Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

आफ्नै देशमा नालापानीको नियति भोग्दै सुकुम्बासी : बालेन सरकारको शासनमा खोसियो नागरिककाे रसद-पानी !

Share:WhatsAppFacebookX (Twitter)Telegram
आफ्नै देशमा नालापानीको नियति भोग्दै सुकुम्बासी : बालेन सरकारको शासनमा खोसियो नागरिककाे रसद-पानी !
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ११ । इतिहासमा अंग्रेज सेनाले नेपाली वीर सैनिकलाई आत्मसमर्पण गराउन नालापानी किल्लामा पानीको आपूर्ति बन्द गरेको पीडादायी प्रसङ्ग पढिन्छ। पिउने पानीसमेत नपाएर नेपाली योद्धाहरूले भोग्नुपरेको त्यो यातना आज पनि इतिहासको एउटा कहालीलाग्दो अध्यायका रूपमा जीवित छ। तर विडम्बना ! आज आफ्नै देशमा आश्रय खोजिरहेका नागरिकले समेत खाना र पानीको अभावमा छटपटिनुपर्ने अवस्था सिर्जना भएको छ। भक्तपुरको मध्यपुर थिमि नगरपालिका–बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बागमती नदी किनारबाट विस्थापित सुकुम्बासी परिवारको अवस्था अहिले यस्तै दर्दनाक बनेको छ। प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारको विस्थापन तथा पुनर्वास व्यवस्थापनमाथि गम्भीर प्रश्न उठ्ने गरी १९ परिवारका ५९ जना नागरिकलाई होल्डिङ सेन्टर खाली गर्न दबाब दिइएको छ। त्यसमाथि शुक्रबारदेखि खाना र खानेपानीको अभाव भएपछि त्यहाँ रहेका बालबालिका, वृद्धवृद्धा र बिरामीसमेत थप पीडामा परेका छन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरले मंसिर ९ गते सूचना टाँस्दै मंसिर ११ गते दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो। त्यसको अघिल्लो साँझदेखि माइकिङ गरेर स्थान खाली गर्न चेतावनी दिइएको पीडितहरूको भनाइ छ। तर, उनीहरू कहाँ जाने, कसरी बस्ने र बालबालिकाको भविष्य कसरी सुरक्षित गर्ने भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ नपाउँदै बाहिरिनुपर्ने दबाब सिर्जना भएको छ। सबैभन्दा संवेदनहीन पक्ष त के छ भने, होल्डिङ सेन्टरमा यसअघि खाना उपलब्ध गराउँदै आएको शान्ति सेवा गृहले मंसिर ११ गतेदेखि खाना वितरण बन्द गरेको छ। खानेपानीसमेत उपलब्ध नभएको पीडितहरूको गुनासो छ। संस्थाले सरकारी दबाबका कारण खाना दिन छाडेको उनीहरूको आरोप छ। यस्तो आरोपबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने देखिन्छ। आखिर आश्रयस्थल खाली गराउने प्रशासनिक निर्देशनसँगै खाना र पानीको आपूर्ति किन अवरुद्ध भयो ? भोकै बालबालिका, विद्यालय छुट्यो; बिरामीलाई पिउने पानीसमेत भएन होल्डिङ सेन्टरमा खाना पकाउने ग्यास र चुलोसमेत नरहेको अवस्थामा खाद्यान्न आपूर्ति रोकिएपछि बालबालिकासमेत प्रभावित भएका छन्। पीडित परिवारका अनुसार खानाको अभावले केही बालबालिका विद्यालय जानसमेत सकेनन्। बिहान चिया र बिस्कुटको भरमा विद्यालय पठाइएका बालबालिकासमेत यातायातको समस्यामा परेका थिए । उनीहरुलाई विद्यालयबाट हाेल्डिङ सेन्टर ल्याउन स्कुल बसले नमानेर बाटाेमै छाडिदियाे । बिरामीहरू औषधोपचार र खानपानको अभावमा समस्यामा परेको पीडितहरूको गुनासो छ। बालबालिकाले पेटभरि खान नपाउने, बिरामीले पानीसमेत नपाउने र वृद्धवृद्धाले असुरक्षित भविष्यको चिन्तामा दिन बिताउनुपर्ने अवस्था कुनै पनि सभ्य समाजका लागि लज्जास्पद