Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

विश्वभर युवाको आक्रोश : पुस्ता एक, विद्रोह अनेक

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वभर युवाको आक्रोश : पुस्ता एक, विद्रोह अनेक
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । दुई दिने युवा (जेन-जी) आन्दोलनले नेपालमा सत्ता उलटफेर गरेको भर्खरै एक वर्ष पुगेको छ । त्यसैको परिणामस्वरूप अहिले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुईतिहाइ नजिकको बहुमत छ र ३५/३६ वर्षीय युवा प्रधानमन्त्री छन् । यसअघि नेपाली राजनीति र सत्ता केही समय केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिपरि घुम्ने गरेको थियो । अहिले उनीहरू सत्ताबाट किनारामा पुगेका छन् । नेपालअघि बंगलादेशमा पनि उस्तै प्रकृतिको आन्दोलन भएको थियो । सन् २०२४ मा सरकारी जागिरमा आरक्षण व्यवस्थाविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलन भ्रष्टाचार, दमन र शासनविरुद्धको विद्रोहमा परिणत भयो । त्यसले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ता छाडेर भारत भाग्न बाध्य बनायो । त्यसअघि सन् २०२२ मा श्रीलंकामा पनि आर्थिक संकटविरुद्ध उठेको आन्दोलनले राष्ट्रपति गोटाबाया राजापाक्षेलाई देश छाड्न र पदबाट राजीनामा दिन बाध्य बनाएको थियो । इन्धन, खाद्यान्न र औषधिको अभावबाट आजित नागरिकको आन्दोलनले राष्ट्रपति भवनसम्म कब्जा गरेको थियो । अहिले युवा आक्रोश दक्षिण एसियामा मात्र सीमित छैन । छिमेकी भारतदेखि दक्षिणपूर्वी एसिया, अफ्रिका र युरोपसम्म फैलिएको छ । पछिल्लो एक/डेढ वर्षमा बुल्गेरिया, माडागास्कर, इण्डोनेसिया, फिलिपिन्स, मोरक्को, पेरु, टिमोर लेस्टे, तान्जानिया, मेक्सिको, भारत र नेपाल लगायतका देशमा युवाको नेतृत्वमा ठूला प्रदर्शन भएका छन् । कतिपय आन्दोलनले सरकार ढालेका छन् । कतिपयले मन्त्रीलाई राजीनामा गराएका छन् । कतिपयले सरकारलाई विवादित निर्णय फिर्ता लिन बाध्य पारेका छन् । केही आन्दोलन भने अझै जारी छन् । अहिले फ्रान्सदेखि जर्मनीसम्म युवा सडकमा छन् । के कारणले भइरहेको छ आन्दोलन ?धेरैजसो देशमा भइरहेको आन्दोलनमा युवाकै उल्लेखनीय सहभागिता छ । माग, मुद्दा र एजेण्डा फरक भए पनि सबैमा युवाहरू नै आन्दोलन गर्न अग्रसर बनेका छन् । जसमा केही समानता पनि छन् । भ्रष्टाचार, अवसरको अभाव र सरकारप्रतिको अविश्वासले उनीहरूलाई सडकमा आउने बाध्य पारेको हो । नेपालमा जेन-जी आन्दोलनको तत्कालीन कारण सरकारले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्ममाथि लगाएको प्रतिबन्ध थियो । तर, असन्तुष्टि त्यतिमा सीमित थिएन । राजनीतिक नेताका परिवारको विलासी जीवनशैली, भ्रष्टाचार, नातावाद, बेरोजगारी र पुराना दलको सत्ताकेन्द्रित राजनीतिविरुद्ध युवामा लामो समयदेखि आक्रोश थियो । बंगलादेशमा सन् २०२४ जुलाईमा सरकारी सेवामा आरक्षण व्यवस्थाविरुद्ध विद्यार्थीले आन्दोलन सुरु गरेका थिए । प्रहरी दमन र हिंसात्मक घटनापछि आन्दोलनले व्यापक रूप लियो । भारतमा युवा असन्तुष्टिको पछिल्लो अभिव्यक्ति सिजेपी बनेको छ । जसको सुरुवात