झापा। झापाको शिवसताक्षीमा तीनपाङ्ग्रे सिटी सफारी अनियन्त्रित भएर सडकबाट करिब तीन मिटर तल खस्दा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। शिवसताक्षी नगरपालिका–१० स्थित माईधारको अधिकारी चोकमा सोमबार बिहान करिब ३ बजे माईधारबाट शिवगञ्जतर्फ जाँदै गरेको अनटेस्ट सिटी सफारी अनियन्त्रित भई सडकको बायाँतर्फ करिब तीन मिटर तल खसेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। दुर्घटनामा परी शिवसताक्षी नगरपालिका–७, चन्द्रडाँगीका ४० वर्षीय हस्त राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ। अनुहारको बायाँ भाग र कानबाट रगत बगेको अवस्थामा गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्याइएको थियो। तर, अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। सिटी सफारीमा सवार सोही स्थानकी ५० वर्षीया गंगा राजवंशी र १२ वर्षीय मुकेश राजवंशी घाइते भएका थिए। दुर्घटनामा गंगाको निधारमा र मुकेशको टाउकोको बायाँ भागमा चोट लागेको थियो। उपचारपछि दुवैजना घर फर्किएका छन्।
अनियन्त्रित सिटी सफारी सडकबाट खस्यो, एकको मृत्यु, दुई घाइते

Read Complete Original Article
Published originally on नेपालन्युज