विषय हो। सरकारको पहिलो दायित्व नागरिकलाई सुरक्षित राख्नु हो। तर, सुरक्षित आवासको सुनिश्चितता हुन नसक्दा आश्रयस्थलमै रहेका नागरिकले भोक र प्यासको सामना गर्नुपरेको छ। राज्यले आफ्ना नागरिकलाई यस्तो अवस्थामा पुर्‍याउनुको औचित्य के हो ? एउटै परिवारमाथि पटक–पटक विस्थापनको पीडा यी परिवारको दुःख आजबाट सुरु भएको होइन। काठमाडौंको थापाथलीलगायत बागमती नदी किनारका बस्तीबाट हटाइएपछि उनीहरूको कष्टकर जीवन सुरु भएको हो। घरटहराका सामान र जस्तापाता व्यवस्थित रूपमा निकाल्नसमेत नपाउँदै बस्ती भत्काइएको पीडितहरूको गुनासो छ। त्यसपछि उनीहरूलाई कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा लगिएको थियो। त्यहाँ करिब तीन महिना कष्टकर जीवन बिताइरहेका बेला साउन २६ गते आएको बाढीले उनीहरूका बाँकी रहेका सामानसमेत डुबायो। तरकारी बजारलाई डुबानबाट जोगाउने क्रममा डोजर लगाएर खनिएको भागबाट पानी होल्डिङ सेन्टरतर्फ पसेको र आफूहरू थप पीडित बनेको विस्थापितहरूको गुनासाे छ। त्यसपछि प्रधानमन्त्री कार्यालयका प्रतिनिधि बताउने व्यक्तिहरूले सुरक्षित स्थानमा राख्ने, स्थायी क्षतिपूर्ति र आवासको व्यवस्था गर्ने आश्वासन दिएर उनीहरूलाई बोडेस्थित होल्डिङ सेन्टरमा सारिएको थियाे। तर, सुरक्षित पुनर्वासको आशामा त्यहाँ पुगेका परिवारले पाँच महिनासम्म बन्दीजस्तो जीवन बिताउनुपर्याे । अब त्यही आश्रयस्थलसमेत खाली गर्नुपर्ने अवस्था आएको छ। प्रश्न उठ्छ-पहिले बस्तीबाट विस्थापित गर्ने, त्यसपछि आश्रयस्थलमा राख्ने, सुरक्षित आवासको आश्वासन दिने अनि पुनः त्यही आश्रयस्थलबाट बाहिरिन आदेश दिने सरकारको यो कस्तो पुनर्वास नीति हो ? सरकारका लागि दुई बजेको समयसीमा ठूलो कि नागरिकको भोक र पीडा ? कुनै पनि सरकारका लागि कानुन कार्यान्वयन गर्नु महत्वपूर्ण हुन्छ। सार्वजनिक जग्गा संरक्षण गर्नु, नदी किनारका जोखिमयुक्त बस्ती व्यवस्थित गर्नु र भूमिहीनको पहिचान गर्नु पनि राज्यकै दायित्व हो। तर कानुन कार्यान्वयनको नाममा नागरिकको आधारभूत मानवीय आवश्यकता उपेक्षा गर्न मिल्दैन। होल्डिङ सेन्टर खाली गराउन दिउँसो २ बजेको समयसीमा तोक्न सक्ने प्रशासनले त्यहाँ रहेका बालबालिकाका लागि एक छाक खानाको व्यवस्था किन गर्न सकेन ? पानीको अभावमा छटपटाइरहेका बिरामीलाई खानेपानी उपलब्ध गराउने जिम्मेवारी कसको हो ? वैकल्पिक आवासको टुङ्गो नलागेका परिवारलाई बाहिर निकाल्दा उनीहरू कहाँ पुग्छन् भन्ने प्रश्नको जवाफ कसले दिने ? सरकारले कानुन देखाउन सक्छ, प्रशासनले सूचना टाँस्न सक्छ र सम्बन्धित निकायले अभिलेख पल्टाउन सक्छन्। तर भोक लागेको बालकलाई कानुनको दफा खुवाउन सकिँदैन। तिर्खाएको बिरामीलाई सरकारी सूचना पिलाएर बचाउन सकिँदैन। चिसो रातमा घरविहीन नागरिकलाई प्रशासनिक आदेशले ओत दिन सक्दैन। राज्यको शक्ति नागरिकलाई विस्थापित गर्नमा होइन, उनीहरूलाई सुरक्षित र सम्मानजनक जीवन दिनमा देखिनुपर्छ। यो केवल एउटा होल्डिङ सेन्टर खाली गराउने प्रशासनिक निर्णयको विषय होइन। यो राज्यले आफ्ना सबैभन्दा कमजोर नागरिकलाई कसरी व्यवहार गर्छ भन्ने कुराको परीक्षा हो। यो सरकारको विकास दृष्टिकोण, मानवअधिकारप्रतिको प्रतिबद्धता र संविधानप्रतिको जवाफदेहितासँग जोडिएको गम्भीर विषय हो। सरकारको