काठमाडौं । चरिथ असलंकाको अर्धशतकप्रेरित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्ससामु १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको हो । विराटनगरका लागि असलंकाले सर्वाधिक ६४ रन बनाए । उनले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गरे । शुभम रञ्जानेले २४ बलमा ४ चौकाको मद्दतमा अविजित ३१ रन जोडे । ओपनर इमरान शेख २४ रन बनाएर रिटायर्ड हर्ट भए । अर्का ओपनर लोकेश बमले १७ बलमा १५ रन बनाए । त्यस्तै, शेहान जयसूर्या १ र इसुरु उडाना ६ रनमा आउट भए । बसिर अहमद ६ रनमा अविजित रहे । विराटनगर ७० रनमा १ विकेटको अवस्थामा रहँदा शेख रिटायर्ड हर्ट भएका थिए । त्यसपछि क्रिजमा आएका शुभम रञ्जानेसँग मिलेर असलंकाले ७५ रनको महत्वपूर्ण साझेदारी गरे । बलिङतर्फ लुम्बिनीका किशोर महतो, अभिषेक गौतम र रुबेन ट्रम्पलम्यानले समान एक–एक विकेट लिए । किशोरले ४ ओभरमा २४ रन खर्चिए भने अभिषेकले ३ ओभरमा १५ रन मात्र दिए । ट्रम्पलम्यान भने महँगा साबित भए । उनले ४ ओभरमा ५२ रन खर्चिए । प्लेअफमा पुग्ने सम्भावना कायम राख्न विराटनगरलाई यो खेल जित्नैपर्ने दबाब छ । लुम्बिनीसँग पराजित भए विराटनगर प्लेअफ दौडबाट बाहिरिनेछ । त्यसैले विराटनगरका लागि यो खेल निर्णायक बनेको छ ।
असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

Read Complete Original Article
Published originally on नेपालन्युज






