अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन कायम गरेर चालु आर्थिक वर्षमा सरकारले राखेको १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य पूरा गर्ने बताएका छन् । गत वर्षको तुलनामा करिब २७ प्रतिशत बढी राजस्व उठाउने लक्ष्य महत्वाकांक्षी भए पनि सुशासनमार्फत हासिल गर्न सकिने उनको विश्वास छ । राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै मन्त्री वाग्लेले गत वर्ष १ हजार २५० अर्ब रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए । करिब ७० खर्ब रुपैयाँको अर्थतन्त्रमा १२ खर्ब रुपैयाँ हाराहारी मात्रै राजस्व संकलन भइरहेको उल्लेख गर्दै उनले यस वर्ष लक्ष्य बढाइएको बताए । कोभिड महामारीपछि नेपालमा राजस्व संकलनको औसत वृद्धिदर ७ देखि ९ प्रतिशतमा सीमित रहेको उनको भनाइ छ । ‘बोल्ड रिफर्मको सन्देश र सुशासनको प्रतिफलका कारण प्रतिकूल परिस्थितिका बीच पनि हामी अगाडि बढिरहेका छौँ । यसपटक राजश्व संकलनको लक्ष्य पनि निकै महत्वाकांक्षी छ । यहाँहरूलाई थाहै छ, गत वर्ष जम्मा १ हजार २५० अर्ब रुपैयाँ राजश्व संकलन भएको थियो । ७० खर्ब रुपैयाँको अर्थतन्त्रमा राजस्व संकलन १२ खर्ब रुपैयाँ मात्रै छ,’ उनले भने । यस वर्ष १ हजार ५८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको र गत वर्षको तुलनामा करिब २७ प्रतिशत वृद्धि हासिल गर्नुपर्ने उनले बताए । ‘कोभिडपछि हामी औसतमा ७ देखि ९ प्रतिशतको राजश्व वृद्धिमा सीमित छौँ । यो वृद्धिदरले मात्र हामी अपेक्षित लक्ष्यमा पुग्न सक्दैनौँ । त्यसैले २७ प्रतिशत राजश्व वृद्धि हासिल गर्नुपर्छ । सुशासन कायम हुने हो भने यो लक्ष्य हासिल गर्न सकिन्छ भन्ने विश्वासका साथ छलफल गरेरै हामीले यस्तो लक्ष्य निर्धारण गरेका हौँ,’ मन्त्री वाग्लेले भने । राजस्व संकलनको प्रक्रिया अझ तीव्र बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले आफू स्वयं पनि प्रणालीलाई सक्रिय बनाउन मैदानमा उत्रने बताए । निजी क्षेत्रका सुझाव र गुनासा सुन्न सरकार तयार रहेको उनको भनाइ छ । कर नीतिमा स्थिरता र पूर्वानुमानयोग्यता कायम गर्नुपर्नेमा जोड दिँदै उनले करजस्ता महत्वपूर्ण विषयमा पटक–पटक नीतिगत परिवर्तन गर्न नहुने बताए । ‘अहिले पनि हामी लक्ष्यभन्दा धेरै पछाडि छैनौँ । यद्यपि राजश्व संकलनको प्रक्रियालाई अझ तीव्र बनाउनुपर्ने आवश्यकता छ । म आफैँ पनि प्रणालीलाई सक्रिय बनाउन मैदानमा उत्रँदै छु । निजी क्षेत्रका सुझाव र गुनासा सुन्न पनि हामी तयार छौँ । तर करजस्ता विषयमा पटक–पटक, हरेक हप्ता नीतिगत परिवर्तन गरिरहनु हुँदैन । अत्यावश्यक विषयमा सुधार गरौँ, तर निजी क्षेत्रलाई नीतिगत स्थिरता र पूर्वानुमानयोग्यता (प्रेडिक्टेबिलिटी) पनि दिनुपर्छ ।’ बलिया नीतिगत सुधार र सुशासनको प्रतिफलका कारण प्रतिकूल परिस्थितिका बीच पनि आर्थिक गतिविधि अघि बढाउन सरकार सफल भइरहेको मन्त्री वाग्लेले बताए । राजस्व संकलनको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य तथा समन्वय आवश्यक रहेको उनको भनाइ छ ।
सुशासन कायम गरेर १५ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य पूरा गर्छौँ : अर्थमन्त्री वाग्ले

Read Complete Original Article
Published originally on पर्दाफास





