काठमाडौं, कात्तिक २४। प्रधानमन्त्री बालेन्द्र साहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री साहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गर्नुभएको नेपाल संवत् नेपालीहरूको मौलिक समयचक्र र राष्ट्रिय पहिचान भएको उल्लेख गर्नुभएको छ। उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गर्नुभएको नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान हो।” म्हः पूजाको सांस्कृतिक तथा आध्यात्मिक महत्त्वबारे चर्चा गर्दै प्रधानमन्त्री साहले नेवार समुदायमा आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर आफैँले आफैँलाई पूजा गर्ने परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउने बताउनुभएको छ। उहाँले भन्नुभएको छ, “‘म्ह’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर, अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने यस परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ।” म्हः पूजाले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको संरक्षण गर्दै जातीय एकतालाई थप प्रगाढ बनाउने उहाँको भनाइ छ। यसलाई गौरवको विषयका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री साहले मौलिक परम्पराको निरन्तरतामा जोड दिनुभएको छ। त्यसैगरी, भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाउनुभएको पौराणिक मान्यतासँग जोडिएको गोवर्धन पूजाको महत्त्वसमेत उहाँले स्मरण गर्नुभएको छ। कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाउनुका साथै हलो, फालीलगायत कृषि औजारको पूजा गरेर गोवर्धन पूजा तथा हली तिहार मनाउने परम्परा रहेको उहाँले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री साहले तिहारका अवसरमा गुञ्जिने भैलो र देउसीका भाकाले छरछिमेकमा आपसी आत्मीयता र सद्भाव बढाउने बताउनुभएको छ। उहाँले भन्नुभएको छ, “हाम्रा यी मौलिक चाडपर्वहरूले रिस-राग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून्।”
हाम्रा चाडपर्वहरूले रिस-राग भुलेर सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउन प्रेरित गरून् : प्रधानमन्त्री बालेन्द्र साह

Read Complete Original Article
Published originally on जनताटाइम्स






