दिने आगामी नीति जनवरीमा अन्तिम रूप दिने जनाएको छ। सीएलएसएका वरिष्ठ विश्लेषक सञ्जीव रानाले भने, “बजारले थप सेयर पुनः खरिद गर्ने वा लाभांश घोषणा हुने अपेक्षा गरेको देखिन्छ। तर कम्पनीले निर्णय जनवरीको अन्त्यसम्मका लागि सारेको छ। यसले निकट भविष्यमा प्रतिफल बढ्ने अपेक्षा गरेका लगानीकर्तालाई निराश बनाउन सक्छ।” एआई चिपको माग बलियो रहने अपेक्षा गरिए पनि एआई पूर्वाधार निर्माणका लागि आवश्यक वित्तीय स्रोत र चीनबाट बढ्दो प्रतिस्पर्धाबारेको चिन्ताले पछिल्ला महिनामा चिप कम्पनीका सेयरमा दबाब परेको छ। गुगलको मातृ कम्पनी अल्फाबेटले बुधबार एआई पूर्वाधार विस्तारमा ठूलो लगानी गरिरहेका कारण नगद खर्च तीव्र रूपमा बढेको जनाएको थियो। नयाँ दीर्घकालीन ग्राहक चिप उत्पादक कम्पनीहरूले दीर्घकालीन आपूर्ति सम्झौता बढाउँदै लगेका छन्। चिपको मूल्य बढ्दा स्मार्टफोन र व्यक्तिगत कम्प्युटर उत्पादकको मागमा समेत दबाब परिरहेको छ। यसले मेमोरी चिपको मूल्य वृद्धिको गति सुस्त बनाएको छ। सामसङले १० प्रमुख ग्राहकसँग दीर्घकालीन आपूर्ति सम्झौता गरेको र थप १० ग्राहकसँग वार्ता भइरहेको जनाएको छ। कम्पनीले सन् २०३० सम्म आफ्नो कुल उत्पादन क्षमताको ६० देखि ७० प्रतिशत हिस्सा यस्ता सम्झौताअन्तर्गत बिक्री गर्ने लक्ष्य राखेको छ। कम्पनीका अनुसार एआईसम्बन्धी ठूला कम्पनी र हाइपरस्केलरमा मात्र सीमित नरही मोबाइल तथा अटोमोबाइल क्षेत्रका ग्राहकसँग पनि दीर्घकालीन बिक्री सम्झौता विस्तार गरिरहेको छ। विश्लेषकहरूका अनुसार सामसङको फाउन्ड्री व्यवसाय अझै घाटामा छ। यसले कम्पनीको चिप विभागको आम्दानीमा असर पारेको छ। यद्यपि, सामसङले एचबीएम चिपका लागि आवश्यक लजिक डाइको बिक्री तथा हाइपरस्केलर र अन्य एआई ग्राहकबाट उन्नत दुई नानोमिटर चिप उत्पादनका लागि नयाँ अर्डर प्राप्त भएपछि फाउन्ड्री व्यवसायको आम्दानीमा उल्लेख्य सुधार भएको जनाएको छ। कम्पनीले अर्को वर्ष अमेरिकाको टेक्सासस्थित टेलर कारखानामा चिपको व्यावसायिक उत्पादन सुरु गर्नेछ। उक्त कारखानामा टेस्लाका लागि चिप उत्पादन गरिनेछ। साथै, उन्नत दुई नानोमिटर चिपको माग पूरा गर्न नयाँ कारखाना निर्माण गर्ने विषयमा पनि विचार गरिरहेको सामसङले जनाएको छ। मेमोरी चिपको लागत बढ्दा सामसङको मोबाइल व्यवसायको नाफामा दबाब परेको छ। यस व्यवसायमा ८०० अर्ब वन घाटा भएको छ। The post एआई चिपको अभाव अझ बढ्ने सामसङको अनुमान, सेयरधनीलाई प्रतिफल दिने योजनाबारे पछि निर्णयगर्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

