नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको संरक्षणमा रहेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने पक्षमा पार्टी नरहेको बताएका छन् । बिहीवार काठमाडौंमा जारी एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले एमाले देशको प्रमुख प्रतिपक्षी दल भएकाले सरकारका गलत कामकारबाहीको सशक्त प्रतिवाद गर्ने बताएका हुन् । उनले एमाले निर्वाचनमा पराजित हुनुको कारण जनताबाट टाढिनु मात्र नभएको जिकिर गरे । निर्वाचनअघि नै प्रतिकूल र असामान्य राजनीतिक वातावरण सिर्जना गरिएको तथा एमालेलाई राजनीतिक रूपमा एक्ल्याउने प्रयास भएको उनको आरोप थियो । ओलीले संसद्को असंवैधानिक विघटनलाई मान्यता दिइएको भन्दै न्यायालयको भूमिकामाथि समेत प्रश्न उठाए । संविधान र कानुनअनुसार न्यायिक निर्णय हुन नसकेको टिप्पणी गर्दै उनले त्यसबेला न्यायालयले न्याय दिन नसकेको बताए । निर्वाचनको वातावरण उपयुक्त नभएको भन्दै एमालेले सुरुदेखि नै आवाज उठाए पनि पार्टीले निर्वाचन बहिष्कार नगरेको उनले स्पष्ट पारे । प्रतिकूल परिस्थितिमा निर्वाचनमा सहभागी नभएको भए पार्टीमाथि थप गलत व्याख्या र प्रहार हुन सक्ने भएकाले चुनावमा गएको उनको भनाइ थियो । विभिन्न शक्ति लागेर एमालेलाई समाप्त पार्न खोजिएको आरोप लगाउँदै ओलीले पार्टी अझै बलियो अवस्थामा रहेको दाबी गरे । सम्बोधनका क्रममा उनले सरकारको अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुतिलाई लिएर पनि आलोचना गरे । टर्कीमा आयोजित जलवायु परिवर्तनसम्बन्धी कोप सम्मेलनमा नेपालको सहभागिता र प्रस्तुति कमजोर रहेको उनको टिप्पणी थियो । जलवायु परिवर्तनको विषय पर्यटनसँग मात्र सम्बन्धित नभई हिमाल, हिमनदी, पानीको पुनर्भरण प्रणाली र समग्र जनधनको सुरक्षासँग जोडिएको ओलीले बताए । ‘गएको निर्वाचनमा हाम्रो लज्जास्पद हार भयो । तर यसको कारण जनताबाट टाढिनु मात्र थिएन । निर्वाचनअघि नै भयावह र असामान्य राजनीतिक वातावरण सिर्जना गरिएको थियो,’ उनले भने । ओलीले संसद्को असंवैधानिक विघटन र त्यसबारे न्यायालयले खेलेको भूमिकाको गम्भीर समीक्षा हुनुपर्ने बताए । प्रतिकूल परिस्थितिका बाबजुद एमाले निर्वाचनमा सहभागी भएको उल्लेख गर्दै उनले पार्टी स्वतन्त्र प्रतिपक्षको भूमिकामा रहने स्पष्ट पारे । ‘हामी सरकारको ओत लागेर होइन, स्वतन्त्र प्रतिपक्षको भूमिकामा रहेर राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित र जनताको अधिकारको रक्षा गर्नेछौँ,’ उनले भने । हिमालको संरक्षण नेपालको मात्र नभई विश्वव्यापी सरोकारको विषय भएको उल्लेख गर्दै ओलीले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मुद्दा प्रभावकारी रूपमा उठाउनुपर्ने बताए । उनले हिमाल संरक्षणलाई पानीको पुनर्भरण प्रणाली, जनधनको सुरक्षा र मरुभूमीकरण रोक्ने अभियानसँग जोडेर हेर्नुपर्ने धारणा राखे ।
सरकारको ओतमा बसेर प्रतिपक्ष हुँ भन्न एमाले तयार छैन : ओली

Read Complete Original Article
Published originally on पर्दाफास






