टर्कीमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् । सम्मेलनका क्रममा अर्थमन्त्री वाग्लेले जलवायु वित्तसम्बन्धी करिब एक दर्जन उच्चस्तरीय कार्यक्रममा सहभागिता जनाएका थिए । उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए । त्यस्तै, सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपाललाई नयाँ सदस्यका रूपमा समावेश गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ सम्बन्धी नीतिगत अवधारणा छलफलका लागि प्रस्तुत गरेका थिए । विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान सञ्चालन गर्दै आएकी बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली र विश्व अर्थतन्त्रको ८५ प्रतिशत हिस्सा ओगट्ने जी–२० समूहको आगामी अध्यक्षता गर्न लागेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग पनि अर्थमन्त्रीले भेटवार्ता गरेका थिए । सो क्रममा विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको उनको सचिवालयले जनाएको छ । नेपालले कोप–३१ मा उठाएका विषयमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले अर्थमन्त्री वाग्लेले पाँच प्रभावशाली जलवायु दूतसँग पनि छलफल गरेका थिए । छलफलमा बेलायतकी रेचेल काइट, अस्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमैकाका डेल वेबर र संयुक्त राष्ट्रसङ्घका महासचिवका दूत सेल्विन हार्ट सहभागी थिए ।त्यसैगरी, हरित जलवायु कोषको उच्च नेतृत्वसँग भावी कार्यक्रमबारे छलफल गरेका थिए । जेनेभास्थित विश्व मौसम विज्ञान सङ्गठनको नेपालले समेत लाभ लिएको जलवायु मापन कोषसम्बन्धी कार्यक्रममा पनि उनले सम्बोधन गरेका थिए । The post अर्थमन्त्री वाग्ले स्वदेश फर्किए appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

Read Complete Original Article
Published originally on कर्पोरट खबर






