काठमाडौं । नेपाली कांग्रेसले उखु किसानको उत्पादनको मूल्य तत्काल निर्धारण गर्न र बाँकी रहेको भुक्तानी अविलम्ब उपलब्ध गराउन सरकारसँग माग गरेको छ। सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासीनताप्रति गम्भीर ध्यानाकर्षण गराएको हो। उखु बजारमा पठाउने समय नजिकिँदै गर्दा मूल्य निर्धारण नहुँदा किसानमा चिन्ता बढेको कांग्रेसको निष्कर्ष छ। बैठकले उखुको मूल्य निर्धारण गर्दा उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउनुपर्ने धारणा अघि सारेको छ। त्यस्तै, उखु किसानले पाउन बाँकी रहेको रकम तत्काल भुक्तानी गराउन पनि कांग्रेसले सरकारसँग माग गरेको छ। बैठकमा आज ४९ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन्। छलफल जारी रहेकाले बैठक भोलि (मंसिर १० गते) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ। बैठकमा रामकृष्ण यादव, राजीव कोइराला, प्रा.डा. गोविन्दराज पोखरेल, सिताकुमारी राना, भरतकुमार शाह, नरेन्द्रकुमार केरुङ, जितनारायण श्रेष्ठ, प्रकाश पन्थ, मुना भुसाल, अञ्जु झा, बालकृष्ण पाण्डेलगायत ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए। बैठकका निर्णयबारे पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका हुन्।
उखुको मूल्य तत्काल निर्धारण गर्न सरकारसँग कांग्रेसको माग, किसानको बक्यौता भुक्तानी गर्न आग्रह

Read Complete Original Article
Published originally on अनलाइनपाना






