काठमाडौं। ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेल निर्देशित नयाँ सिनेमा ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टोलीले बिहीबार बिग मुभिजमा आयोजित कार्यक्रममा चार मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा प्रेममा पैसाका कारण उत्पन्न हुने परिस्थिति र त्यसले प्रेमीहरूको जीवनमा पार्ने प्रभावलाई कथाको मुख्य विषय बनाइएको देखिन्छ। पिरियड ड्रामा विधामा बनेको सिनेमाले तत्कालीन नेपाली समाजमा पुरुष अहंकार र पितृसत्तात्मक मान्यताका कारण महिलाले भोग्नुपरेका अवस्था र नियतिलाई प्रस्तुत गर्ने सङ्केत ट्रेलरले गरेको छ। ट्रेलरमा अभिनेता विनोद न्यौपानेको ‘डिल्लीराम’ पात्र प्रेमकथाको प्रमुख बाधकका रूपमा देखिएका छन्। विजय बरालले ‘बाबुराम’ र अञ्जना बराइलीले ‘लक्ष्मी’को भूमिका निर्वाह गरेका छन्। यी दुई पात्रको प्रेममा डिल्लीरामले सिर्जना गर्ने अवरोधले कथालाई कस्तो मोडमा पुर्याउँछ भन्ने कौतूहल ट्रेलरले जगाएको छ। ‘पूर्णबहादुरको सारंगी’बाट दर्शकमाझ स्थापित विजय बराल र निर्देशक पौडेलबीच पुनः सहकार्य भएको छ। यसपटक उनीहरूले फरक परिवेश र समयको कथा लिएर दर्शकमाझ आउने तयारी गरेका छन्। सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक पौडेलले लेखेका हुन्। ‘सिन्दुरे जात्रा’मा विजय, अञ्जना र विनोदका साथै उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राज कटुवाल, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ। सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता नेम महर्जन हुन्। राकेश खड्का र श्याम मगर सहनिर्माता, सुमन रञ्जित एसोसिएट निर्माता तथा अनिश अधिकारी लाइन निर्माता छन्। दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा पदमबहादुर श्रेष्ठ (बाबु)को छायाङ्कन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन छ । फिल्ममा प्रशान्त सिवाकोटीको सङ्गीत रहेको छ। यसअघि सार्वजनिक टिजर र गीतबाट चर्चा बटुलेको ‘सिन्दुरे जात्रा’ मङ्सिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउने । फिल्मको वितरण नेसनल सिने ग्रुप नेपालले गर्दैछ। बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा जोडिएका छन्।
‘सिन्दुरे जात्रा’ मा प्रेम र पितृसत्ताको कथा

Read Complete Original Article
Published originally on नेपालन्युज






