काठमाडौँ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (आश्विन मसान्त) को नाफामा सङ्कुचन आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ६५ करोड ५९ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको (१ अर्ब ६७ करोड ४६ लाख ८९ हजार रुपैयाँ) तुलनामा १.१२ प्रतिशत (१ करोड ८७ लाख ५१ हजार रुपैयाँ) ले कम हो । खुद नाफामा आएको यही सङ्कुचनसँगै कम्पनीको प्रति सेयर आम्दानी (इपिएस) पनि १.१४ प्रतिशत (९ पैसा) ले घटेर गत वर्षको ७ रुपैयाँ ९१ पैसाबाट ७ रुपैयाँ ८२ पैसा मा सीमित भएको छ । कम्पनीको मुख्य व्यवसाय अर्थात् विद्युत बिक्री आम्दानीमा भने सुधार देखिएको छ । समीक्षा अवधिमा विद्युत बिक्री आम्दानी २.२८ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड २८ लाख ६५ हजार रुपैयाँ पुगेको छ । प्रशासनिक तथा आयोजना सञ्चालन खर्च नियन्त्रणमा रहँदा कम्पनीको सञ्चालन नाफा पनि ३.१८ प्रतिशत ले वृद्धि भई २ अर्ब ८० करोड १० लाख ५६ हजार रुपैयाँ पुगेको वित्तीय विवरणले देखाउँछ । तर, सञ्चालन नाफा बढे पनि कम्पनीको मुख्य चुनौतीका रूपमा रहेको भारी ऋणको बोझ र बढ्दो ब्याज खर्चले खुद नाफा तथा इपिएसलाई ऋणात्मक दिशातर्फ धकेलेको हो । २१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हाल ६६ अर्ब ५७ करोड ४७ लाख रुपैयाँ दीर्घकालीन ऋण र चालु वर्षभित्रै तिर्नुपर्ने १ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ गरी कुल ६८ अर्ब ४२ करोड २८ लाख रुपैयाँ बराबरको विशाल ऋण दायित्व रहेको छ । ऋणको ब्याज पुँजीकरण अवधि समाप्त भई नियमित खर्चमा लेखाङ्कन हुन थालेपछि वित्तीय खर्च (ब्याज) एकै त्रैमासमा ९.७० प्रतिशतले बढेर १ अर्ब १४ करोड ७४ लाख ७२ हजार रुपैयाँ पुगेको छ। आम्दानीको झन्डै एक तिहाइ हिस्सा ब्याज भुक्तानीमै खर्च हुँदा नाफा र इपिएसमा प्रत्यक्ष दबाब परेको तथ्याङ्कले देखाएको छ । माथिल्लो तामाकोशीको मुख्य समस्या यसका (६८ अर्ब ४२ करोड र करिब ११ अर्बको सञ्चित नोक्सानी रहेको देखिएको छ । कम्पनीको जगेडा कोष अझै १० अर्ब ९७ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेकाले प्रति सेयर नेटवर्थ गत वर्षको ५३ रुपैयाँ २५ पैसाबाट १.७८ प्रतिशत ले घटेर ५२ रुपैयाँ ३० पैसा मा झरेको छ । कम्पनीले जतिसुकै नाफा कमाए पनि पहिले यो पुरानो नोक्सानी पूर्ति नगरी सेयरधनीलाई लाभांश दिन सक्दैन। साथै, त्रैमासको अन्त्यमा १९३ रुपैयाँमा कारोबार भएको सेयर मूल्य नेटवर्थ (५२.३० रुपैयाँ) को तुलनामा करिब ३.७ गुणा महँगो देखिन्छ । कम्पनीको अल्पकालीन दायित्व तिर्ने क्षमता अर्थात् तरलता अनुपात गत वर्षको १.३८ बाट सुधार भई १.८४ पुगेको छ भने सेयर प्रिमियम कोषमा ८७ करोड ६४ लाख रुपैयाँ यथावत । समीक्षा अवधिमा दोस्रो बजारमा कम्पनीको सेयर अधिकतम २०१ रुपैयाँ, न्यूनतम १७८ रुपैयाँ ९० पैसा र त्रैमासको अन्तिममा १९३ रुपैयाँमा कारोबार भएको थियो । कम्पनीले २०८१ आश्विन ११ र १२ गतेको बाढी पहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरिरहेको र बीमा कम्पनीबाट पूर्ण दाबी भुक्तानी आउन बाँकी रहेको जनाएको छ ।
अपर तामाकोसीको खुद नाफा १ अर्ब ६५ करोड : ६८ अर्बको ऋण बोझ र ब्याज खर्चले प्रति सेयर आम्दानी खुम्चियो

Read Complete Original Article
Published originally on टक्सार