आदेश ठूलो कि नागरिकको बाँच्न पाउने अधिकार ? कुनै पनि सरकारले सार्वजनिक जग्गा संरक्षण गर्नु पर्छ। नदी किनारका जोखिमयुक्त बस्ती हटाउन सक्छ। अव्यवस्थित सहरीकरण नियन्त्रण गर्न सक्छ। कानुनविपरीत निर्माण भएका संरचनामाथि कारबाही गर्न पनि सक्छ। तर राज्यलाई प्राप्त यी अधिकार असीमित होइनन्। सरकारको अधिकार जहाँ समाप्त हुन्छ, त्यहीँबाट नागरिकको मौलिक अधिकारको प्रश्न सुरु हुन्छ। कुनै नागरिक भूमिहीन हुनु, गरिब हुनु वा सरकारी जग्गामा बसोबास गर्नु उसको आधारभूत मानवअधिकार समाप्त हुने आधार हुन सक्दैन। नागरिकको आर्थिक हैसियत कमजोर भएकै कारण उसलाई खाना, पानी, स्वास्थ्य उपचार र सुरक्षित आवासबाट वञ्चित गर्न मिल्दैन। सरकारले होल्डिङ सेन्टर खाली गराउन सक्छ भन्ने मान्यतालाई स्वीकार गर्ने हो भने पनि अर्को प्रश्नको जवाफ दिनैपर्छ-त्यहाँबाट निकालिएका परिवार कहाँ जाने ? बालबालिका कहाँ सुत्ने ? बिरामीले उपचार कसरी पाउने ? वृद्धवृद्धाले कसको सहारा लिने ? सरकारसँग यी प्रश्नको व्यावहारिक जवाफ र वैकल्पिक व्यवस्था नभएसम्म प्रशासनिक आदेशलाई मात्रै सफल कार्यान्वयन भन्न सकिँदैन। नेपालको संविधानले दिएको अधिकार सरकारले नै किन बिर्सियो ? नेपालको संविधानले नागरिकका लागि केवल बाँच्न पाउने अधिकार मात्र सुनिश्चित गरेको छैन, सम्मानपूर्वक बाँच्न आवश्यक आधारभूत अधिकारसमेत प्रत्याभूत गरेको छ। संविधानको धारा १६ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक दिएको छ। धारा ३५ ले स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्दै प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको अधिकार दिएको छ। त्यसैगरी धारा ३६ ले खाद्यसम्बन्धी हकको व्यवस्था गरेको छ। प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक हुने र खाद्यान्न अभावका कारण जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित रहने अधिकार संविधानले सुनिश्चित गरेको छ। सबैभन्दा महत्वपूर्ण, संविधानको धारा ३७ ले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक प्रदान गरेको छ। धारा ३९ ले बालबालिकाको हक सुनिश्चित गरेको छ। बालबालिकालाई शिक्षा, स्वास्थ्य, पालनपोषण र संरक्षणबाट वञ्चित गर्न नपाइने संवैधानिक मान्यतासमेत यससँग जोडिन्छ। सरकारले कानुन देखाउन सक्छ, प्रशासनले सूचना टाँस्न सक्छ र सम्बन्धित निकायले अभिलेख पल्टाउन सक्छन्। तर भोक लागेको बालकलाई कानुनको दफा खुवाउन सकिँदैन। तिर्खाएको बिरामीलाई सरकारी सूचना पिलाएर बचाउन सकिँदैन। चिसो रातमा घरविहीन नागरिकलाई प्रशासनिक आदेशले ओत दिन सक्दैन। अब प्रश्न उठ्छ- खाना नपाएर विद्यालय जान नसक्ने बालबालिकाको संवैधानिक अधिकारको जिम्मेवारी कसले लिने ? खानेपानी नपाएका बिरामीको स्वास्थ्य अधिकारको रक्षा कसले गर्ने ? आश्रयस्थलबाट निकालिँदा सडकमा पुग्ने परिवारको आवासको अधिकार कसले सुनिश्चित गर्ने ? संविधानको पुस्तकमा मौलिक हक लेखेर मात्र राज्यको दायित्व पूरा हुँदैन। ती अधिकार नागरिकको वास्तविक जीवनमा अनुभूत हुनुपर्छ। अन्यथा संविधानका अक्षर र नागरिकको जीवनबीच ठूलो खाडल सिर्जना हुन्छ। आवासको अधिकारसम्बन्धी ऐन, २०७५ ले के भन्छ ? नेपालमा आवासको अधिकारसम्बन्धी ऐन, २०७५ पनि लागू छ। यो