जनकपुरधाम। उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै लोकआस्थाको महापर्व छठ सम्पन्न भएको छ। बिहान छठ मनाइने स्थान अर्थात् विभिन्न सरोवरमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म मनाइने छठ पर्वको विधिवत् समापन गरिएको हो। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यदेवको आराधना, उपासना तथा पूजा गरिन्छ। बिहान छठ घाटमा व्रतालुसँगै सर्वसाधारणको पनि अर्घ्य दिन उल्लेख्य उपस्थिति रहेको थियो। छठमा प्रसादका रूपमा अर्पण गरिने सामग्री विशेषगरी कृषिमा आधारित उपज हुने भएकाले यस पर्वलाई प्रकृतिपूजाका रूपमा समेत लिने गरिन्छ। कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर छठ पर्वको विधि सुरु गरिन्छ। दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई व्रतालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन्। यस दिन नुन नखाई एक छाक फलाहार गर्ने परम्परा छ। यस पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीमा कठोर निराहार व्रत बसी साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि रहेको छ। षष्ठीका दिन रातभर जाग्राम बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यको पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ। कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छालासम्बन्धी रोग नलाग्ने धार्मिक विश्वास छ। त्यसैगरी पारिवारिक कल्याणका लागि पनि छठ पर्व मनाउने गरिन्छ। यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले पत्नी निकिता पौडेलसँगै जनकपुरधामस्थित गंगासागरमा उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन्।
उदाउँदो सूर्यलाई अर्घ्य (फोटो फिचर)

Read Complete Original Article
Published originally on नेपालन्युज






