सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहलाई आफ्नै गृहजिल्ला सर्लाहीमा हिन्दु सम्राट सेनाका कार्यकर्ताले कालो झण्डा देखाएर विरोध गरेका छन्। कालो झण्डा देखाउने क्रममा प्रहरीले आफ्ना चार जना कार्यकर्तालाई पक्राउ गरेको भन्दै सेनाले विरोध जनाएको छ। पूर्व–पश्चिम हुलाकी राजमार्ग पदयात्राका क्रममा सर्लाही आइपुग्नुभएका सांसद सिंहलाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले शनिबार साँझ सदरमुकाम मलंगवामा कालो झण्डा देखाएका हुन्। त्यसैगरी, सेनाका कार्यकर्ताले मलंगवास्थित जिल्ला विकास चोकमा रहेको बाबा स्वामी मठ नजिक सांसद सिंहको पुत्लासमेत दहन गरेका छन्। उनीहरूले सांसद सिंहका विगतका अभिव्यक्ति हिन्दु धर्मविरोधी रहेको आरोप लगाउँदै त्यसप्रति आपत्ति जनाएका थिए। कालो झण्डा प्रदर्शनका क्रममा प्रहरीले आफ्ना चार जना कार्यकर्तालाई पक्राउ गरेको हिन्दु सम्राट सेनाका नेता कृष्णा यादवले बताउनुभयो। पक्राउ परेका कार्यकर्तालाई तत्काल रिहा गर्न माग गर्दै सेनाले विरोध जनाएको छ। सांसद सिंहका अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरिएको सेनाका कार्यकर्ताहरूको भनाइ छ। उनीहरूले आफ्ना कार्यकर्तालाई पक्राउ गरेर विरोध प्रदर्शन गर्ने अधिकारमाथि अंकुश लगाउन खोजिएको आरोपसमेत लगाएका छन्। यसैबीच, पदयात्राका क्रममा सर्लाही आइपुग्नुभएका सांसद सिंह शनिबार राति जिल्ला सदरमुकाम मलंगवामै बस्नुहुने कार्यक्रम रहेको छ। उहाँको पदयात्रा आइतबार बिहान ७ः३० बजेदेखि पुनः सुरु हुने रास्वपा सर्लाहीका जिल्ला सभापति सरोज बानियाँले जानकारी दिनुभयो। सांसद सिंहको सर्लाही आगमनसँगै कालो झण्डा प्रदर्शन, पुत्ला दहन र चार जना पक्राउ परेको घटनाले जिल्लाको राजनीतिक तथा सामाजिक वृत्तमा चर्चा पाएको छ।
सांसद अमरेश सिंहलाई सर्लाहीमा कालो झण्डा, चार जना पक्राउ

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