एप्पलको नयाँ फोल्डेबल फोनमा समस्या, हिन्ज प्रणालीमाथि उठ्यो प्रश्न
प्रविधिJust now

एप्पलको नयाँ फोल्डेबल फोनमा समस्या, हिन्ज प्रणालीमाथि उठ्यो प्रश्न

काठमाडौं । एप्पलको फोल्डेबल फोन आईफोन डुओको भित्री डिस्प्लेमा क्षति पुग्ने समस्या सार्वजनिक भएसँगै यसको हिन्ज प्रणालीको गुणस्तरमाथि प्रश्न उठ्न थालेको छ । फोनको डिस्प्ले चर्किने तथा बिग्रिने घटनाबारे विभिन्न रिपोर्ट सार्वजनिक भइरहेका बेला एप्पलले पनि सीमित संख्याका डिभाइसमा यस्तो समस्या देखिएको स्वीकार गरेको छ ।समस्या देखिएका फोन साट्नका लागि सम्बन्धित प्रयोगकर्तालाई कम्पनीसँग सम्पर्क गर्न एप्पलले आग्रह गरेको छ । ...

आइसिटी समाचार
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
प्रविधिJust now

आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक

प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रुपमा परिचित ‘आइसिटी अवार्ड’ को ११ संस्करणको छनौट प्रक्रिया जारि छ । २०८३ साउनदेखि खुल्ला भएको अवार्डको नोमिनेसन प्रक्रिया मार्फत विभिन्न १६ विधामा ७०० बढीको अनलाइन आवेदन प्राप्त भएको छ । यसैक्रममा ‘क्याटेगरी ए’ अन्तर्गत स्टार्टअप तथा इन्नोभेसन सम्वन्धि ४ विधाको लागि प्राप्त नोमिनेसनहरुबाट सेमि-फाइनलिस्ट सार्बजनिक गरिएको छ। १४ जना बिज्ञ जुरी सदस्य ...

आइसिटी समाचार
पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडका लागि टिम नेपाल सम्मानित
प्रविधिJust now

पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडका लागि टिम नेपाल सम्मानित

काठमाडौं । पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाड (OWAO) मा नेपालको प्रतिनिधित्व गर्न छनोट भएका छ जना विद्यार्थीलाई आज नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) द्वारा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ । “नेपालमा खगोल विज्ञान ओलम्पियाड कार्यक्रम” शीर्षकको उक्त कार्यक्रम कमलपोखरीस्थित रसियन हाउस इन काठमाडौंको सम्मेलन कक्षमा सम्पन्न भएको थियो ।कार्यक्रममा विद्यार्थी, अभिभावक, वैज्ञानिक तथा खगोल विज्ञानमा रुचि राख्नेहरू गरी करिब ३० ...

आइसिटी समाचार
स्पेसएक्सको स्टारफल क्याप्सुलले अमेरिकी वायुसेनाका लागि अन्तरिक्षबाट सामान पुर्‍यायो
प्रविधिJust now

स्पेसएक्सको स्टारफल क्याप्सुलले अमेरिकी वायुसेनाका लागि अन्तरिक्षबाट सामान पुर्‍यायो

अमेरिकी वायुसेनाले हालै अन्तरिक्षमा पठाइएको स्पेसएक्सको स्टारफल कार्गो क्याप्सुलबारे जानकारी सार्वजनिक गरेको छ। क्याप्सुलले अन्तरिक्षमा पुर्‍याएका सामानसमेत सार्वजनिक गरिएको छ। अमेरिकी वायुसेनाको अनुसन्धान प्रयोगशाला (एएफआरएल) ले गोप्य रूपमा विकास गरिएको मानवरहित पुनःप्रवेश यान प्रयोग गरी एक स्थानबाट अर्को स्थानमा रकेटमार्फत सामान पुर्‍याउने परीक्षण पूरा गरेको छ। प्रयोगशालाले सामाजिक सञ्जालमार्फत प्रशान्त महासागरबाट सामानसहितको क्याप्सुल सफलतापूर्वक फिर्ता ल्याइएको पुष्टि गरेको छ। अक्टोबर २६ मा ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play