काठमाडौं । नेपाली कला, साहित्य, गीतसंगीत, पत्रकारिता, चलचित्र तथा सामाजिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका स्रष्टा, साधक र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू एउटै मञ्चमा सम्मानित भएका छन् । मिलाप मासिकको आयोजनामा बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहमा बडादशैँ, तिहार, छठ तथा नेपाल संवत्-११४७ को शुभकामना आदान-प्रदानसँगै ‘टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार-२०८३’सहित विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । नेपाली कला क्षेत्रका विशिष्ट व्यक्तित्व त्रि-देवी चैतदेवी सिंह, वसुन्धरा भुसाल र भुवन चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा नेपाली कला, साहित्य, संगीत, पत्रकारिता, चलचित्र, सामाजिक सेवा तथा सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहाललाई ‘टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार-२०८३’ प्रदान गरिएको थियो । लोकप्रिय गायक तथा संगीतकार कन्हैया सिंहले आफ्ना मातापिताको नाममा कन्हैया र स्वर माधुरी अञ्जना गुरुङले स्थापना गर्नुभएको उक्त पुरस्कार दाहाललाई अर्पण गरिएको हो । प्रमुख अतिथि त्रय, मिलाप मासिकका सम्पादक एवं कार्यक्रमका सभापति कृष्ण भुसाल तथा ‘टीका-गोपाल’ फाउण्डेशनकी अध्यक्ष गीता सिंह, सल्लाहकार कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठलगायतले दाहाललाई पुरस्कार अर्पण गर्नुभएको थियो । नेपाली साहित्यको विभिन्न विधा र गीतसंगीतमा योगदान पुर्याउँदै आउनुभएका दाहाललाई प्रदान गरिएको उक्त पुरस्कारले सिर्जनात्मक साधना र राष्ट्रिय गीतसंगीतको प्रवर्द्धनमा समर्पित व्यक्तित्वहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यलाई थप सार्थक बनाएको आयोजकले जनाएको छ । समारोहमा मिलाप मासिकको आवरणमा समेटिएका विभिन्न क्षेत्रका व्यक्तित्वलाई विशेषरूपमा सम्मान गरिएको थियो । ‘मिलाप कभर सम्मान’ प्राप्त गर्नेहरूमा उर्मिला श्रेष्ठ, विक्रमभक्त जोशी, राजु सिंह, खेमनाथ दाहाल, अम्बिका गुरुङ, उत्तम केसी, वसन्त वित्यासी थापा, देवेन्द्र बजगाईं, सुमिना श्रेष्ठ, निशिता जोशी, रश्मी पाण्डे, राज टाइगर, सुनिता कुँवर, मनोज परियार र सन्दीप भुजेल रहनुभएको थियो । त्यसैगरी, कला, साहित्य, पत्रकारिता, सामाजिक सेवा तथा विभिन्न क्षेत्रमा सक्रिय रही उल्लेखनीय योगदान पुर्याउने डा.मोहनलाल घिसिङ, सीतारम पोखरेल, आरपी पन्त, गोपालकाजी कायस्थ, विजयरत्न तुलाधर, विनोद देवकोटा, सरोज बास्तोला, मञ्जु लावती, शशी लुमुम्बू, राधाकुमारी दाहाल, योगराज पाण्डे ‘रञ्जन’, अशोक बराल, शान्ति गुरुङ, वसन्ती सदा शंकर, विन्दिरा श्रेष्ठ, स्वस्तिका पन्थी र सुमन सापकोटालगायतलाई ‘मिलाप सम्मान’ प्रदान गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाली कला, साहित्य र संगीत राष्ट्रिय पहिचान, भाषा, संस्कृति तथा सामाजिक चेतनाका महत्त्वपूर्ण संवाहक भएको उल्लेख गर्दै स्रष्टाहरूको योगदानको उचित कदर हुनुपर्नेमा जोड दिएका थिए । उनीहरूले लामो समयदेखि सिर्जना र साधनामा समर्पित व्यक्तित्वलाई सम्मान गर्ने यस्ता कार्यक्रमले नेपाली सिर्जनात्मक क्षेत्रको गरिमा बढाउनुका साथै नयाँ पुस्तालाई कला, साहित्य र संगीतको क्षेत्रमा अघि बढ्न प्रेरणा दिने धारणा राखेका थिए । प्रमुख अतिथि वसुन्धरा भुसालले नेपाली कला क्षेत्रको विकास र संरक्षणमा स्रष्टाहरूको महŒवपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँहरूको योगदानको सम्मान गर्ने कार्य प्रशंसनीय भएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले विभिन्न विधामा सक्रिय प्रतिभालाई एकै ठाउँमा जोड्ने र आपसी सद्भाव तथा सहकार्यलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो । पुरस्कृति व्यक्तित्व दहालले आफूलाई पुरस्कार अर्पण गर्नुभएकोमा आयोजकप्रति हार्दिक आभार व्यक्ति गर्दै यहलोक र परलोकको प्रशंग सुनाउनुभएको थियो । आफूलाई पुरस्कार र सम्मानका लागि साहित्य सिर्जनामा मन लागेको बताउँदै निरन्तर कार्य गर्दै जाँदा विभिन्न पुरस्कार र सम्मान प्राप्त भएको बताउनुभयो । त्यस्तै, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदी तथा ‘टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार’का सल्लाहकार एवं कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँहरूले मिलाप मासिकले नेपाली कला, साहित्य र संगीत क्षेत्रको प्रवर्द्धन तथा स्रष्टाहरूको सम्मानका लागि गर्दै आएको कार्यको प्रशंसा गर्दै समसामयिक विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने निर्देशक माधवराज खरेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । बालकलाकार काब्य अधिकारीले स्वागत नृत्य प्रस्तुत गरेर समारोहलाई थप आकर्षक बनाउनुभएको थियो । सो अवसरमा प्रमुख अतिथिलगायत विभिन्न विशिष्ट व्यक्तित्वलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । समारोहमा वरिष्ठ साहित्यकार लेखनाथ पोखरेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका महासचिव रमेश दाहाल, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, साहित्यकार शैलेन्द्र चापागाईं, सविता बेहोसी, वरिष्ठ पत्रकार तथा गीतकार शान्तिप्रिय, वरिष्ठ कलाकार लय संग्रौला, नायिका तथा गायिका सारिका घिमिरे, निर्देशक रामशरण कोइराला र नायक श्रीदेव भट्टराईलगायत कला, साहित्य, पत्रकारिता तथा मनोरञ्जन क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो । विगत १७ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप मासिकले विभिन्न विधामा सक्रिय सर्जक, साधक र समाजका अग्रणी व्यक्तित्वहरूलाई एउटै मञ्चमा जोड्दै आएको छ । नेपाली कला, साहित्य, गीतसंगीत तथा पत्रकारिता क्षेत्रको योगदानलाई पहिचान, सम्मान र अभिलेखीकरण गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले विभिन्न सिर्जनात्मक विधाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ । कार्यक्रमको समापन गर्दै सभापति एवं मिलाप मासिकका सम्पादक कृष्ण भुसालले स्रष्टा र साधकहरूको योगदानको सम्मान गर्नु नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको महत्त्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले १७ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलापले विभिन्न क्षेत्रका प्रतिभालाई प्रोत्साहन गर्दै एउटै मञ्चमा जोड्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्रष्टाको सिर्जना र साधनालाई सम्मान गर्दै नयाँ पुस्तामा सिर्जनात्मक चेतना अभिवृद्धि गर्ने यस्ता कार्यक्रमले नेपाली कला, साहित्य र संगीत क्षेत्रबीचको सहकार्य, एकता र आपसी सम्मानको संस्कृतिलाई थप बलियो बनाउने विश्वास आयोजकले लिएको छ ।
स्रष्टा र साधकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई राष्ट्रिय गीतसंगीत पुरस्कार

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






