काठमाडौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले मुलुकको आर्थिक समृद्धिको आधार उत्पादन, उत्पादनको आधार उद्योग र उद्योगको आधार लगानी तथा उद्यमशीलता रहेको बताएका छन् । उनले उत्पादनमुखी अर्थतन्त्र निर्माण, स्वदेशी उद्योगको प्रवद्र्धन र लगानीमैत्री वातावरण बनाउन सरकार तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।१२औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै अध्यक्ष अग्रवालले नेपाल प्राकृतिक स्रोत तथा सम्भावनाले सम्पन्न मुलुक भए पनि उत्पादनका क्षेत्रमा अपेक्षित प्रगति हुन नसकेको बताए । उत्पादन गर्न सकिने वस्तुहरू समेत आयातमा निर्भर रहनु, युवाहरू रोजगारीका लागि विदेशिनु र पूँजी उत्पादनमूलक क्षेत्रभन्दा अनुत्पादक क्षेत्रमा केन्द्रित हुनु अर्थतन्त्रका प्रमुख चुनौती रहेको उहाँको भनाइ थियो । उनले उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरी व्यापार घाटा न्यूनीकरण, रोजगारी सिर्जना, राजस्व वृद्धि, आयात प्रतिस्थापन र आर्थिक समृद्धिका लक्ष्य हासिल गर्न कठिन हुने बताए । अध्यक्ष अग्रवालले निजी क्षेत्रले प्रशासनिक जटिलता, प्रक्रियागत ढिलाइ, उच्च उत्पादन लागत, कमजोर प्रतिस्पर्धात्मक क्षमता, औद्योगिक जग्गा प्राप्तिमा कठिनाइ, वातावरणीय स्वीकृति तथा पूर्वाधार निर्माणमा हुने ढिलाइजस्ता समस्या सामना गरिरहेको उल्लेख गरे । सरकारले जारी गरेका अध्यादेश तथा कानुनी सुधारका प्रयासलाई सकारात्मक रूपमा लिँदै उहाँले निजी क्षेत्रलाई नियन्त्रण गर्नेभन्दा नियमन, सहजीकरण र प्रोत्साहनमार्फत उद्योग तथा लगानी विस्तार गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरे । लगानीकर्तालाई विकासका साझेदारका रूपमा सम्मान गर्दै स्वदेशी उद्योगलाई संरक्षण मात्र नभई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने नीति आवश्यक रहेको बताए ।नेपालमा उत्पादित वस्तुको स्वदेशमै उपभोग बढाउने र नेपाली उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष अग्रवालले युवा जनशक्तिलाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउन उद्योगको मागअनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा, सीप विकास, अप्रेन्टिसशिप र कार्यस्थलमा आधारित तालिमलाई प्राथमिकता दिनुपर्ने बताए । त्यस्तै, कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स तथा डिजिटल प्रविधिको प्रयोगबाट उद्योगको उत्पादकत्व र प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने उनको भनाइ थियो। नेपाललाई क्षेत्रीय उत्पादन तथा निर्यात केन्द्रका रूपमा विकास गर्ने सोचका साथ भारत, चीन, छिमेकी मुलुक तथा अन्य अन्तर्राष्ट्रिय बजारसँग आर्थिक सहकार्य विस्तार गर्नुपर्ने बताए । अध्यक्ष अग्रवालले उद्योग विभागलाई लगानी प्रवद्र्धन, औद्योगिक सहजीकरण तथा उद्योगीका समस्या समाधान गर्ने प्रभावकारी संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । त्यस्तै उहाँले चेम्बरले उधारो असुली ऐनको प्रारम्भिक मस्यौदा तयार पारी सम्बन्धित मत्रालयमा बुझाएको प्रसङ्ग राख्नु हुँदै ऐन तर्जुमालाई अगाडी बढाउन ढिलाई गर्न नहुने उल्लेख गर्नुभयो । उद्योग विस्तार, उत्पादन वृद्धि, स्वदेशी लगानी प्रवद्र्धन, विदेशी लगानी आकर्षण, गैरआवासीय नेपालीको पूँजी परिचालन, युवालाई स्वदेशमै रोजगारी तथा उद्यमशीलताको अवसर सिर्जना र निर्यात क्षमता विस्तारलाई साझा राष्ट्रिय संकल्प बनाउनुपर्ने उनको भनाइ थियो । उहाँले राष्ट्रिय उद्योग दिवसका अवसरमा उद्योग विभाग, नेपाल सरकार, उद्योगी, लगानीकर्ता तथा श्रमिक वर्गलाई शुभकामना व्यक्त गर्दै औद्योगिक विकास, उत्पादन विस्तार र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए । The post उत्पादन, लगानी र उद्यमशीलता नै आर्थिक समृद्धिको आधार : चेम्बर अध्यक्ष अग्रवाल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
उत्पादन, लगानी र उद्यमशीलता नै आर्थिक समृद्धिको आधार : चेम्बर अध्यक्ष अग्रवाल

Read Complete Original Article
Published originally on कर्पोरट खबर