सन् २०२६ मे महिनामा भएको एउटा व्यंग्यात्मक सामाजिक सञ्जाल पोस्टबाट भएको थियो । सर्वोच्च अदालतमा भएको सुनुवाइका क्रममा न्यायाधीश सूर्यकान्तको एउटा टिप्पणीलाई बेरोजगार युवाप्रति अपमानजनक भएको भन्दै सामाजिक सञ्जालमा आलोचना गरिएको थियो । अहिले यसको विस्तार बढेको छ । अफ्रिकी देश माडागास्करमा सन् २०२५ सेप्टेम्बर २५ बाट युवा प्रदर्शन सुरु भएको थियो । राजधानीसहित विभिन्न क्षेत्रमा लामो समयसम्म पानी र बिजुलीको आपूर्ति नियमित नहुँदा युवाहरू सडकमा उत्रिए । तर, आन्दोलन छिट्टै सरकारको भ्रष्टाचार, गरिबी, बेरोजगारी र सार्वजनिक सेवा सञ्चालनको असफलताविरुद्ध केन्द्रित भयो । युरोपेली देश बुल्गेरियामा सन् २०२५ नोभेम्बरदेखि सरकारविरुद्ध प्रदर्शन सुरु भयो । सुरुमा सन् २०२६ को बजेटमा कर र सामाजिक सुरक्षा योगदान बढाउने प्रस्तावको विरोध गरिएको थियो । तर, प्रदर्शन विस्तार हुँदै जाँदा सरकारको भ्रष्टाचार नियन्त्रण गर्ने क्षमतामाथि प्रश्न उठ्न थाल्यो । सर्बियामा सन् २०२४ नोभेम्बरमा नोभी साद सहरको रेल्वे स्टेसनको छानो खस्दा १६ जनाको मृत्यु भएको घटनापछि विद्यार्थी आन्दोलन सुरु भएको थियो । इण्डोनेसियामा सांसदहरूले आफूहरूका लागि ठूलो आवास भत्ता बढाएको विषय सार्वजनिक भएपछि युवाहरू आक्रोशित भए । प्रदर्शन बढेपछि सरकारले भत्ता वृद्धि फिर्ता लिनुपर्‍यो । फिलिपिन्समा बाढी नियन्त्रणका नाममा खर्च गरिएको ठूलो रकम प्रभावकारी काममा नलागेको र भ्रष्टाचार भएको आरोपले युवा प्रदर्शनलाई बल दियो । पेरुमा भ्रष्टाचार, अपराध नियन्त्रणमा सरकारी असफलता र पेन्सन व्यवस्थासम्बन्धी परिवर्तनविरुद्ध युवाहरू सडकमा आए । तान्जानियामा सन् २०२५ को विवादास्पद निर्वाचनपछि युवा प्रदर्शन चर्कियो । ग्रिस, उत्तर म्यासेडोनिया र टर्कीमा पनि भ्रष्टाचार, सार्वजनिक संस्थाको जवाफदेहिता र राजनीतिक अधिकारका विषयमा युवा सहभागितासहितका आन्दोलन भएका छन् । युरोपका सडकमा फैलिएको युवा आक्रोशएसियाली र अफ्रिकी देशमा सरकार परिवर्तनसम्म पुगेका युवा आन्दोलनको प्रभाव अहिले युरोपमा पनि देखिन थालेको छ । विशेषगरी फ्रान्स, स्पेन, पोर्चुगल, इटाली, बेल्जियम, अल्बानिया र जर्मनीमा युवाहरूले शिक्षा, आवास, रोजगारी र जीवनयापनको खर्चलाई लिएर प्रदर्शन गरिरहेका छन् । सुरुमा विद्यार्थीका सीमित मागबाट सुरु भएका प्रदर्शनमा क्रमशः श्रमिक, ट्रेड युनियन, आवास अधिकारका अभियन्ता र सर्वसाधारणसमेत जोडिएका छन् । फ्रान्समा सन् २०२६ सेप्टेम्बरको अन्त्यतिर विद्यार्थीले विद्यालयको कमजोर अवस्थाविरुद्ध प्रदर्शन सुरु गरेका थिए । विद्यालयमा शिक्षकको अभाव, विद्यार्थीको चापअनुसार कक्षाकोठा नहुनु, जीर्ण भवन र पर्याप्त शैक्षिक सामग्री नहुनु उनीहरूका मुख्य गुनासो थिए । विद्यालयको समस्याबाट सुरु भएको आन्दोलन विस्तारै महँगी र आर्थिक संकटविरुद्धको प्रदर्शनमा परिणत भयो । आवासको समस्या झन् गम्भीर बनेको छ । प्रदर्शनमा विद्यार्थी संगठनसँगै ट्रेड युनियन र श्रमिक समूह पनि जोडिएका छन् । केही स्थानमा प्रदर्शन हिंसात्मक बनेका छन् । पसलमा तोडफोड, आगजनी र लुटपाटका