काठमाडौं। अभिनय क्षेत्रमा रुचि राख्ने तथा कलाकारितामा आफ्नो भविष्य बनाउन चाहने व्यक्तिलाई लक्षित गर्दै सृजना सूत्र प्रालिले एक हप्ते अभिनय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। ‘अभिनय सिकौँ, आफ्नो प्रतिभा प्रस्फुटन गरौँ’ भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रशिक्षणले नवप्रवेशी कलाकारलाई अभिनयका आधारभूत सीपदेखि व्यावहारिक प्रस्तुतिसम्मको ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ। प्रशिक्षणमा रङ्गमञ्चकी कलाकार तथा अभिनय प्रशिक्षक इश्मिता भुसालले सहभागीलाई अभिनयसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गर्नेछिन्। रङ्गमञ्चमा अभिनय र प्रशिक्षणको अनुभवलाई आधार बनाएर उनले सहभागीको अभिनय क्षमता निखार्न सहयोग गर्नेछिन्। एक हप्तासम्म सञ्चालन हुने प्रशिक्षणमा शारीरिक हाउभाउ, आवाजको उतारचढाव, संवाद प्रस्तुति, भावनात्मक अभिव्यक्ति, चरित्र चित्रण, मानसिक एकाग्रता, अभिनय अभ्यास तथा तत्काल अभिनय सिर्जना गर्ने खेलहरू समेटिनेछन्। त्यसैगरी पात्र विश्लेषण तथा चरित्र विकास, श्रव्यदृश्य अभिनयका लागि छनोट परीक्षाको तयारी र अभिनय प्रस्तुति प्रविधिबारे पनि प्रशिक्षण दिइनेछ। चलचित्र तथा मनोरञ्जन क्षेत्रका अनुभवी व्यक्तित्वबाट विशेष अतिथि कक्षा सञ्चालन गर्नुका साथै सहभागीलाई व्यावहारिक प्रदर्शन र अन्तिम प्रस्तुति गर्ने अवसरसमेत प्रदान गरिनेछ। प्रशिक्षणको अन्त्यमा सहभागीलाई प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ। चलचित्र, टेलिभिजन, सङ्गीत दृश्य, रङ्गमञ्च तथा मनोरञ्जन क्षेत्रमा आफ्नो भविष्य निर्माण गर्न चाहने युवायुवतीका लागि प्रशिक्षण उपयोगी हुने अपेक्षा गरिएको छ। अभिनयलाई संवाद बोल्ने कलामा मात्र सीमित नराखी पात्रको भावना बुझ्ने, शरीरको भाषा प्रयोग गर्ने, आवाजलाई प्रभावकारी बनाउने र दर्शकमाझ विश्वसनीय प्रस्तुति दिने समग्र सीप विकासमा प्रशिक्षण केन्द्रित रहनेछ। अभिनय क्षेत्रमा नयाँ यात्रा सुरु गर्न चाहने, आत्मविश्वास बढाउन तथा आफ्नो अभिनय क्षमतालाई व्यावसायिक स्तरमा विकास गर्न इच्छुक व्यक्तिका लागि प्रशिक्षणको सहभागिता शुल्क एक हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ। इच्छुक व्यक्तिका लागि दर्ता खुला गरिएको आयोजकले जनाएको छ।
अभिनय सिक्न सृजना सूत्रको एक हप्ते प्रशिक्षण

Read Complete Original Article
Published originally on नेपालन्युज






