काठमाडौं । भारतमा आयोजना हुने सातौं दक्षिण एसियाली बास्केटबल (साबा) च्याम्पियनसिप २०२६ मा नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीले आयोजक भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगिताका लागि सार्वजनिक गरिएको समूह विभाजनअनुसार नेपाल समूह ‘ए’ मा परेको छ । डिसेम्बर ५ देखि १० सम्म भारतको चेन्नईमा सञ्चालन हुने प्रतियोगितामा पाकिस्तानबाहेक दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने नेपाल बास्केटबल संघ (नेवा)ले जनाएको छ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । समूह विभाजनअनुसार समूह ‘ए’ मा भारत, नेपाल र बंगलादेश रहेका छन् भने समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स र भुटान छन् । समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल सेमिफाइनल हुँदै उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यसहित मैदानमा उत्रनेछ । नेपालले प्रतियोगिताको पहिलो खेल डिसेम्बर ५ मा आयोजक भारतसँग खेल्नेछ । चेन्नईमा हुने उक्त खेल नेपाली समयअनुसार राती ७ः४५ बजे सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा सोही दिन साँझ ५ः१५ बजे श्रीलंका र भुटान आमनेसामने हुनेछन् । नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल डिसेम्बर ६ मा बंगलादेशसँग खेल्ने तालिका छ । समूह चरणका खेलपछि प्राप्त नतिजाका आधारमा सेमिफाइनल तथा फाइनलका प्रतिस्पर्धा तय हुनेछन् । प्रतियोगिताको फाइनल खेल डिसेम्बर १० मा हुनेछ । सोही दिन तेस्रो स्थानका लागि पनि प्रतिस्पर्धा हुनेछ । यसैबीच, चेन्नईमै डिसेम्बर ६ देखि १० सम्म महिला साबा छनोट प्रतियोगिता पनि आयोजना हुँदैछ । उक्त छनोट प्रतियोगितामा नेपालसहित आयोजक भारत, माल्दिभ्स र श्रीलंकाले सहभागिता जनाउनेछन् । यस प्रतियोगिताबाट छनोट हुने टोलीले महिला एसिया कप २०२७ को डिभिजन ‘बी’ मा स्थान बनाउने अवसर प्राप्त गर्नेछन् । महिला छनोट प्रतियोगितामा पनि नेपालको सुरुवाती प्रतिस्पर्धा आयोजक भारतसँगै हुनेछ । नेपालले डिसेम्बर ६ मा भारतसँग पहिलो खेल खेल्नेछ भने डिसेम्बर ७ मा माल्दिभ्स र डिसेम्बर ८ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । पुरुषतर्फ क्षेत्रीय उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको नेपालका लागि महिला टोलीको छनोट प्रतियोगिता पनि उत्तिकै महत्त्वपूर्ण रहनेछ । पुरुष टोलीले साबा च्याम्पियनसिपमा आफ्नो क्षमता प्रमाणित गर्ने लक्ष्य राख्दा महिला टोलीले एसिया कप २०२७ डिभिजन ‘बी’ मा स्थान सुरक्षित गर्ने अवसरलाई सदुपयोग गर्ने प्रयास गर्नेछ । दक्षिण एसियाली बास्केटबलमा आफ्नो उपस्थिति बलियो बनाउने लक्ष्यसहित नेपाली दुवै टोली चेन्नईमा प्रतिस्पर्धा गर्ने तयारीमा रहनेछन् ।
साबा च्याम्पियनसिपमा नेपाललाई भारत र बंगलादेशको चुनौती

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






