काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा नेपालमा २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो एक महिनामा भित्रिएको हालसम्मकै सबैभन्दा ठूलो रेमिट्यान्स रकम हो । यसअघि गत वैशाखमा २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । असोजमा चाडपर्वका कारण विदेशमा रहेका नेपालीले स्वदेशमा बढी रकम पठाएको र रसुवामा आएको बाढीले समेत रेमिट्यान्स आप्रवाह बढाउन भूमिका खेलेको बताइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो । गत भदौमा २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो आर्थिक वर्षको असोजमा भने २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ भित्रिएको थियो । यस वर्षको असोजमा मात्रै गत वर्षको सोही महिनाको तुलनामा रेमिट्यान्स आप्रवाह उल्लेख्य बढेको देखिन्छ । अमेरिकी डलरमा हिसाब गर्दा चालु आर्थिक वर्षको असोजसम्म रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ६० करोड डलर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २९.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ रहेको थियो । यसैबीच, चालु आर्थिक वर्षको असोजसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख २१ हजार ८ सय ७९ रहेको छ । यसमा संस्थागत तथा व्यक्तिगत दुवै माध्यमबाट नयाँ श्रम स्वीकृति लिनेहरू समावेश छन् । त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३ सय ६९ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या १ लाख २३ हजार ४ सय ५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २ सय ५७ थियो ।
असोजमा भित्रियो २ खर्ब ६७ अर्ब रेमिट्यान्स, बन्यो नयाँ रेकर्ड

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






