हेटौँडा । हरिबोधनी एकादशीका अवसरमा मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित त्रिखण्डेश्वर महादेव मन्दिरमा लाग्ने मेलालाई मध्यनजर गर्दै शुक्रबार हेटौँडा–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं आवतजावत गर्ने यात्रुवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मेलामा भक्तजनको ठूलो भीड लाग्ने भएकाले सम्भावित दुर्घटना र यातायात अवरोध न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस्तो निर्णय गरेको हो । प्रशासनले बिहीबार सूचना जारी गर्दै शुक्रबार हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी सडकखण्डको विकल्पमा कान्ति लोकपथ प्रयोग गर्न यात्रुवाहक सवारीसाधनका चालक, यातायात व्यवसायी तथा यात्रुलाई आग्रह गरेको छ । त्रिखण्डेश्वर महादेव मन्दिर सडकसँगै जोडिएको र मेला लाग्ने क्षेत्रको सडक साँघुरो तथा भिरालो रहेकाले भक्तजनको चापसँगै सवारी आवागमन जोखिमपूर्ण हुन सक्ने प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले धार्मिक मेलामा सहभागी हुने भक्तजनको सुरक्षा तथा यातायात व्यवस्थापनलाई ध्यानमा राखेर एक दिनका लागि यात्रुवाहक सवारीसाधनको रुट परिवर्तन गरिएको जानकारी दिनुभयो । उहाँले सम्बन्धित सबै पक्षलाई शुक्रबार कान्ति लोकपथमार्फत आवतजावतको व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ ।
शुक्रबार हेटौँडा–काठमाडौं यात्रुवाहक सवारी बन्द

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






