काठमाडौं। प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले सङ्गठनको आन्तरिक रणनीति र संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयमा बुधबार पदबहालीपश्चात् आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले अनधिकृत सूचना चुहावटप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट पारेका छन्। महानिरीक्षक केसीले प्रहरी कर्मचारीहरूलाई विधिको शासन पालना गराउने क्रममा सङ्गठनप्रति पूर्ण बफादार रहन आग्रह गरेका छन्। ‘विधिको शासन पालना गराउने क्रममा सङ्गठनप्रति पूर्ण बफादार रही कुनै पनि प्रलोभन, प्रभाव वा दबाबबाट मुक्त भई नागरिकको हकहित र कानुनी राज्यको पालना सुनिश्चित गर्न उच्च नैतिक चरित्र र व्यावसायिक इमानदारी सबै प्रहरी कर्मचारीबाट प्रदर्शन हुने अपेक्षा लिएको छु,’ उनले भने। उनले सङ्गठनको प्रतिष्ठा र नागरिकको विश्वासलाई केन्द्रमा राख्दै सबै प्रहरी कर्मचारीहरू एक ढिक्का भएर नेपाल सरकार र आमनागरिकको अपेक्षाअनुरूप काम गर्न आवश्यक रहेको बताए। सेवाको स्तर र नागरिकप्रति गरिने व्यवहार सुधारको क्षेत्र रहेको उल्लेख गर्दै उनले प्रहरी कर्मचारीहरूलाई थप जनउत्तरदायी बन्न निर्देशन दिएका छन्। प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन उपलब्ध साधनस्रोतको उच्चतम उपयोग गर्ने र कल्याणकारी कार्यहरूमा जोड दिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। उनले प्रहरीको कार्यगत स्वायत्तता, सेवा विशिष्टीकरण र क्षमतामा आधारित वृत्तिविकास प्रणालीको प्रवद्र्धनका लागि सरकारसँग सार्थक पहल गरिने जानकारी दिए। गृहमन्त्री सुधन गुरुङबाट दर्ज्यानी चिह्नद्वारा सुशोभित भएपछि केसीले पदभार ग्रहण गरेका हुन्। पदबहालीका क्रममा उनले अमर प्रहरी स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जली अर्पण गरेका थिए। यसैबीच, प्रहरी महानिरीक्षक केसीको उपस्थितिमा बसेको नीतिनिर्माण समितिको बैठकले मुलुकमा शान्तिसुरक्षा र अमनचयन मजबुत बनाउन विस्तृत सुरक्षा योजना कार्यान्वयन गर्ने निर्णय गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिएका छन्।
आईजीपी केसीको निर्देशन- संवेदनशील सूचना नचुहाउनू

Read Complete Original Article
Published originally on नेपालन्युज





