वासिङटन।अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासमा कुनै ठोस प्रगति हुन नसकेको बताएका छन्। उनले तेहरानका मागहरू अस्वीकार्य, अपमानजनक र हास्यास्पद रहेको टिप्पणी गर्दै तत्काल सम्झौताको सम्भावना नरहेको स्पष्ट पारेका छन्। जी–७ विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन पेरिस प्रस्थान गर्नुअघि फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले विभिन्न मुलुकले अमेरिका र इरानबीच मध्यस्थता गरिरहेको भए पनि वार्ता सफलताको नजिक नपुगेको बताए। राष्ट्रपति डोनाल्ड ट्रम्प कूटनीतिक समाधानको पक्षमा रहेको उल्लेख गर्दै उनले इरानका मागहरू व्यावहारिक नरहेको टिप्पणी गरे। यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई सबै मोर्चामा युद्ध अन्त्य गर्ने तेहरानको प्रस्ताव स्वीकार गर्न वा कडा सैन्य प्रतिकारको सामना गर्न चेतावनी दिएका छन्। आइतबार सामाजिक सञ्जाल एक्समार्फत उनले अमेरिकी मतदाताले आफ्नो निर्णय गरिसकेको उल्लेख गर्दै अब युद्ध अन्त्य गर्ने वा क्षेत्रीय द्वन्द्व चर्काउने भन्ने निर्णय वासिङ्टनको हातमा रहेको बताए। अराघचीले इरानको दुई दिने प्रस्ताव अझै कायम रहेको जनाउँदै सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने शर्त पूरा गर्न अमेरिकालाई आग्रह गरे। प्रस्ताव अस्वीकार गरी युद्ध रोजेमा इरानी सेनाले कडा जवाफ दिने उनको चेतावनी थियो। तेहरानमा पत्रकारहरूसँग कुरा गर्दै अराघचीले अमेरिकी मध्यावधि निर्वाचनको नतिजाका कारण युद्ध अन्त्यका लागि भइरहेका मध्यस्थताका प्रयास रोकिएको बताए। निर्वाचनको परिणामले सबैलाई स्तब्ध पारेको उल्लेख गर्दै उनले मध्यस्थकर्ताहरूले पुनः संवाद सुरु गर्न अनुकूल वातावरण बन्न केही समय लाग्ने बताए। –रासस / एएनआइ
इरान–अमेरिका वार्ता अनिश्चित, दुवै पक्षको कडा अडान

Read Complete Original Article
Published originally on नेपालन्युज