घटना भएका छन् । फ्रान्समा सुरु भएको प्रदर्शनको प्रभाव जर्मनीमा पनि देखिएको छ । अक्टोबर ३१ अर्थात् हेलोविनका दिन जर्मनीका विभिन्न सहरमा ‘जेनजी रेगेल्ट’ अर्थात् ‘जेन-जीले गर्नसक्छ’ भन्ने अभियानअन्तर्गत प्रदर्शन भए । बर्लिन, र्फ्यांकफर्ट, कोलोन र म्युनिखलगायत सहरमा युवाहरू सडकमा उत्रिए । स्पेन र पोर्चुगलमा युवा असन्तुष्टिको मुख्य कारण आवास संकट बनेको छ । घरभाडा र घरजग्गाको मूल्य बढ्दा सामान्य आम्दानी भएका युवाले आफ्नै घर किन्ने सपना पूरा गर्न नसक्ने अवस्था आएको छ । स्पेनमा ८७ वर्षीया एक महिलालाई घरभाडा २३० प्रतिशत बढेपछि घरबाट निकालिएको घटनाले ठूलो आक्रोश जन्मायो । इटालीमा महँगी र न्यून आम्दानीका कारण सर्वसाधारणको जीवन कठिन बन्दै गएको छ । विशेषगरी मिलान, टुरिन र बोलोन्या क्षेत्रमा प्रदर्शन भएका छन् । केही स्थानमा प्रहरीसँग झडप र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ । बेल्जियममा पनि विद्यार्थी, श्रमिक र अन्य नागरिक समूहले सार्वजनिक सेवा र जीवनयापनको खर्चलाई लिएर विरोध प्रदर्शन गरेका छन् । एकै समयमा किन आक्रोशित छन् युवा ?विभिन्न देशमा आन्दोलनका तत्कालीन कारण फरक छन् । कतै परीक्षा प्रणाली बिग्रिएको छ । कतै घरभाडा तिर्न सक्ने अवस्था छैन । कतै भ्रष्टाचार छ । कतै सरकारी सेवामा पहुँच पाउन राजनीतिक सम्बन्ध चाहिने अवस्था छ । तर, यी समस्याको गहिराइमा पुग्दा युवाको असन्तुष्टिलाई जोड्ने केही साझा कारण देखिन्छन् । अहिलेको युवा आन्दोलनको सबैभन्दा साझा मुद्दा भ्रष्टाचार हो । नेपालमा नेताका छोराछोरीको विलासी जीवनशैली र राजनीतिक पहुँचका आधारमा प्राप्त हुने अवसरले युवामा आक्रोश बढायो । बंगलादेशमा सरकारी जागिरको आरक्षण व्यवस्थाविरुद्ध उठेको असन्तुष्टि राजनीतिक दमन र भ्रष्टाचारविरुद्ध फैलियो । इण्डोनेसियामा सांसदले आफूहरूका लागि ठूलो आवास भत्ता बढाएको विषयले प्रदर्शन जन्मायो । बुल्गेरियामा बजेटको विवादले सरकारमाथि रहेको भ्रष्टाचारको आरोपलाई थप उजागर गर्‍यो । फिलिपिन्समा बाढी नियन्त्रणका लागि छुट्याइएको ठूलो रकम खर्च भए पनि प्रभावकारी काम नहुनुले सरकारप्रति अविश्वास बढायो । हार्वर्ड विश्वविद्यालयका प्राध्यापक एरिका चेनोविथ र अनुसन्धानकर्ता म्याथ्यु सेबुलले विश्वव्यापी युवा आन्दोलनको विश्लेषण गर्दै भ्रष्टाचार र राजनीतिक अभिजात वर्गको विशेषाधिकारलाई पछिल्लो आन्दोलनको प्रमुख साझा नाराका रूपमा व्याख्या गर्नुभएको छ । उहाँहरूका अनुसार आर्थिक कठिनाइ र बेरोजगारीले असन्तुष्टि जन्माए पनि राजनीतिक नेतृत्वको भ्रष्टाचारले त्यसलाई आन्दोलनमा परिणत गर्न ठूलो भूमिका खेलेको छ । युवाको अर्को ठूलो समस्या रोजगारी हो । उच्च शिक्षा हासिल गरेपछि पनि योग्यता अनुसारको काम नपाउने अवस्था धेरै देशमा छ । नेपालमा लाखौँ युवा रोजगारीका लागि विदेश जान बाध्य छन् । मोरक्को, नेपाल र अन्य विकासशील देशमा शिक्षित युवाको बेरोजगारी उच्च छ । अर्कोतर्फ विकसित युरोपेली देशमा पनि युवाको आर्थिक असुरक्षा बढिरहेको छ । शिक्षा युवाको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय हो । त्यसैले परीक्षा र भर्ना प्रणालीमा हुने अनियमितताले ठूलो असन्तुष्टि जन्माउँछ । फ्रान्समा विद्यालयमा शिक्षक नहुनु, कमजोर पूर्वाधार र विश्वविद्यालय भर्नामा पारदर्शिताको अभावले विद्यार्थी सडकमा उत्रिएका छन् । आर्थिक वृद्धिको तथ्यांक राम्रो देखिए पनि सामान्य मानिसको जीवन सहज नहुन सक्छ । यही विरोधाभासले पनि युवा आक्रोश बढाएको छ । विश्वका धेरै देशमा राजनीतिक नेतृत्वमा वृद्ध पुस्ताको वर्चस्व छ । तर, सरकारका निर्णयबाट सबैभन्दा बढी प्रभावित हुनेमध्ये युवा पनि पर्छन् । आजको पुस्ता इन्टरनेटसँग हुर्किएको पुस्ता हो । उनीहरूले देशभित्र मात्र होइन, विश्वभरिका मानिसको जीवनशैली र राजनीतिक घटनाबारे तत्काल जानकारी पाउँछन् । आफ्नै देशका नेताको विलासी जीवनशैली र सामान्य नागरिकको कठिन जीवनबीचको अन्तर उनीहरूले सामाजिक सञ्जालमा देख्छन् । राजनीतिक परिवारका सन्तानले पाउने सुविधा र सामान्य युवाले भोग्नुपर्ने कठिनाइबीचको तुलना सजिलै हुन्छ । यसले असमानताको अनुभूति अझ तीव्र बनाएको छ । अहिलेको युवा आन्दोलनको अर्को विशेषता यसको संगठनात्मक स्वरूप हो । पुराना आन्दोलनमा जस्तै एउटै नेता, पार्टी वा संगठनको नियन्त्रणमा सबै प्रदर्शन भइरहेका छैनन् । विश्वभरका युवा आन्दोलनले एउटा नयाँ राजनीतिक वास्तविकता स्थापित गरेका छन् । अब युवालाई केवल भविष्यका नागरिकका रूपमा हेरेर पुग्दैन । उनीहरू वर्तमान राजनीतिको सक्रिय शक्ति बनिसकेका छन् । उनीहरूसँग सूचना छ, प्रविधि छ, अन्तर्राष्ट्रिय अनुभव छ र आफ्ना मागलाई सार्वजनिक बहसमा ल्याउने क्षमता छ । तर, युवाको असन्तुष्टिलाई आन्दोलनमा मात्र सीमित राखेर दीर्घकालीन परिवर्तन सम्भव छैन । त्यसलाई राजनीतिक सहभागिता, नीति निर्माण, निर्वाचन र संस्थागत सुधारसँग जोड्न आवश्यक छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दोस्रो काठमाडौं हरर फिल्म फेस्ट सम्पन्न, उत्कृष्ट छोटो फिल्म ‘केएनएआर’ घोषित
Latest NewsJust now

दोस्रो काठमाडौं हरर फिल्म फेस्ट सम्पन्न, उत्कृष्ट छोटो फिल्म ‘केएनएआर’ घोषित

काठमाडौं । दोस्रो काठमाडौं हरर फिल्म फेस्ट (केएचएफएफ) सम्पन्न भएको छ । अक्टोबर ३० देखि काठमाडौंस्थित रुसी हाउसमा आयोजित महोत्सव आइतबार सम्पन्न भएको हो । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजना... ...

रातोपाटी
स्वदेशी फूलले बजार पाएपछि किसान उत्साहित (फोटोफिचर)
Latest NewsJust now

स्वदेशी फूलले बजार पाएपछि किसान उत्साहित (फोटोफिचर)

हेटौँडा, कात्तिक १६ गते । तिहार नजिकिँदै गर्दा मकवानपुरका सयपत्री फूल उत्पादक किसान उत्साहित भएका छन् । सरकारले भारतलगायत छिमेकी मुलुकबाट सयपत्री र मखमली फूल आयात तथा प्लास्टिकका फ... ...

गोरखापत्र
धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ
Latest NewsJust now

धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ

सुनसरी, कात्तिक १६ गते । धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार गाँजा ओसारपसार भइ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play