म्याड्रिड। आवासको बढ्दो मूल्य र जीवनयापनको लागतविरुद्ध स्पेनभरि भएको देशव्यापी प्रदर्शनका क्रममा म्याड्रिड र बार्सिलोनामा प्रहरी तथा प्रदर्शनकारीबीच झडप भएको छ । झडप नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र रबरका गोली प्रयोग गरेको छ । प्रदर्शनमा राजधानी म्याड्रिडमा करिब एक लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी सहभागी भएको अधिकारीहरूले बताएका छन् । सन् २०१२ यताकै पहिलो राष्ट्रव्यापी २४ घण्टे हडतालका क्रममा लाखौँ मानिस सडकमा उत्रिएका थिए । प्रदर्शनका क्रममा मास्क र हुड लगाएका केही समूहले प्रहरीमाथि वस्तु प्रहार गर्नुका साथै आगजनी गरेका थिए । बार्सिलोनामा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । आगामी नोभेम्बर २९ मा हुने मध्यावधि निर्वाचनअघि भएको प्रदर्शनलाई सरकारप्रतिको जनअसन्तुष्टिको सङ्केतका रूपमा हेरिएको छ । आवासको मूल्य नियन्त्रण र सर्वसाधारणलाई सुलभ आवास उपलब्ध गराउन प्रदर्शनकारीले माग गरेका छन् । म्याड्रिडमा प्रदर्शनकारीले घरको आकारका प्लेकार्ड बोकेर ‘हामीसँग घर छैन’ भन्दै नाराबाजी गरेका थिए । बार्सिलोनामा पनि हजारौँले भाडा नियन्त्रणको माग गरेका थिए । प्रदर्शनकारीका अनुसार आम्दानीको ठूलो हिस्सा घरभाडामै खर्च गर्नुपर्ने अवस्था छ । देशका विभिन्न सहरमा भएका प्रदर्शनले सार्वजनिक यातायात र केही व्यावसायिक गतिविधिमा समेत असर पारेको थियो । मजदुर सङ्गठन युजिटीले हडताललाई ठूलो सफलता भने पनि रोजगारदाता सङ्गठनले अधिकांश क्षेत्रमा कामकाज सामान्य रहेको भन्दै यसलाई असफल दाबी गरेको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले सन् २०२७ मा हुनुपर्ने निर्वाचन यसै महिना अगाडि सारेका थिए । उनको अल्पमत सरकारले आवाससम्बन्धी प्रस्तावित सुधारका उपायलाई संसद्बाट पारित गराउन नसकेपछि निर्वाचन घोषणा गरिएको हो । श्रमिक सङ्गठनहरूले आवास सङ्कट समाधानका लागि सरकारमाथि दबाब बढाउन हडताल आह्वान गरेका हुन् ।
आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी प्रदर्शन, प्रहरीसँग झडप

Read Complete Original Article
Published originally on नेपालन्युज


_yjBXnZhBaP.jpg)