ऐनले आवासको अधिकारलाई कानुनी संरक्षण प्रदान गरेको छ। ऐनको दफा ४ ले नागरिकलाई आफ्नो आवासमा शान्तिपूर्वक बस्न पाउने अधिकारको व्यवस्था गरेको छ। दफा ५ ले सार्वजनिक प्रयोजनका लागि कानुनबमोजिम आवासबाट हटाउनुपर्ने अवस्थामा पुनर्वास वा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने प्रावधान राखेको छ। उक्त दफाले आवासबाट हटाउनुअघि सम्बन्धित नागरिकसँग परामर्श गर्नुपर्ने, पर्याप्त कारणसहित सूचना दिनुपर्ने, प्रभावित व्यक्ति वा परिवारको उचित पहिचान गर्नुपर्ने र अधिकारप्राप्त अधिकारीको उपस्थिति हुनुपर्ने व्यवस्था गरेको छ। रातको समय वा त्यस्तै असुविधाजनक समयमा हटाउन नहुने तथा ज्येष्ठ नागरिक, बिरामी, अपाङ्गता भएका व्यक्ति, बालबालिका, असहाय र गर्भवती महिलाको संरक्षणमा विशेष ध्यान दिनुपर्ने प्रावधानसमेत छ। यस ऐनको पुनर्वाससम्बन्धी व्यवस्थालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ। यद्यपि सार्वजनिक जग्गामा बसोबास गर्ने सबै परिवारको कानुनी हैसियत एउटै हुँदैन र ऐनका प्रत्येक प्रावधान कुन परिवारमा कसरी लागू हुन्छ भन्ने कुरा सम्बन्धित आवास, स्वामित्व र कानुनी अवस्थाका आधारमा परीक्षण गर्नुपर्छ। तर एउटा कुरा स्पष्ट छ-कानुनी हैसियतको विवादले पनि नागरिकलाई आधारभूत मानवीय सुविधाबाट वञ्चित गर्ने अनुमति दिँदैन। अन्तर्राष्ट्रिय कानुनले पनि जबर्जस्ती विस्थापनमा लगाएको छ सीमा नेपाल अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्र हो। त्यसैले नेपालले आफ्ना नागरिकप्रति राष्ट्रिय संविधान र कानुनको मात्र होइन, अन्तर्राष्ट्रिय प्रतिबद्धताको समेत पालना गर्नुपर्छ। संयुक्त राष्ट्रसंघको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा ११ ले प्रत्येक व्यक्तिलाई पर्याप्त जीवनस्तर र पर्याप्त आवासको अधिकार सुनिश्चित गरेको छ। यस महासन्धिको व्याख्या गर्ने संयुक्त राष्ट्रसंघीय आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार समितिको सामान्य टिप्पणी नम्बर ७ ले जबर्जस्ती निष्कासनका विषयमा महत्वपूर्ण मापदण्ड निर्धारण गरेको छ। यसअनुसार नागरिकलाई आवासबाट हटाउनुअघि प्रभावित समुदायसँग वास्तविक परामर्श गर्नुपर्ने, सम्भव भएसम्म वैकल्पिक उपाय खोज्नुपर्ने, पर्याप्त समयअगावै सूचना दिनुपर्ने, कानुनी उपचारको अवसर उपलब्ध गराउनुपर्ने र विस्थापनबाट मानिसहरू घरविहीन हुने अवस्था रोक्नुपर्ने हुन्छ। त्यस्तै, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १७ ले व्यक्तिको घर, परिवार र निजी जीवनमा मनपरी वा गैरकानुनी हस्तक्षेप हुन नहुने व्यवस्था गरेको छ। बालअधिकारसम्बन्धी महासन्धिको धारा ३ ले बालबालिकासँग सम्बन्धित सबै काममा उनीहरूको सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्ने सिद्धान्त स्थापित गरेको छ। धारा २७ ले बालबालिकाको पर्याप्त जीवनस्तरको अधिकारलाई मान्यता दिएको छ र आवश्यक अवस्थामा राज्यले अभिभावकलाई सहयोग गर्नुपर्ने व्यवस्था गरेको छ। यसको अर्थ, सुकुम्बासी बस्ती हटाउने निर्णय गर्दा त्यहाँका बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र आवासमा पर्ने असरलाई बेवास्ता गर्न पाइँदैन। संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले