आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुपको ‘ग्रुप भाइस प्रेसिडेन्ट’ पदमा नियुक्त गरेको छ । नवनियुक्त भाइस प्रेसिडेन्ट खड्काले आईएमई समूहअन्तर्गतका विभिन्न व्यवसायहरूबीच रणनीतिक सहकार्यको नेतृत्व गर्नेछन् । समूहका कम्पनीहरूबीचको विशेषज्ञता, प्रविधि, बजार पहुँच र वितरण सञ्जाललाई आपसमा जोडेर प्रत्येक व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने तथा समग्र समूहको दीर्घकालीन ब्रान्ड भ्यालु बढाउने खड्काको मुख्य जिम्मेवारी रहनेछ । यसअन्तर्गत नयाँ सेवा र साझेदारी विकास गर्ने, ग्राहक अनुभवमा सुधार ल्याउने तथा नेपालको डिजिटल अर्थतन्त्रमा समूहको योगदान विस्तार गर्ने कार्यहरू प्राथमिकतामा रहनेछन् । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खड्कासँग १५ वर्षभन्दा लामो कार्य अनुभव छ । यसअघि ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहिसकेका उनीसँग विभिन्न डिजिटल वित्तीय सेवा व्यवसायको नेतृत्वदायी भूमिकामा रहेर काम गरेको अनुभव पनि छ । आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले खड्कालाई समूहमा स्वागत गर्दै उनको आगमनले समूहका हरेक कम्पनीलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे । डिजिटल रूपान्तरणलाई विस्तार तथा सुदृढ गर्दै नयाँ अवसर सिर्जना गर्न खड्का सफल हुनेमा आफू विश्वस्त रहेको ढकालले बताए । त्यस्तै, नवनियुक्त ग्रुप भाइस प्रेसिडेन्ट खड्काले आईएमई ग्रुपका प्राथमिकता र सरोकारवालाहरूसँगको सहकार्यमा ठोस नतिजा निकाल्न आफ्नो ध्यान केन्द्रित रहने बताए । नेपालको अग्रणी व्यावसायिक समूहका रूपमा परिचित आईएमई ग्रुपले रेमिट्यान्स, बैंकिङ तथा बीमा, डिजिटल वित्तीय सेवा, पर्यटन तथा आतिथ्यता, केबलकार, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, खेलकुद, उत्पादन तथा व्यापारलगायतका विविध क्षेत्रमा लगानी र व्यवसाय विस्तार गर्दै आएको छ ।
आईएमई ग्रुपको ‘ग्रुप भाइस प्रेसिडेन्ट’ मा जगदीश खड्का नियुक्त

Read Complete Original Article
Published originally on पर्दाफास






