ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–७ टोक्सेलमा प्रस्तावित प्रादेशिक अस्पताल निर्माणको काम अघि नबढेको भन्दै स्थानीय बासिन्दा र जग्गादाता आमरण अनसनमा बसेका छन्। वर्षौँदेखि अस्पताल निर्माणको माग गर्दै आए पनि सरकारले बेवास्ता गरेको भन्दै उनीहरूले कोशी प्रदेशका मुख्यमन्त्रीको कार्यालय परिसरमा सोमबारदेखि अनिश्चितकालीन अनसन सुरु गरेका हुन्। प्रादेशिक अस्पताल तथा मेडिकल कलेज संघर्ष समितिको नेतृत्वमा सुरु भएको अनसनमा समितिका संयोजक माधव ढुंगानासहित जग्गादाता अर्जुनकुमार गौतम, लक्ष्मण भुजेल र शारदाप्रसाद गौतम सहभागी छन्। संघर्ष समितिका संयोजक ढुंगानाका अनुसार पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबार दिउँसोदेखि अनसन सुरु गरिएको हो। अस्पताल निर्माणका लागि स्थानीयले १६७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए। प्रदेश सरकारले सुरुमा जग्गा सम्याउने काम गरे पनि त्यसपछि भवन निर्माणलगायतका प्रक्रिया अघि नबढाएको स्थानीयको गुनासो छ। आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै मानेभन्ज्याङ गाउँपालिकाकी उपाध्यक्ष आश्रचन राई पनि मुख्यमन्त्री कार्यालय परिसर पुगेकी छन्। स्थानीय नवराज खड्काका अनुसार करिब १५ देखि २० जनाको टोली विराटनगरमा बसेर आन्दोलनको नेतृत्व गरिरहेको छ। अस्पताल निर्माणको माग पूरा नभएको भन्दै टोक्सेलवासीले यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचनसमेत बहिष्कार गरेका थिए। लामो समयसम्म सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको संघर्ष समितिको भनाइ छ। समितिले अस्पताल निर्माणको औपचारिक तथा ठोस प्रक्रिया तत्काल अघि बढाउन माग गरेको छ। माग पूरा नभएसम्म आमरण अनसनसहितको आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन्।
१६७ रोपनी जग्गा दान गर्दा पनि बनेन अस्पताल, स्थानीय आमरण अनसनमा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