पनि जबर्जस्ती निष्कासनलाई आवास, खाना, पानी, स्वास्थ्य, शिक्षा र मानवीय मर्यादासँग जोडिएका अधिकारको गम्भीर उल्लङ्घनको जोखिमका रूपमा व्याख्या गरेको छ। संयुक्त राष्ट्रसंघले समेत नेपालको विस्थापन प्रक्रियामाथि प्रश्न उठाइसकेको छ काठमाडौं उपत्यकाका नदी किनारका बस्तीबाट विस्थापन गरिएको विषयमा संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले समेत गम्भीर चासो व्यक्त गरेका छन्। उनीहरूले पर्याप्त सुरक्षा उपाय र पुनर्वासको सुनिश्चितताबिना नागरिकलाई विस्थापित गरिएको विषयमा चिन्ता व्यक्त गर्दै नेपाललाई अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी दायित्व र आफ्नै संवैधानिक संरक्षणको पालना गर्न आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघका विज्ञहरूले अस्थायी होल्डिङ सेन्टरमा राख्दैमा पर्याप्त आवासको अधिकार पूरा नहुने र योजनाबद्ध विस्थापनका क्रममा सरकारले उचित पुनर्वासको व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् । यसले देखाउँछ-सुकुम्बासी विस्थापनको विषय केवल सरकार र केही परिवारबीचको प्रशासनिक विवाद होइन। यो नेपालको अन्तर्राष्ट्रिय मानवअधिकार प्रतिबद्धतासँग जोडिएको विषयसमेत हो। कागजमा जग्गा देखिँदैमा नागरिकको आवासको समस्या समाधान हुँदैन सरकार तथा जिल्ला प्रशासन कार्यालयले केही परिवारका सदस्यको नाममा अन्यत्र जग्गा देखिएको र केही परिवारका हकमा जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढेको तर्क प्रस्तुत गरेका छन्। जग्गा नभएका परिवारलाई मासिक १५ हजार रुपैयाँका दरले तीन महिनाको घरभाडा उपलब्ध गराउने व्यवस्था रहेको प्रशासनको भनाइ छ। तर, सरकारी अभिलेखमा जग्गा देखिनु र व्यवहारमा सुरक्षित बसोबासको व्यवस्था हुनु फरक कुरा हुन्। कुनै व्यक्तिको नाममा गाउँमा जग्गा छ भने त्यो जमिन बसोबासयोग्य छ कि छैन ? त्यहाँ घर छ कि छैन ? खेतीपाती वा रोजगारीको अवसर छ कि छैन ? परिवारका सदस्यले जीविका चलाउन सक्छन् कि सक्दैनन् ? यी सबै प्रश्नको उत्तर नखोजी केवल लालपुर्जा वा अभिलेखका आधारमा परिवारलाई आवासको सुविधा प्राप्त भइसकेको निष्कर्षमा पुग्नु न्यायोचित हुँदैन। भूमिहीनको पहिचान गर्दा वास्तविक अवस्था, पारिवारिक संरचना, आर्थिक अवस्था र जग्गाको उपयोगितालाई समेत मूल्याङ्कन गर्नुपर्छ। तीन महिनाका लागि दिइने घरभाडाले दीर्घकालीन आवासको समस्या समाधान गर्दैन। आज १५ हजार रुपैयाँ पाएर तीन महिना बस्ने व्यवस्था भए पनि त्यसपछि ती परिवार कहाँ जाने भन्ने प्रश्न अनुत्तरित रहन्छ। सरकारले राहतलाई पुनर्वास र पुनर्वासलाई स्थायी आवासको विकल्पका रूपमा प्रस्तुत गर्नु हुँदैन। बालबालिकाको भविष्यलाई राजनीतिक र प्रशासनिक प्रयोगको विषय नबनाइयोस् सुकुम्बासी समस्याको सबैभन्दा पीडादायी पक्ष बालबालिकाले भोग्नुपरेको असर हो। उनीहरू न त बस्ती बसाउने निर्णयमा सहभागी थिए, न त नदी किनारमा घर बनाउने निर्णयमा उनीहरूको भूमिका थियो। उनीहरू त आफ्ना अभिभावकसँगै जीवन बिताइरहेका निर्दोष बालबालिका हुन्। तर आज उनीहरूले घर भत्किएको देखेका छन्, आश्रयस्थल परिवर्तन भएको भोगेका छन्, बाढीले सामान बगाएको देखेका छन् र अहिले खाना तथा पानीको अभावसमेत झेलिरहेका छन्। विद्यालय जाने उमेरमा