काठमाडौं । पर्सि आइतवारदेखि तीन वटा प्रदेशका पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभाव विस्तारै बढ्दो क्रममा रहेको र आइतवारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा मेघगर्जन, चट्याङ तथा असिनासमेत पर्न सक्ने भएकाले काट्न बाँकी रहेको धानबाली भए तत्कालै काटेर सुरक्षित गर्न मौसमविद्को सल्लाह छ । मौसमविद् विभूति पोखरेलकाअनुसार आज देशका धेरै ठाउँमा मौसम सफा छ भने भोलि पनि मौसम यस्तै रहने अनुमान छ । आज र भोलि एक/दुई ठाउँमा हल्का वर्षा भए पनि मौसममा ठूलो परिवर्तन हुने छैन । तर पर्सिदेखि पश्चिमी वायुको प्रभावका कारण मौसममा परिवर्तन आउन सक्ने मौसमविद् पोखरेलले बताउनुभएको छ । आइतवार विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली थोरै ठाउँमा पानी पर्ने अनुमान छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म पनि विस्तार हुन सक्ने मौसमविद् पोखरेलले बताउनुभयो । त्यस्तै बागमती र कोशी प्रदेशका पहाडी एक/दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान महाशाखाको छ । केही ठाउँमा असिना, मेघगर्जन र चट्याङको सम्भावना छ । यसबाट विशेषगरी अहिले खेतमा रहेको धानबाली र काटेर सुकाउन राखिएको परालमा क्षति हुन सक्ने भएकाले किसानलाई चनाखो रहन र पूर्वतयारीसहित भित्र्याउन मौसमविद्को सुझाव छ । ठूलो पानी पर्ने सम्भावना नरहेको तर मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान छ । हिउँदको समयमा हुने वर्षा र हिमपातले हिउँदेबालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउने भएकाले कृषि उत्पादनका दृष्टिले यसलाई सकारात्मक रूपमा पनि लिन सकिने मौसमविद् पोखरेलले बताउनुभयो । पश्चिमी वायुबाट विकसित हुने न्यून चापीय प्रणाली छिटो गतिमा एक ठाउँबाट अर्को ठाउँतर्फ सर्ने प्रकृतिको हुन्छ । त्यसैले केही छिन पानी परेर रोकिने गर्छ । असिना पनि सीमित ठाउँमा पर्ने हुन्छ । मौसमविद् पोखरेलले मौसम पूर्वानुमान तथा परामर्शबारे नियमित अद्यावधिक रहन पनि आग्रह गर्नुभएको छ । The post आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव

Read Complete Original Article
Published originally on कर्पोरट खबर






