Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

आजदेखि छठ पर्व सुरु, मिथिलामा छठको विशेष तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजदेखि छठ पर्व सुरु, मिथिलामा छठको विशेष तयारी
Photo / Coverage: केन्द्रबिन्दु

महोत्तरी । दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु हुँदै गरेको छठ पर्वका अवसरमा मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । चार दिनसम्म मनाइने यस पर्वको तयारीमा स्थानीयवासी जुटेका छन् । आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारीस्वरूप मिथिला क्षेत्रका घरघरमा छठका गीत गुञ्जिन थालेका छन् । सूर्यदेव र षष्ठीदेवी (छठीमाता)को महिमा गाइने भक्तिगीतले मिथिलाको वातावरण छठमय बनेको छ । पर्वको तयारीका लागि स्थानीयवासी नदीकिनार, पोखरी तथा धार्मिक महत्वका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन् । विशेषगरी युवा छठघाट निर्माण तथा सजावटमा सक्रिय देखिएका छन् । बाँसका भाटा र झिक्रा प्रयोग गरी बनाइएका घरका भित्ता लिपपोत तथा रङरोगन गरेर सजाउने काम पनि भइरहेको छ । सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन् । धनी, गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ पर्व मनाउने तयारी गरेका छन् । छठको तयारीसँगै स्थानीयवासीको दैनिकी पनि पर्वकेन्द्रित बनेको छ । भेटघाट र कुराकानीदेखि घरायसी कामकाजसम्म छठकै तयारीमा केन्द्रित हुन थालेको बर्दिबास–१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताए । मिथिला क्षेत्रका बजारमा छठ पूजाका सामग्री किन्नेको भीड लागेको छ । केराका घरीसहित पर्वमा आवश्यक सामग्रीको बिक्री बढेको छ । स्थानीय किसानले छठ पूजामा प्रयोग हुने उखुका लाँक्रा, अदुवा, बेसारका बोट, मुठा, ज्यामिर र जटासहितका सामग्री बजारमा ल्याउने तयारी गरिरहेका छन् । यस्ता सामग्रीको बिक्री शनिबार मुख्य रूपमा हुने जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष शिवचन्द्र चौधरीले बताए । यसैगरी छठ पूजाका सामग्री राख्न तथा अन्य प्रयोजनका लागि बाँसका चोया र कप्टेराबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको बिक्री पनि साप्ताहिक हाटबजारमा बढेको छ । बत्ती बाल्न प्रयोग हुने दियो, दही जमाउने छ्याँची, पूजासम्बन्धी सामग्री राख्ने टौला, पानी राख्ने अङ्खरा र गाग्रीलगायत माटाका भाँडाको बजार पनि बढेको छ । छठमा नयाँ भाँडामा पूजासामग्री राख्ने परम्पराका कारण बाँसका सामग्री र माटाका भाँडाको माग बढेको हो । घरघरमा छठको प्रसाद तयार गर्ने चटारो पनि बढेको छ । ठकुवा र भुसुवासहितका प्रसाद बनाउन गृहिणी व्यस्त छन् । चामल र गहुँको पिठो घरमै ढिकी र जाँतोमा कुट्ने तथा पिँध्ने परम्परा अझै कायम छ। शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने यस पर्वमा परिवारका सदस्यको सहयोगमा प्रसाद तयार गरिन्छ । मिथिलानी अर्थात् मिथिलाका महिलाहरू छठका लागि चामल र गहुँको पिठो तयार गर्न व्यस्त छन् । भङ्गाहा–४ रामनगरकी ५५ वर्षीया शान्तिदेवी साहले छठको तयारीमा निष्ठा सबैभन्दा महत्त्वपूर्ण पक्ष रहेको बताए । मिथिलामा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाइन्छ । पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुने छठमा दोस्रो दिन ‘खरना’ गरिन्छ । तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ । छठ पर्वमा पुराना मनमुटाव बिर्सेर सबै एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्छन् । छठघाटमा जातीय तथा सामुदायिक विभेद नगरी सबैले एकै लहरमा बसेर पर्व मनाउने परम्परा छ । पर्वको तयारीमा सहभागी हुँदा धार्मिक आस्थाले मानिसलाई विनम्र र सहयोगी बनाउने स्थानीयवासीको विश्वास छ । सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यस पर्वले मंगल र कल्याण गर्ने जनविश्वास रहिआएको छ । रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीमफेदी दुर्घटनाका १४ मृतकको शव हेटौंडा अस्पतालमै, क्षतिपूर्तिसहितका माग राख्दै आफन्तले बुझेनन्
Latest NewsJust now

भीमफेदी दुर्घटनाका १४ मृतकको शव हेटौंडा अस्पतालमै, क्षतिपूर्तिसहितका माग राख्दै आफन्तले बुझेनन्

मृतकका आफन्तले क्षतिपूर्ति, रोजगारी र उपचारको व्यवस्था लगायतका माग राखेपछि शव बुझ्न अस्वीकार गरेका हुन्। ...

कान्तिपुर
मोरङमा महिलाको शव फेला
Latest NewsJust now

मोरङमा महिलाको शव फेला

• मोरङको केराबारी गाउँपालिका–२ फैबामा एक महिलाको शव जंगलमा फेला परेको छ, जसको पहिचान पार्वती लिम्बूको रूपमा भएको छ। • शव अर्धनग्न अवस्थामा भेटिएको र शरीरमा बाहिरी चोटपटक नदेखिएको छ, तर मृत्युको कारण अझै खुल्न सकेको छैन। • लिम्बूको पति–पत्नीबीच विवाद हुने गरेको र घटनाको अनुसन्धानका लागि फरेन्सिक टोली घटनास्थलमा पठाइएको छ। ...

नेपालबहस
छठको पूजाका लागि तयार हुदै धनगढीको मोहना घाट
Latest NewsJust now

छठको पूजाका लागि तयार हुदै धनगढीको मोहना घाट

• आजदेखि छठ पर्वको शुरुआत भएको छ, जसको पहिलो दिन नहाय-खाय विधि गरिन्छ। • धनगढीको मोहना घाटको सजावट ८५ प्रतिशत पूरा भएको छ र करिव २ सय वर्तालुले सूर्यलाई जल चढाउने तयारी गरिएको छ। • सुरक्षाका लागि प्रशासन र प्रहरीलाई आग्रह गरिएको छ, र सष्टि तिथिको राती २-३ हजार व्यक्तिको आगमनको अनुमान गरिएको छ। ...

नेपालबहस
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा महिलाको मृत्यु, चार घाइते
Latest NewsJust now

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा महिलाको मृत्यु, चार घाइते

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१५ स्थित ज्योति आयल स्टोर नजिक मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । विहिबार साँझ धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०२००३ प ८१५५ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा दुवै सवारीसाधनमा सवार पाँच जना घाइते भएका ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play