उनीहरूले असुरक्षा र विस्थापनको चिन्ता बोक्नुपरेको छ। बालबालिकाको मनोविज्ञान, स्वास्थ्य र शिक्षामा यस्तो परिस्थितिले पार्ने असर सामान्य विषय होइन। सरकारले विकासको नाममा संरचना भत्काउन सक्छ, तर बालबालिकाको भविष्य भत्काउने अधिकार कसैलाई छैन। राज्यको शक्ति कमजोर नागरिकमाथि होइन, उनीहरूको सुरक्षामा देखिनुपर्छ बालेन नेतृत्वको सरकारले परिवर्तन, सुशासन र व्यवस्थित सहरको अवधारणालाई अघि सारेको छ। व्यवस्थित सहर निर्माण गर्नु गलत होइन। सार्वजनिक जग्गा संरक्षण गर्नु पनि आवश्यक छ। तर सुशासनको अर्थ केवल डोजर चलाउनु, सूचना टाँस्नु र प्रशासनिक आदेश कार्यान्वयन गर्नु मात्र होइन। सुशासनको वास्तविक अर्थ राज्यका सबैभन्दा कमजोर नागरिकले पनि न्याय, सुरक्षा र सम्मान पाउनु हो। यदि सहर सफा बनाउने नाममा गरिब नागरिकको जीवन असुरक्षित बनाइन्छ भने विकासको सामाजिक अर्थमाथि प्रश्न उठ्छ। यदि सार्वजनिक जग्गा संरक्षण गर्ने नाममा नागरिकलाई वैकल्पिक आवासबिना सडकमा पुर्‍याइन्छ भने राज्यको पुनर्वास नीतिमाथि प्रश्न उठ्छ। यदि प्रशासनिक आदेशसँगै खाना र पानीको आपूर्ति बन्द हुने अवस्था आउँछ भने राज्यको मानवीय संवेदनशीलतामाथि प्रश्न उठ्छ। नालापानीमा अंग्रेजले पानी रोक्दा नेपालीले आफ्नो देश र स्वाभिमानका लागि लडेका थिए। आज त्यही देशका नागरिकले आफ्नै सरकारसँग पानी, खाना र बस्ने ठाउँको याचना गर्नुपर्ने अवस्था आउनु हाम्रो लोकतन्त्रका लागि गम्भीर आत्मसमीक्षाको विषय हो। अहिले बोडेमा रहेका परिवारले मागेको कुरा कुनै विलासी सुविधा होइन। उनीहरूले खोजेको छानो हो, खानाका लागि गाँस हो, पिउनका लागि पानी हो र आफ्ना बालबालिकाको सुरक्षित भविष्य हो। यी कुनै दया वा कृपाका विषय होइनन्। यी नागरिकका आधारभूत अधिकार हुन्। सरकारले तत्काल होल्डिङ सेन्टरमा खानेपानी, खाद्यान्न र स्वास्थ्य सेवाको सुनिश्चितता गर्नुपर्छ। प्रभावित परिवारको वास्तविक अवस्था पुनः छानबिन गर्नुपर्छ। जग्गा र आवासको स्वामित्वसम्बन्धी विवादलाई निष्पक्ष रूपमा टुङ्ग्याउनुपर्छ। दीर्घकालीन पुनर्वासको ठोस योजना र कार्यान्वयनको समयसीमा सार्वजनिक गर्नुपर्छ। वैकल्पिक आवासको सुनिश्चितताबिना कुनै पनि परिवारलाई घरविहीन बनाउने परिस्थिति सिर्जना गर्नु हुँदैन। सरकारले बुझ्नुपर्छ-राज्य नागरिकभन्दा ठूलो हुन सक्छ, तर नागरिकको अधिकारभन्दा ठूलो हुन सक्दैन। नालापानीमा अंग्रेजले पानी रोक्दा नेपालीले आफ्नो देश र स्वाभिमानका लागि लडेका थिए। आज त्यही देशका नागरिकले आफ्नै सरकारसँग पानी, खाना र बस्ने ठाउँको याचना गर्नुपर्ने अवस्था आउनु हाम्रो लोकतन्त्रका लागि गम्भीर आत्मसमीक्षाको विषय हो। अन्ततः सरकारको सफलता कति घर भत्कायो भन्ने तथ्याङ्कले होइन, कति घरविहीनलाई सुरक्षित आवास दिन सक्यो भन्ने परिणामले मापन हुनुपर्छ। नागरिकको थाल रित्तो बनाएर, धारामा पानी बन्द गरेर र बालबालिकाको भविष्य अनिश्चित बनाएर व्यवस्थित सहरको सपना पूरा हुँदैन। लोकतन्त्रमा सरकार नागरिकको अभिभावक हो, नागरिक सरकारको बोझ होइन। राज्यले यही सामान्य सत्य बिर्सियो भने परिवर्तनका जतिसुकै आकर्षक नारा लगाए पनि त्यसको अर्थ जनताका लागि रहँदैन।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
PoliticsJust now

