काठमाडौं । नेपाली सेनाले कुकुर तिहारको अवसरमा विशेष ‘डग शो’ प्रदर्शनी आयोजना गरेको छ । मध्यपुर थिमिस्थित भैरव वाहन गुल्ममा आइतबार आयोजित कार्यक्रममा कुकुरहरूको पूजा गर्नुका साथै उनीहरूलाई दिइएको विशेष तालिम र सीप प्रदर्शन गरिएको हो । प्रदर्शनीमा तालिमप्राप्त कुकुरहरूले खोज तथा पहिचान, ट्र्याकिङ, सुरक्षा र शङ्कास्पद वस्तु पहिचानलगायतका सीप प्रस्तुत गरेका थिए । नेपाली सेनाको प्रबन्धरथी विभागका विभागीय प्रमुख उपरथी हरेन्द्र पाठकले सीमित स्रोतसाधनका बीच कुकुरहरूलाई विशेष तालिम दिएर जिम्मेवारी निर्वाह गराउनु चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले कुकुरहरू नेपाली सेनाका महत्त्वपूर्ण सहयोगी शक्ति रहेको उल्लेख गर्नुभयो । कुकुरको प्रयोगले सुरक्षा तथा खोजी कार्यमा जनशक्तिको प्रभावकारिता बढाउने उहाँको भनाइ छ । कुकुरलाई ‘फोर्स मल्टिप्लायर’ अर्थात् सुरक्षा तथा सैन्य कार्यमा जनशक्तिको क्षमता अभिवृद्धि गर्ने सहयोगी शक्तिका रूपमा उल्लेख गर्दै उहाँले गस्ती, सुरक्षा, ट्र्याकिङ, खोजी तथा शङ्कास्पद व्यक्ति र विस्फोटक पदार्थ पहिचानमा उनीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँका अनुसार कुकुरले सुरक्षाकर्मीलाई सहयोग गर्नुका साथै शत्रु पक्षमा मनोवैज्ञानिक दबाब सिर्जना गर्न र युद्ध तथा जंगलमा खटिने सैनिकको मनोबल बढाउनसमेत सहयोग पुर्याउँछन् । प्रदर्शनीका क्रममा उपरथी पाठकले भन्नुभयो, ‘डगहरूको क्षमता र विशेषता आफैँमा उत्कृष्ट प्रस्तुति हो । कुकुरहरूलाई विशेष प्रकारको तालिम दिएर यस्तो प्रदर्शनी गर्नु आफैँमा चुनौतीपूर्ण र कठिन काम हो । अहिले हामी देख्छौँ, फोर्स मल्टिप्लायरका रूपमा देश–विदेशमा पनि कुकुरहरूको भूमिका उल्लेखनीय छ ।’ उहाँले एउटा तालिमप्राप्त कुकुरले धेरै जनशक्ति परिचालन गर्नुपर्ने गस्ती तथा सुरक्षा कार्यमा समेत प्रभावकारी सहयोग गर्न सक्ने बताउनुभयो । ट्र्याकिङ, खोजी, आक्रमण, पक्राउ तथा मनोवैज्ञानिक प्रभाव सिर्जना गर्न कुकुरको भूमिका महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । मानिसको तुलनामा कुकुरको सुँघ्ने क्षमता १० हजारदेखि एक लाख गुणासम्म बढी हुने उल्लेख गर्दै उहाँले यही क्षमताका कारण टाढा रहेका शङ्कास्पद व्यक्ति तथा विस्फोटक पदार्थ पहिचान गर्न कुकुरहरू सक्षम हुने बताउनुभयो । त्यसैले सुरक्षा कार्यमा कुकुरको प्रयोग बढाउन विशेष तालिम आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो । नेपाली सेनाले कुकुरलाई निष्ठा, इमान्दारिता र बफादारिताको प्रतीकका रूपमा लिँदै हरेक वर्ष कुकुर तिहारमा पूजा गर्दै आएको छ । परम्परागत धार्मिक तथा सांस्कृतिक मान्यताको संरक्षण गर्नुका साथै मानव र कुकुरबीचको मित्रता तथा सहअस्तित्वलाई सम्मान गर्ने उद्देश्यले कुकुर पूजा गरिँदै आएको सेनाले जनाएको छ । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख, वडाध्यक्षहरू, सैनिक अधिकारी, पशु चिकित्सक, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
विशेष ‘डग शो’ प्रदर्शन गर्दै नेपाली सेनाले मनायो कुकुर तिहार [तस्वीरहरु]
![विशेष ‘डग शो’ प्रदर्शन गर्दै नेपाली सेनाले मनायो कुकुर तिहार [तस्वीरहरु]](https://ehimalayatimes.com/wp-content/uploads/2026/11/1-watermarked-2.jpg)
Read Complete Original Article
Published originally on हिमालय टाइम्स






