काठमाडौं । चिनियाँ अटोमोबाइल उत्पादक चांगान ग्रुपले आफ्नै इन्जिनियरिङ टोलीले विकास गरेको अत्याधुनिक ड्राइभर असिस्टेन्स सिस्टम (डीएएस) ‘एसडीए पाइलट’ सार्वजनिक गरेको छ । ड्राइभिङलाई थप सुरक्षित, सहज र तनावमुक्त बनाउने लक्ष्यसहित कम्पनीले उक्त प्रविधि सार्वजनिक गरेको हो । इन्टेलिजेन्ट ड्राइभिङ प्रविधिमा लामो समयदेखि गर्दै आएको अनुसन्धान तथा विकासको उपलब्धिका रूपमा चांगानले यसलाई प्रस्तुत गरेको छ । चांगान ग्रुपका अध्यक्ष झु हुआरोङका अनुसार कम्पनीको इन्टेलिजेन्ट ड्राइभिङ टोली अहिले ७ हजार ५०० भन्दा बढी विशेषज्ञसहितको समूह बनेको छ । यस क्षेत्रमा कम्पनीले हालसम्म ७.७ अर्ब युरोभन्दा बढी अनुसन्धान तथा विकासमा लगानी गरिसकेको छ । कम्पनीले सन् २०११ मै फर्वार्ड कोलिजन वार्निङ र लेन डिपार्चर वार्निङ प्रणालीका प्रारम्भिक नमुना विकास गरेको थियो । सन् २०१८ मा लेभल २ आईएसीसी (इन्टिग्रेटेड एडाप्टिभ क्रुज कन्ट्रोल) प्रणालीको व्यावसायिक उत्पादन सुरु गरेको थियो । त्यस्तै, सन् २०२५ डिसेम्बर २० मा चीनमा लेभल ३ कन्डिसनल अटोनोमस ड्राइभिङका लागि पहिलो आधिकारिक लाइसेन्स प्लेट प्राप्त गरेको कम्पनीको दाबी छ । चांगानका अनुसार एसडीए पाइलट प्रो, म्याक्स र अल्ट्रा गरी तीन संस्करणमा उपलब्ध छ । यीमध्ये अल्ट्रा संस्करणमा हाइवे एनसीए, अर्बन एनसीए, ४०० भन्दा बढी अवस्थाका लागि इन्टेलिजेन्ट पार्किङ असिस्ट र ३१ वटा सक्रिय सुरक्षा सुविधा समावेश छन् । ५६० टीओपीएस क्षमताको कम्प्युटिङ चिप र २५६ लाइनको लाइडार प्रविधिमा आधारित यस प्रणालीले मिलिसेकेन्डमै प्रतिक्रिया दिन सक्ने कम्पनीले जनाएको छ । एसडीए पाइलटले प्रतिकूल मौसम र कम दृश्यता भएका अवस्थामा समेत सम्भावित जोखिम पहिचान गर्न सहयोग गर्ने कम्पनीको दाबी छ । यसमा एक्टिभ लाइडार डिटेक्सन र १० हर्जको हाई फ्रिक्वेन्सी रिजनिङ प्रविधि प्रयोग गरिएको छ । यसले कम प्रकाश, तीव्र चमक, वर्षा र कुहिरोजस्ता अवस्थामा जोखिम पहिचान गर्न सहयोग गर्ने बताइएको छ । त्यस्तै, प्रणालीको एन्ड-टु-एन्ड लार्ज मोडललाई वास्तविक सडकमा संकलित दुई करोडभन्दा बढी उच्च गुणस्तरका ड्राइभिङ डेटा सेग्मेन्ट प्रयोग गरेर तालिम दिइएको कम्पनीले जनाएको छ । यसबाट मानवीय ड्राइभिङ शैलीसँग मिल्दोजुल्दो अनुभव प्रदान गर्ने उसको दाबी छ । एसडीए पाइलटमा भिजन र भ्वाइस प्रविधि एकीकृत गरिएको मल्टिमोडल लार्ज मोडलसमेत समावेश छ । यसले प्राकृतिक भाषामा दिइएका भ्वाइस कमान्ड बुझ्ने र चालकको ड्राइभिङ व्यवहार सम्झन सक्ने इन्टरएक्टिभ नेभिगेसन सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ । यसका लागि चांगानले एसडीए ल्याब स्थापना गरेको छ । उक्त प्रयोगशालामा २४ सै घण्टा परीक्षण तथा अनुसन्धान हुने कम्पनीको भनाइ छ । त्यहाँ चार लाखभन्दा बढी भर्चुअल सिमुलेसन अवस्था र विश्वका २२४ क्षेत्रका विभिन्न जलवायु अवस्थालाई समेटेर दैनिक ३३ लाख किलोमिटरबराबरको सिमुलेटेड ड्राइभिङ परीक्षण गरिने बताइएको छ । कार्यक्रमकै क्रममा एसडीए पाइलट अल्ट्रा प्रविधि जडान गरिएको पहिलो उत्पादन मोडल चांगान नेभो क्यू०६ को प्रि-अर्डरसमेत खुला गरिएको छ । नेपालमा चांगानको उपस्थिति डीपल, नेभो र अवत्र (एभाटार) ब्रान्डमार्फत रहेको छ । यी ब्रान्डअन्तर्गत कम्पनीले विभिन्न विद्युतीय तथा नयाँ ऊर्जा सवारीसाधन नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । डीपलअन्तर्गत एस०७, एस०७ एल, एस०७ आईसीए, एस०५, ई०७ र एल०७ मोडल उपलब्ध छन् । नेभोअन्तर्गत क्यू०५ तथा अवत्रअन्तर्गत अवत्र ११ र अवत्र ७ नेपाली बजारमा रहेका छन् । नेपालमा चांगानको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्प हो । कम्पनीले चांगानका सवारीसाधनको बिक्रीसँगै डिलरशिप, सर्भिस तथा चार्जिङ नेटवर्क विस्तार गरिरहेको जनाएको छ । चांगान अटोमोबाइल चीनको राज्य स्वामित्वमा रहेको प्रमुख अटोमोबाइल उत्पादक कम्पनीमध्ये एक हो । कम्पनीले विश्वका १०० भन्दा बढी देशमा आफ्नो उपस्थिति रहेको र १८ हजारभन्दा बढी इन्जिनियर आबद्ध रहेको जनाएको छ ।
सुरक्षित, सहज र तनावमुक्त स्मार्ट ड्राइभिङ अनुभव दिने लक्ष्यसहित चांगानले सार्वजनिक गर्यो ‘एसडीए पाइलट’

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