रास्वपाले ६ प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

गोरखापत्र अनलाइनकाठमाडौँ, मङ्सिर ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टीका प्रवक्ता जगदीश खरेलका अ... ...

गोरखापत्र
रास्वपाको प्रदेशस्तरीय प्रशिक्षण भोलिदेखि, कर्णालीबाट सभापति लामिछानेले उद्घाटन गर्ने
PoliticsJust now

रास्वपाको प्रदेशस्तरीय प्रशिक्षण भोलिदेखि, कर्णालीबाट सभापति लामिछानेले उद्घाटन गर्ने

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मङ्सिर १४ र १५ गते प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ । अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए । कर्णाली प्रदेशस्तरीय […] ...

काठमाण्डुपाटी
उम्मेदवार छनोट प्रक्रिया पारदर्शी बनाउन रास्वपाले बनायो क्यान्डिडेट क्लब समिति
PoliticsJust now

उम्मेदवार छनोट प्रक्रिया पारदर्शी बनाउन रास्वपाले बनायो क्यान्डिडेट क्लब समिति

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन क्यान्डिडेट क्लब समिति गठन गरेको छ। समितिको संयोजकमा कविन्द्र बुर्लाकोटी रहेका छन् भने सदस्यहरूमा डा. नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव र पारसमणि गेलाल रहेका छन्। समितिको आज बसेको बैठकले उम्मेदवार छनोट प्रक्रियालाई निष्पक्ष […] ...

काठमाण्डुपाटी
रास्वपाको क्याण्डिडेट क्लब : डा. नमिता यादवदेखि हिमेश पन्तसम्म सदस्य
PoliticsJust now

रास्वपाको क्याण्डिडेट क्लब : डा. नमिता यादवदेखि हिमेश पन्तसम्म सदस्य

काठमाडौं, मंसिर ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न क्याण्डिडेट क्लब समिति गठन गरेको छ। समितिका संयोजक कविन्द्र बुर्लाकोटीकाे शिफारिसमा पार्टीले सदस्यहरू मनाेनित गरेकाे हाे । जसमा डा. नमिता यादव, सुलभ खरेल, शिव यादव, पारसमणि गेलाल र हिमेश पन्त सदस्य रहनुभएको छ। क्याण्डिडेट क्लब समितिको आज बसेको बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement