Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

शान्ति सम्झौताको २० वर्ष बित्दा पनि सामाजिक–आर्थिक रूपान्तरण हुन सकेन : पूर्वप्रधानमन्त्री खनाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
शान्ति सम्झौताको २० वर्ष बित्दा पनि सामाजिक–आर्थिक रूपान्तरण हुन सकेन : पूर्वप्रधानमन्त्री खनाल
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पुगिसक्दा पनि त्यसको मूल उद्देश्यअनुसार मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरण हुन नसकेको नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बताउनुभएको छ । तत्कालीन सरकार र नेकपा माओवादीबीच २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताले सशस्त्र द्वन्द्व अन्त्य गरे पनि जनताले अपेक्षा गरेअनुसार सामाजिक, आर्थिक तथा सांस्कृतिक परिवर्तन हुन नसकेको उहाँको टिप्पणी छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा खनालले शान्ति सम्झौतापछि माओवादी लडाकुको नेपाली सेनामा समायोजन गर्ने काम पूरा भए पनि मुलुकको सामाजिक–आर्थिक संरचनामा परिवर्तन ल्याउने काम हुन नसकेको बताउनुभयो । उहाँका अनुसार शान्ति सम्झौता हुँदा जनताले क्रान्तिकारी भूमिसुधार, कृषि क्रान्ति, कृषि आधुनिकीकरण तथा यान्त्रिकीकरण, राष्ट्रिय औद्योगिकीकरण र स्वदेशमै रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरेका थिए । शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुनुका साथै असमान सम्झौताहरू खारेज हुने आशा पनि जनताले राखेका थिए । खनालले भन्नुभयो, “शान्ति सम्झौता हुँदा जनताको अपेक्षा सशस्त्र शक्तिलाई नेपाली सेनामा समायोजन गर्ने मात्र थिएन । मुलुकको सामाजिक–आर्थिक संरचनामा ठूलो परिवर्तन हुनुपर्छ भन्ने थियो । तर, सेना समायोजन गर्ने काम मात्रै भयो । समाजको सामाजिक–आर्थिक रूपान्तरण र सुधार गर्ने काम अहिलेसम्म हुन सकेन ।” उहाँले शान्ति सम्झौतापछि सशस्त्र द्वन्द्व अन्त्य भए पनि द्वन्द्वका कारण उत्पन्न सामाजिक तथा आर्थिक समस्या समाधान हुन नसकेको बताउनुभयो । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षासम्बन्धी समस्या अहिले पनि समाजमा विद्यमान रहेको उहाँको भनाइ छ । “शान्ति त कायम गरियो, तर जुन उद्देश्यका लागि जनयुद्ध गरिएको थियो, ती उद्देश्य जस्ताको तस्तै रहे । अहिलेसम्म पनि समाजमा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाका समस्या विद्यमान छन् । त्यसैले शान्ति सम्झौता इतिहासको एउटा वस्तु मात्रै भयो । यसका सकारात्मक परिणाम देश र जनताले भोग्न पाएनन्,” उहाँले भन्नुभयो । खनालले शान्ति सम्झौता कार्यान्वयन भइसके पनि त्यसको मूल मर्मअनुसार सामाजिक–आर्थिक रूपान्तरणका काम हुन नसकेको बताउनुभयो । गरिबी र शोषण उन्मूलन गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमार्फत समाजलाई अग्रगतितर्फ लैजानु शान्ति सम्झौताको महत्त्वपूर्ण उद्देश्य रहेको उहाँले उल्लेख गर्नुभयो । समाजमा अहिले पनि अशान्ति, शोषण, दमन, अन्याय, अत्याचार र कुशासन कायम रहेको उहाँको टिप्पणी छ । सामाजिक–आर्थिक रूपान्तरण हुन नसक्दा शान्ति प्रक्रियाले अपेक्षित परिणाम दिन नसकेको उहाँले बताउनुभयो । “शान्ति सम्झौता कार्यान्वयन त भइसकेको छ । तर, सम्झौता गर्दाखेरि नै अपुरो र अधुरो गरियो । यसको अनिवार्य अंग भनेको समाजमा सामाजिक–आर्थिक रूपान्तरण गर्ने, गरिबी उन्मूलन गर्ने, शोषण हटाउने र समाजलाई अग्रगतितर्फ लैजाने कुरा थियो । त्यो काम हुन सकेन,” खनालले भन्नुभयो । शान्ति सम्झौताका बाँकी उद्देश्य पूरा नभए नेपाली समाज फेरि कुनै न कुनै प्रकारका जनआन्दोलन र संघर्षमा अघि बढ्न बाध्य हुने उहाँले चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “अब यसले फेरि पनि नेपाली समाजलाई कुनै न कुनै प्रकारका जनआन्दोलन र संघर्षमा अघि बढ्न बाध्य गराउँछ ।” शान्ति प्रक्रियाअन्तर्गत माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने विषय भने कार्यान्वयन भएको खनालले बताउनुभयो । योग्य लडाकुलाई नेपाली सेनामा समायोजन गरिएको र अयोग्य लडाकुलाई हटाइएको उल्लेख गर्दै उहाँले शान्ति प्रक्रियाको यो पक्ष पूरा भएको बताउनुभयो । तर, द्वन्द्वपीडितका समस्या समाधान गर्ने विषय अझै अधुरै रहेको उहाँको भनाइ छ । पीडितहरूसँग छलफल गरी उनीहरूका समस्या सम्बोधन गर्ने र द्वन्द्वको अन्तिम निरूपण गर्ने प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न नसकेको उहाँले बताउनुभयो । “शान्ति सम्झौतामा कार्यान्वयन नभएको विषय भनेको युद्धपीडित व्यक्तिहरूसँग आपसमा छलफल गरेर उनीहरूका समस्या समाधान गर्ने कुरा हो । त्यो अहिलेसम्म हुन सकेको छैन । आयोग गठन भए पनि त्यसले प्रभावकारी रूपमा काम गर्न सकेन,” उहाँले भन्नुभयो । खनालले द्वन्द्वपीडितका समस्या समाधान, सामाजिक न्यायको स्थापना र सामाजिक–आर्थिक रूपान्तरणलाई शान्ति प्रक्रियाका बाँकी महत्त्वपूर्ण कार्यका रूपमा औँल्याउनुभएको छ । -प्रमिला कार्की/नेपाल न्यूज बैंक

