ब्रिजटाउन। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को बढ्दो जोखिम व्यवस्थापन गर्न स्वतन्त्र र विश्वसनीय निगरानीसहितको अन्तर्राष्ट्रिय ढाँचा बनाउन आह्वान गरेका छन्। बार्बाडोसको राजधानी ब्रिजटाउनमा आयोजित एआई सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै उनले एआईले स्वास्थ्य, शिक्षा र वैज्ञानिक अनुसन्धानमा ठूलो सम्भावना बोकेको भए पनि यसको सुरक्षित र जिम्मेवार प्रयोगका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए। संयुक्त राष्ट्रसङ्घ र बार्बाडोस सरकारले आयोजना गरेको सम्मेलनमा प्रधानमन्त्री मिया मोटलीसहित विभिन्न देशका सरकारी अधिकारी, प्रविधि कम्पनीका प्रतिनिधि, वैज्ञानिक र नागरिक समाजका सदस्य सहभागी थिए। गुटेरेसले एआईका जोखिम पहिचान र उन्नत प्रणालीको निगरानी गर्ने क्षमता सबै देशमा समान नरहेको उल्लेख गर्दै सुरक्षा परीक्षणका साझा विधि विकास गर्न, स्वतन्त्र निगरानी संयन्त्र बलियो बनाउन र अनुभव आदानप्रदान गर्नुपर्ने बताए। प्राविधिक तथा संस्थागत क्षमता कमजोर भएका देशलाई सहयोग गर्नुपर्नेमा पनि उनले जोड दिए। बार्बाडोसकी प्रधानमन्त्री मोटलीले एआई प्रणाली विकास गर्ने कम्पनीलाई त्यसबाट हुन सक्ने क्षतिप्रति जवाफदेही बनाउनुपर्ने बताइन्। एआईका कारण व्यक्ति वा संस्था जोखिममा परेको अवस्थामा सरकारले हस्तक्षेप गर्न सक्ने अधिकार सुरक्षित राख्नुपर्ने उनको भनाइ थियो। सम्मेलनमा एआईका जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समन्वय बढाउने, साझा नियम निर्माण गर्ने र यस प्रविधिको सम्भावनालाई मानवहितमा उपयोग गर्दै नकारात्मक प्रभाव न्यूनीकरण गर्ने विषयमा छलफल भएको थियो।
एआईको जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय ढाँचा बनाउन गुटेरेसको आह्वान

Read Complete Original Article
Published originally on नेपालन्युज






