मुम्बई । भारतको आर्थिक राजधानी मुम्बईमा सन् २००८ नोभेम्बर २६ मा भएको आतङ्ककारी आक्रमणको आज १८ वर्ष पूरा भएको छ। लस्कर–ए–तैयबाका तालिमप्राप्त र अत्याधुनिक हतियारले सुसज्जित १० जना आक्रमणकारीले मुम्बईका विभिन्न स्थान तथा प्रतिष्ठित भवनलाई निशाना बनाएका थिए। चार दिनसम्म चलेको उक्त आक्रमणमा १६४ जनाको मृत्यु भएको थियो। सन् २००८ नोभेम्बर २६ को राति अचानक मुम्बई गोली र विस्फोटका आवाजले थर्किएको थियो। आक्रमणकारीले दुई पाँचतारे होटल, एक अस्पताल, रेलवे स्टेसन र यहूदी केन्द्रसहितका स्थानमा आक्रमण गरेका थिए। सुरुमा आक्रमणको व्यापकता अनुमान गर्न नसकिए पनि समय बित्दै जाँदा घटनाको गम्भीरता स्पष्ट हुँदै गएको थियो। आक्रमणकै क्रममा आतङ्कवाद निरोधक दस्ताका प्रमुख हेमन्त करकरेसहित मुम्बई प्रहरीका उच्च अधिकारीले ज्यान गुमाएका थिए। लियोपोल्ड क्याफे र छत्रपति शिवाजी टर्मिनसबाट सुरु भएको गोलीबारी ताजमहल होटलसम्म फैलिएको थियो। लियोपोल्ड क्याफे मुम्बईको चर्चित पर्यटकीय गन्तव्य लियोपोल्ड क्याफेमा दुई आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका थिए। विदेशी पर्यटकको बाक्लो उपस्थिति रहने उक्त क्याफेमा मानिसहरूले घटनाबारे बुझ्न नपाउँदै आक्रमणकारीले गोली चलाएर त्यहाँबाट बाहिरिएका थिए। आधिकारिक तथ्यांकअनुसार क्याफेमा भएको गोलीबारीमा १० जनाको मृत्यु भएको थियो। छत्रपति शिवाजी टर्मिनस मुम्बईको व्यस्त रेलवे स्टेसन छत्रपति शिवाजी टर्मिनसमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा ठूलो भागदौड मच्चिएको थियो। अनुसन्धान अधिकारीका अनुसार अजमल आमिर कसाब र इस्माइल खान उक्त आक्रमणमा संलग्न थिए। पछि कसाब पक्राउ परेका थिए भने इस्माइल खान मारिएका थिए। यस स्टेसनमा भएको गोलीबारीमा सबैभन्दा धेरै ५८ जनाको मृत्यु भएको थियो। ओबेराय होटल व्यापारिक वर्गमाझ लोकप्रिय ओबेराय होटलमा पनि आक्रमणकारी ठूलो परिमाणमा गोलीगट्ठासहित प्रवेश गरेका थिए। आक्रमणका बेला होटलमा ३५० भन्दा बढी मानिस रहेको अनुमान गरिएको थियो। आक्रमणकारीले केही व्यक्तिलाई बन्धकसमेत बनाएका थिए। पछि राष्ट्रिय सुरक्षा गार्ड (एनएसजी) का जवानले दुवै आक्रमणकारीलाई मारेर होटललाई नियन्त्रणमा लिएका थिए। ताजमहल होटल गेटवे अफ इन्डियानजिकै रहेको १०५ वर्ष पुरानो ताजमहल होटल पनि आक्रमणको प्रमुख निशाना बनेको थियो। होटलमा रातिको खाना खाने समय भएकाले धेरै मानिस उपस्थित थिए। त्यही बेला अचानक गोलीबारी सुरु भएको थियो। होटलमा लागेको आगो र भएको विस्फोटले आक्रमणको भयावह दृश्य प्रस्तुत गरेको थियो। सरकारी तथ्यांकअनुसार यहाँ ३१ जनाको मृत्यु भएको थियो भने सुरक्षाकर्मीले चार आक्रमणकारीलाई मारेका थिए। कामा अस्पताल सन् १८८० मा निर्माण गरिएको कामा अस्पतालमा पनि आक्रमणकारी प्रवेश गरेका थिए। मुम्बई प्रहरीका अनुसार चार आक्रमणकारीले प्रहरी भ्यान कब्जामा लिएर लगातार गोली चलाउँदै अस्पतालसम्म पुगेका थिए। अस्पतालबाहिर भएको मुठभेडमा आतङ्कवाद निरोधक दस्ताका प्रमुख हेमन्त करकरे, मुम्बई प्रहरीका अशोक कामटे र विजय सालसकर मारिएका थिए। नरीमन हाउस आक्रमणकारीले नरीमन हाउसलाई पनि निशाना बनाएका थिए। चबाड सेन्टरका नामले समेत चिनिने उक्त भवन यहूदी समुदायका मानिसलाई सहयोग गर्ने केन्द्रका रूपमा सञ्चालनमा थियो। त्यहाँ यहूदी पर्यटक बस्ने व्यवस्था हुनुका साथै धार्मिक ग्रन्थको पुस्तकालय र उपासनागृहसमेत रहेको थियो। आक्रमणकारीले भवनभित्र रहेका मानिसलाई बन्धक बनाएका थिए। कारबाहीका लागि एनएसजी कमान्डो हेलिकप्टरबाट नजिकैको भवनमा ओर्लिएका थिए। सुरक्षाकर्मीको कारबाहीमा आक्रमणकारी मारिए पनि बन्धकहरूलाई बचाउन सकिएन। यहाँ सात जना बन्धक र दुई आक्रमणकारीको मृत्यु भएको थियो। चबाड हाउस सञ्चालन गर्ने गेभ्रियल र उनकी पत्नी रिवकाको पनि आक्रमणमा मृत्यु भएको थियो। उनीहरूका दुई वर्षीय छोरा मोशे भने जीवितै उद्धार भएका थिए। उक्त आक्रमणमा छ जना यहूदीको मृत्यु भएको थियो।
२६/११ : १८ वर्षअघि मुम्बईमा भएको त्यो आक्रमण, जहाँ मारिएका थिए १६४ जना

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