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उर्जामन्त्री विराजभक्त श्रेष्ठलाई
Latest NewsJust now

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उर्जामन्त्री विराजभक्त श्रेष्ठलाई

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उर्जामन्त्री विराजभक्त श्रेष्ठलाई दिएका छन् । प्रधानमन्त्री शाह आज प्रतिनिधिमण्डलसहित भारत भ्रमणमा जाँदैछन् । दोस्रो वरियतामा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र त्यसपछिको वरियतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल प्रधानमन्त्रीसँगै भारत जाँदैछन् । त्यसपछिको वरियतामा रहेका मन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी […] ...

लोकपथ
खलामा धान भर्दै स्थानीय सरकार
Latest NewsJust now

खलामा धान भर्दै स्थानीय सरकार

पाँचथर। जिल्लाको मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक यतिबेला गाउँका खलामा पुगेर धानको थुप्रो नाप्ने र धान भर्ने कार्यमा व्यस्त छन्। पालिकाभित्र धेरै अन्नबाली फलाउने कृषकलाई पुरस्कार दिने कार्यक्रमका सिलसिलामा उनीहरु हाल खलो पुगेर कस्को कति धान फल्यो भनी विवरण लिन सक्रिय छन्। सो गाउँपालिकाले आव २०७७–७८ देखि कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत धान थन्क्याउने समयमा खलोबाटै तथ्याङ्क लिन सुरु गरेपछि वडाका ...

नेपालन्युज
इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता
Latest NewsJust now

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता

स्थानीय उद्धार अधिकारीका अनुसार शनिबार दिउँसो सेराङ जिल्लास्थित फोनुसा अगुङ मुलिया कारखानामा आगलागी भएको हो ...

कान्तिपुर
एक सातामै सुन र चाँदीको मूल्यमा करिब १० प्रतिशत गिरावट, अझै कति घट्न सक्ला ?
Latest NewsJust now

एक सातामै सुन र चाँदीको मूल्यमा करिब १० प्रतिशत गिरावट, अझै कति घट्न सक्ला ?

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट आएको छ । अमेरिकी डलर बलियो हुनु, अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले ब्याजदर बढाउने सम्भावना, विश्व सेयर बजारमा आएको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play