सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नेपाली समुदायले श्रद्धा, भक्ति र उत्साहका साथ छठ पर्व मनाएको छ । तर, राजधानी क्यानबेरामा भने सामूहिक पूजा गर्ने उपयुक्त स्थल नपाउँदा नेपालीहरूले घरबाटै छठीमाताको आराधना गर्नुपरेको छ । एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) को आयोजनामा नोभेम्बर १५ आइतबार साँझ चिपिङ नोर्टनस्थित सिड्नी छठ घाटमा दुईदिने छठ महोत्सव सुरु भएको हो । आयोजक संस्थाका प्रतिनिधि अरुणकुमार ठाकुरका अनुसार यस वर्षको छठ महोत्सवमा दुई हजारभन्दा बढी श्रद्धालुको सहभागिता रहेको छ । कार्यक्रममा स्थानीय नगरप्रमुख, विभिन्न स्थानीय अगुवा तथा नेपाली समुदायका संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको उहाँले जानकारी दिनुभयो । महोत्सवको पहिलो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै विशेष पूजा आराधना गरिएको थियो । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि धार्मिक विधिअनुसार पर्व समापन गरिनेछ । श्रद्धालुहरू परम्परागत पहिरन र पूजाका सामग्रीसहित छठ घाटमा सहभागी भएका थिए । क्यानबेरामा पूजा स्थलको अभाव, घरबाटै छठीमाताको आराधना सिड्नीमा हजारौँ नेपाली एकै ठाउँमा भेला भएर छठ पर्व मनाइरहँदा अस्ट्रेलियाका अन्य सहरमा रहेका नेपालीले भने सामूहिक पूजा गर्ने उपयुक्त स्थलको अभाव झेल्नुपरेको छ । अस्ट्रेलियाको राजधानी क्यानबेरामा बसोबास गर्दै आउनुभएका राजा गुप्ता यस वर्ष छठ पूजाका लागि उपयुक्त स्थलको खोजीमा हुनुहुन्थ्यो । तर, विभिन्न प्रयास गर्दा पनि पूजा गर्न मिल्ने स्थान फेला पार्न नसकेपछि उहाँले घरमै छठीमाताको आराधना गर्ने निर्णय गर्नुभयो । नेपाल न्यूज बैंकसँग कुरा गर्दै गुप्ताले आफ्नो जन्मथलो वीरगञ्जमा परिवार तथा आफन्तहरूले छठ पर्व मनाइरहेको दृश्य भिडियोमा हेर्दा भावुक भएको बताउनुभयो । वीरगञ्जका छठ घाटमा श्रद्धालुको भीड, छठका गीत र पूजाको उल्लास देख्दा घरको निकै सम्झना आएको उहाँको भनाइ छ । जन्मभूमिमा परिवार र आफन्तसँगै छठ मनाउने चाहना हुँदाहुँदै विदेशमा पूजा गर्ने स्थलसमेत नपाउँदा दुःख लागेको उहाँले बताउनुभयो । नेपालको तराई–मधेस क्षेत्रमा विशेष महत्त्वका साथ मनाइने छठ पर्व पछिल्लो समय अस्ट्रेलियाका विभिन्न सहरमा बसोबास गर्ने नेपाली समुदायको साझा सांस्कृतिक उत्सवका रूपमा विस्तार हुँदै गएको छ । सामूहिक रूपमा आयोजना हुने यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति, धार्मिक परम्परा र मौलिक पहिचानसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । सिड्नीमा देखिएको उल्लेख्य जनसहभागिताले नेपाली समुदायको सांस्कृतिक एकता र आफ्नो परम्पराप्रतिको लगाव झल्काएको छ । अर्कोतर्फ, क्यानबेरामा पूजा स्थल नपाएर घरमै आराधना गर्न बाध्य नेपालीको अनुभवले अस्ट्रेलियाका अन्य सहरमा पनि धार्मिक तथा सांस्कृतिक गतिविधिका लागि उपयुक्त सार्वजनिक स्थलको आवश्यकता उजागर गरेको छ ।
सिड्नीमा भव्य रूपमा मनाइयो छठ, क्यानबेरामा घाट नपाउँदा घरबाटै पूजा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






