काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टर र कागेश्वरी पुस्तकालयको संयुक्त आयोजनामा ११८औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती तथा काव्य वाचन कार्यक्रम सम्पन्न भएको छ । कागेश्वरी पुस्तकालय परिसरमा आयोजित कार्यक्रममा महाकवि देवकोटासहित साहित्यकारद्वय भैरव अर्याल र रमेश विकलका पूर्णकदका सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरिएको थियो । कार्यक्रममा ३० भन्दा बढी साहित्यकारले देवकोटाप्रति समर्पित कविता, गीत तथा साहित्यिक रचना वाचन गरेका थिए । अनेसास नेपाल च्याप्टरकी अध्यक्ष मञ्जिला अनिल र कागेश्वरी पुस्तकालयका अध्यक्ष कुमार खड्काको संयुक्त सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य रामेश्वर फुयाँल प्रमुख अतिथि तथा त्रिभुवन विश्वविद्यालयका नेपाली विभागका पूर्वप्रमुख प्राडा.खगेन्द्र लुइँटेल विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा अनेसासका पूर्वकेन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ उपाध्यक्ष तारा अधिकारी, सचिव ऋषभदेव घिमिरेलगायत साहित्यिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो । कार्यक्रममा अनेसास नेपाल च्याप्टरका तर्फबाट कागेश्वरी पुस्तकालयलाई साहित्यलगायत विभिन्न विधाका करिब १५० थान पुस्तक हस्तान्तरण गरिएको थियो । अध्यक्ष मञ्जिला अनिलले देवकोटाको साहित्यिक योगदान नयाँ पुस्तासम्म पुर्याउनु, पठन संस्कृतिको विकास गर्नु र साहित्यिक संस्थाबीच सहकार्य बढाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो । कार्यक्रममा वक्ताहरूले महाकवि देवकोटाको बहुआयामिक व्यक्तित्व, सिर्जनात्मक क्षमता र नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गर्दै उहाँका कृतिको अध्ययन, संरक्षण र प्रचारप्रसारमा जोड दिएका थिए । प्रमुख अतिथि फुयाँलले साहित्यले समाजमा चेतना, नैतिकता र मानवीय संवेदना विकास गर्ने उल्लेख गर्दै राष्ट्र निर्माणमा साहित्यकारहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । काव्य वाचन सत्रमा विभिन्न पुस्ताका साहित्यकारहरूले देवकोटाका साहित्यिक योगदान, मानवीय संवेदना, प्रकृतिप्रेम र जीवनदर्शन झल्किने रचना प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन अनेसास नेपाल च्याप्टरका महासचिव रमेश दाहालले गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष कमला वलीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सभापति कुमार खड्काले देवकोटासम्बन्धी कविता वाचन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रमले साहित्यिक संस्थाबीचको सहकार्य, पुस्तकालयको विकास तथा पठन संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएका छन् ।
अनेसास र कागेश्वरी पुस्तकालयद्वारा ११८औं देवकोटा जयन्ती सम्पन्न

Read Complete Original Article
Published originally on हिमालय टाइम्स



_lyGXrW714C.jpg)


