काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालय निर्वाचनमा हस्तक्षेपको प्रयासमा संलग्न रहेको आरोप सार्वजनिक भएको छ । यो तथ्य सार्वजनिक भएसँगै इजरायली विपक्षी नेता गादी आइजेनकोटले नेतन्याहू अब एक मिनेट पनि सरकारको नेतृत्वमा रहन नसक्ने बताएका छन् । “नेतन्याहू र उनको निकट घेराको आचरणले इजरायली लोकतन्त्रका लागि प्रत्यक्ष र तत्काल खतरा निम्त्याएको छ,” आइजेनकोटले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । इजरायली समाचार च्यानल १२का अनुसन्धानात्मक रिपोर्टअनुसार, नेतन्याहूका चिफ अफ स्टाफ इडो नर्डेनले निर्वाचनको एक दिनअघि प्रहरी आयुक्तको कार्यालयमा सम्पर्क गरी दक्षिणी इजरायलका अरब पार्टी ‘राम’ (युनाइटेड अरब लिस्ट)का कार्यकर्ताबारे गुनासो गरेका थिए । त्यसपछि प्रधानमन्त्री कार्यालयका एक पूर्वकर्मचारीले प्रहरीलाई तीन कार्यकर्ताविरुद्ध गोप्य सूचना दिएका थिए । सोही सूचनाका आधारमा निर्वाचनअघि उनीहरू पक्राउ परेका थिए । तर, पछि उक्त सूचना गलत साबित भएको थियो । कार्यकर्ताविरुद्धको उजुरीलाई बलियो बनाउन प्रहरीको प्रणालीमा जानीजानी गलत सूचना प्रविष्ट गरिएको आशंका छ । यसबारे महान्यायाधिवक्ता गली बहराव–मियाराको कार्यालय र प्रहरीको अनुसन्धान शाखाले छानबिन गरिरहेका छन् । यद्यपि, प्रधानमन्त्रीको कार्यालय र नेतान्याहूको लिकुड पार्टीले आरोप अस्वीकार गरेका छन् । प्रधानमन्त्रीको कार्यालयले च्यानल १२ को रिपोर्टलाई ‘झुटो’ भन्दै नर्डेनले सम्भावित आपराधिक गतिविधिबारे प्रहरीलाई सूचना दिएर नागरिक कर्तव्य पूरा गरेको र कानुनअनुसार काम गरेको दाबी गरेको छ । रिपोर्टमा इजरायली सुरक्षा एजेन्सी सिनबेट प्रमुख डेभिड जिनीले निर्वाचनकै दिन अरब सांसदहरूलाई पक्राउ गर्न र पाँच सांसद्को निगरानी गर्न अनुरोध गरेको दाबीसमेत गरिएको छ । तर, उनीहरूको फोन ट्याप गर्ने प्रस्ताव अन्तिम समयमा रोकिएको थियो । पूर्वसेना प्रमुखसमेत रहेका आइजेनकोटले घटनाको तत्काल छानबिन गर्न र सार्वजनिक भएका विवरणबारे प्रहरी तथा सिन बेटले स्पष्ट पार्न माग गरेका छन् । यता, नेतान्याहूको लिकुड पार्टीले आइजेनकोटको अभिव्यक्तिलाई प्रधानमन्त्रीविरुद्धको ‘गम्भीर उक्साहट’ भन्दै आलोचना गरेको छ । यसअघि, शुक्रबार पनि आइजेनकोटले सत्तामा टिकिरहन नेतन्याहूले निर्वाचनका क्रममा इजरायलका प्यालेस्टिनी नागरिकविरुद्ध ‘जातिवादी र हिंसात्मक’ अभियान चलाएको आरोप लगाएका थिए । यसअघि, नेतन्याहूले निर्वाचनमा विदेशी हस्तक्षेप भएको दाबी गर्दै अरब पार्टीहरूको पक्षमा बाह्य शक्तिहरूले काम गरेको आरोप लगाएका थिए । उनले यहुदी पार्टीहरूलाई ‘राम’ र ‘ज्वाइन्ट लिस्ट’सँग सहकार्य नगर्न आग्रह गरेका थिए । यद्यपि, कतारले इजरायलको निर्वाचनमा हस्तक्षेप गरेको आरोप अस्वीकार गर्दै आएको छ । अलजजिरा
इजरायलमा नेतन्याहूमाथि निर्वाचनमा धाँधली र हस्तक्षेपको आरोप

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






