काठमाडौं । चीनले अमेरिका–इजरायल र इरानबीचको युद्धलगायत क्षेत्रीय मुद्दामा मध्यपूर्वमा कूटनीतिक सक्रियता बढाएको छ । सोमबार बेइजिङमा विदेशमन्त्री वाङ यीले इरानका वरिष्ठ सुरक्षा अधिकारीसँग भेटवार्ता गरे भने राष्ट्रपति सी चिनफिङले ओमानका सुल्तान हैथम बिन तारिकको राजकीय भ्रमण आयोजना गरे । क्षेत्रीय द्वन्द्व लम्बिँदै जाँदा थप फैलिने जोखिम रहेको उल्लेख गर्दै वाङले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव अली बघेरी कानीसँग संवाद र वार्ता नै अघि बढ्ने एकमात्र व्यावहारिक बाटो भएको बताएको अल जजिराले जनाएको छ । उनले इरानको सार्वभौमसत्ता र सुरक्षाप्रति चीनको समर्थन पनि दोहोर्याए । बेइजिङले युद्ध सुरु हुनुमा अमेरिका र इजरायललाई दोष दिँदै आएको छ । चीन इरानको निकट साझेदार हो । चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार र इरानी कच्चा तेलको प्रमुख खरिदकर्ता पनि हो । तर, पछिल्ला केही हप्ता वा महिनामा युद्ध अन्त्यका लागि चीनले खासै कूटनीतिक पहल नगरेको उनले बताइन् । सोमबारका भेटवार्ताले युद्ध अन्त्यका लागि ठोस प्रगति नभएपछि चीन अधैर्य बन्दै गएको संकेत गर्ने उनको भनाइ छ । चीन वार्ता प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन चाहेको पनि उनले बताइन् । यसैबीच, चिनियाँ विदेश मन्त्रालयले मध्यपूर्वका लागि चीनका विशेष दूत झाई जुनले यसै महिना इरान, ओमान र साउदी अरबको भ्रमण गर्ने घोषणा गरेको छ । राष्ट्रपति सीले ओमानका सुल्तान हैथमलाई स्वागत गरे । सन् १९७८ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता चीन भ्रमण गर्ने उनी पहिलो ओमानी राष्ट्राध्यक्ष हुन् । भेटका क्रममा सीले मध्यपूर्व र खाडी क्षेत्र महाशक्तिहरूको प्रतिस्पर्धा तथा भूराजनीतिक द्वन्द्वको मैदान बन्न नहुने बताए । होर्मुज जलमार्गको मुखमा अवस्थित ओमान यस रणनीतिक जलमार्गको समुद्री यातायातमा महत्वपूर्ण भूमिका खेल्छ । अमेरिका–इरान युद्धका कारण यातायात सीमित हुनुअघि विश्वव्यापी ऊर्जा निर्यातको करिब पाँचौँ भाग यही मार्गबाट ओसारपसार हुन्थ्यो ।
इरान र ओमानसँगको भेटवार्तासँगै चीनले मध्यपूर्वमा कूटनीति तीव्र पार्दै

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






