नेपाल भौगर्भिक समाजको आयोजनामा १२औँ नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै छ। समाजका महासचिव शिवकुमार बाँस्कोटाले आज मंसिर ३ देखि ५ गतेसम्म सम्मेलनको आयोजना गरिएको जानकारी दिए।

अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न २७ देशबाट ३५० भन्दा बढी भूगर्भविद्, वैज्ञानिक, अनुसन्धानकर्ता तथा विज्ञको सहभागिता रहने महासचिव बाँस्कोटाले बताए।

सम्मेलनको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम तय भएको छ। हिमालय क्षेत्रको भूगर्भीय अवस्था, भूगर्भ विज्ञानका नवीनतम अनुसन्धान तथा उपलब्धि, प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा पर्वतीय क्षेत्रको दिगो विकाससम्बन्धी वैज्ञानिक ज्ञान र अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

सम्मेलनमा विभिन्न विषयगत क्षेत्रका १७० वैज्ञानिक प्रस्तुति, सात वटा मुख्य सत्र, पाँच वटा विशेष वैज्ञानिक सत्र सञ्चालन हुनेछन्। सम्मेलनमा विश्वविद्यालय, सरकारी निकाय, विकास साझेदार संस्था, व्यावसायिक तथा प्राज्ञिक समाजका प्रतिनिधिको सहभागिता रहने समाजले जनाएको छ।

कार्यक्रममा भूगर्भ विज्ञान तथा यससँग सम्बन्धित प्रविधि र सेवासँग आबद्ध संस्थाले आफ्ना उत्पादन तथा सेवाबारे जानकारी दिने उद्देश्यले प्रदर्शनी कक्ष समेत राखिएको महासचिव बाँस्कोटाले बताए।

सम्मेलनले हिमालय क्षेत्रको भूगर्भीय अनुसन्धानलाई थप सुदृढ बनाउनाका साथै भू–विपद् जोखिम न्यूनीकरण, पूर्वाधार विकास, खनिज तथा प्राकृतिक स्रोतको दिगो उपयोग र नीतिगत निर्णय प्रक्रियामा वैज्ञानिक ज्ञानको प्रभावकारी उपयोगमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

आजदेखि भौगर्भिक सम्मेलन, २७ देशका ३५० जना सहभागी हुने

Read Complete Original Article
Published originally on पर्दाफास